एसएसबीको पोस्टैपोस्ट, सशस्त्रको बीओपी पातलो



नेपाल समाचारपत्र, बाँके । 

बाँकेको दक्षिणी नाका ६५ किलोमिटर फैलिएको छ । जिल्लाका आठ वटामध्ये ६ वटा स्थानीय तहका सीमा भारतसँग जोडिएका छन् ।

यो ६५ किलोमिटरमा भारतको सीमा सुरक्षा बल (एसएसबी) को २३ वटा पोस्ट रहेका छन् । एउटा पोस्टले तीन किलोमिटरभन्दा कम निगरानी गर्छन् । भारतले बडो महत्व दिएर नाकामा पोस्टैपोस्ट राख्दा नेपाल पक्षतिर भने सशस्त्र प्रहरीको बीओपी पातलो रहेको छ ।

बाँकेमा आठ वटा बीओपी छन् । राप्तीसोनारीमा दुई वटा अस्थायी बीओपी राखिएको छ । फरवार्डबेस भनेर तीन ठाउँमा राखिएको छ । फरवार्डबेस भनेको बीओपीबाट असईको कमाण्डमा खटाइने टोली हो ।

बाँकेमा २४ वटा बीओपी राख्ने तयारी गरिएको छ । यद्यपि, बीओपी राख्न जग्गा र जनशक्ति समस्या रहेका छन् । जिल्लामा अहिलेसम्म राप्तीसोनारीको वडा नं. १ को वनवा र वडा नं. ४ को गुरदिनगौरीमा अस्थायी बीओपी राखिएको छ । नरैनापुरमा तीन, डुडुवामा एक, नेपालगञ्जमा तीन, जानकी गाउँपालिकामा एउटा बीओपी रहेको छ । जानकीको बढैयामा रहेको बीओपीबाट खजुराको राधापुरमा फरवार्डबेस बनाइएको छ । डुडुवाको खडैचाबाट पाझा र कालाबन्जारबाट नयाँबस्तीमा फरवार्डबेस बनाइएको छ ।

सशस्त्र प्रहरीले भारत र चीनको नाकामा अहिलेसम्म २ सय १८ वटा बीओपी स्थापना गरेको छ । दुवै देशको नाकामा गरेर ५ सय बीओपी बनाउने लक्ष्य रहेको छ । हालसालैको बजेट भाषणमा एक सय २० वटा बीओपी थप्ने भनिएको छ । देशभरमा पाँच सय वटा बीओपी हुँदा बाँकेमा २४ वटा पुग्ने अधिकारीहरू बताउँछन् ।

खुल्ला सीमानाका कारण दक्षिणी नाका चुनौतीपूर्ण रहेको छ । विशेष गरेर सशस्त्र प्रहरीले सीमाका स्तम्भहरूको रेखदेख गर्ने गर्दछ । सीमामा हुने अपराध र चोरी पैठारी नियन्त्रणमा पनि उसले कडा निगरानी गरिरहेको छ ।

थोरै बीओपी हुँदा एउटाले धेरै टाढासम्म गस्ती गर्नु परेको छ । भारततर्फ एउटा पोस्टले अर्को पोस्ट देखिने अवस्था रहँदा नेपालतिर एउटा बीओपीबाट अर्को बीओपीमा पुग्न घण्टौ लाग्ने अवस्था रहेको छ । अहिले अस्थायी र स्थायी गरेर रहेका दश वटा बीओपीलाई हेर्दा पनि एउटाबाट अर्कोको दूरी साढे ६ किलोमिटर रहेको छ । यद्यपि, सबै बीओपीको दूरी समानान्तर रहेका छैनन् ।

यसैबीच, राप्तीसोनारी गाउँपालिकाले वडा नं. ४ को गुरदिनगौरीमा सशस्त्र प्रहरीको बीओपीका लागि भवन बनाइदिएको छ । गुरदिनगौरीमा सशस्त्र प्रहरीको बीओपी अस्थायीरूपमा बन्दै आएको छ । बीओपीको औपचारिकरूपमा उद्घाटन भइसकेको छैन ।

गाउँपालिकाले बनाइदिएको भवनको अध्यक्ष लाहुराम थारूले उद्घाटन गरेका छन् । सो अवसरमा गाउँपालिका अध्यक्ष थारुले बीओपी स्थापनापछि चोरी पैठारी नियन्त्रण हुनुका साथै जनताले शान्तिको महसुस गर्ने बताउनुभयो । उहाँले जनतासँग समन्वय गरेर सम्बन्ध सुमधुर बनाई काम गर्न सशस्त्र प्रहरीलाई आग्रह गर्नुभयो ।

बीओपी भवन उद्घाटनमा ३० नम्बर गणका प्रमुख एसपी अशोककुमार बम र ४२ नम्बर गणका प्रमुख एसपी प्रकाशकुमार सुवेदीको उपस्थिति थियो ।

वडा नं. ४ का अध्यक्ष कान्छा थारूको अध्यक्षतामा भएको बीओपी उद्घाटन कार्यक्रममा एसपी बमले शान्ति सुरक्षा कायम गर्न सशस्त्र प्रहरीले जनतासँग हातेमालो गर्दै अघि बढ्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्