आन्दोलन र धर्नापछि शिक्षकले खोप पाए



कविराज नेपाल, पाल्पा ।

दुई दिनसम्म आन्दोलन र धर्नासमेत दिएपछि पाल्पाका शिक्षकहरूले शनिबार कोरोना भाइरस विरुद्धको खोप लगाएका छन ।

सरकारले शिक्षक तथा प्राध्यापकहरूलाई दोस्रो प्राथमिकतामा राखे पनि पाल्पामा तेस्रो प्राथमिकतामा राखिएको भन्दै यहाँका शिक्षकहरूले बिहीबार र शुक्रबार सबै शैक्षिक गतिविधि बन्द गरी आन्दोलन गरेका थिए ।

उनीहरूले जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला कोभिड व्यवस्थापन समितिबाट कोरोना खोप वितरणमा विभेद भएको भन्दै सबै शैक्षिक गतिविधिहरू बन्द गरेर आन्दोलनमा उत्रिएपछि बाध्य भएर स्वास्थ्य कार्यालय पाल्पाले शनिबारदेखि खोप उपलब्ध गराएको हो ।
खोप लगाउने सुनिश्चितता भएपछि जिल्लाका शिक्षकहरूले शैक्षिक गतिविधि सुचारु गरेका छन् ।

कोरोना भाइरस विरुद्धको भेरोसेल खोप जिल्लाका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारीलाई लगाउन शुरू गरिएको छ । साउन १६ गतेदेखि खोप दिन थालेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओम प्रकाश पन्थीले जानकारी दिनुभयो । जिल्लामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक कर्मचारी गरी ४ हजार २ सय २७ जनालाई खोप दिने कार्यक्रम रहेको छ । यो संख्या ५० वर्ष मुनि उमेर समूहको रहेको छ । ५० वर्ष माथिकाले भने खोप लगाइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

खोपको सुनिश्चितता भएपछि आन्दोलनको स्वरूप फेरिएको तर सबै शिक्षकले खोप नपाए पुनः आन्दोलन गरिने शिक्षक महासंघकी अध्यक्ष धनकला गाहाले बताउनुभयो ।

स्वास्थ्य कार्यालयका सूचना अधिकारी पन्थीका अनुसार जिल्लामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक कर्मचारी कर्मचारी सबैलाई खोप दिइने छ । पाल्पामा पहिलो र दोस्रो कोरोना सक्रमणबाट १० जना शिक्षकले ज्यान गुमाइसकेका छन् भने अझै केही शिक्षक र कर्मचारीमा कोरोना संक्रमण रहेको पेशागत संघसंगठनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्