लुम्बिनीमा कोरोना संक्रमित बढे



यमलाल भुसाल, बुटवल ।

पछिल्लो दुई हप्तामा लुम्बिनी प्रदेशमा कोरोना संक्रमण दर ह्वात्तै बढेको छ । निषेधाज्ञा खुकुलो भएर सार्वजनिक यातायातसहित सबैखाले व्यवसाय सञ्चालनमा आएसँगै कोरोना संक्रमित बिरामी बढेका हुन् ।

बजारमा किनमेल गर्ने उपभोक्ता र सार्वजनिक यातायातमा यात्रुको भीडभाड बढेको छ तर स्वास्थ्य सुरक्षामा हेलचेक्र्याइँ हुँदा संक्रमण दर पनि बढेको चिकित्सकहरू बताउँछन् । संक्रमित हुनेमा व्यावसायी, पेसाकर्मीलगायत कामकाजी उमेर समूहका रहेका छन् ।

एक सय जनाको पीसीआर परीक्षण गर्दा ३० जनामा कोरोना संक्रमण पुष्टि हुने गरेको लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डा. नन्दु पाठकले बताउनुभयो । रूपन्देहीभन्दा छिमेकी जिल्लाहरू अर्घाखाँची, गुल्मी, कपिलवस्तुलगायतका जिल्लाबाट आएकाहरूमा कोरोना संक्रमण बढी देखिएको र हरेक दिन कोरोना संक्रमण दर बढ्दो क्रममा रहेको डा. पाठकले बताउनुभयो ।

संक्रमित बिरामी बढेसँगै लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना वार्डको आईसीयूका २० वटै बेड भरिभराउ रहेका छन् । यस्तै २६ वटा एचडीयू बेडमध्ये १५ बेडमा र इमर्जेन्सीमा ११ जना कोरोना संक्रमित बिरामी भर्ना भएका डा. पाठकले बताउनुभयो । सामाजिक दूरी कायम नगर्ने, मास्क नलगाई भीडभाडमा निस्कने र मिल्दोजुल्दो लक्षण देखिँदा पनि परीक्षण नगर्ने परिपाटीले कोरोना संक्रमण बढेको डा. पाठकको भनाइ छ ।

लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लिनिकमा साउन १ गतेदेखि १७ गते दिउँसो ३ बजेसम्म एक सय ४४ जनाले ज्वरोका बिरामी आएका छन् । तीमध्ये एक सय १६ जनालाई कोरोना चेकजाँच गर्न सुझाव दिइएको फिभर क्लिनिकमा कार्यरत प्यारामेडिक्स कमल गौतमले बताउनुभयो ।

कोरोना संक्रमणबाट जोगिन सबै नागरिकलाई सरकारले जतिसक्दो छिटो खोपको व्यवस्था गर्नुपर्छ । नागरिकले पनि भीडभाडमा जाँदा मास्कको अनिवार्य प्रयोग, सामाजिक दूरी कायम गर्ने र स्वास्थ्य सुरक्षामा हेलचेक्र्याइँ गर्न नहुने चिकित्सकहरूको सुझावलाई पालना गर्नुपर्दछ ।

यसैबीच, कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रिय युवा परिषद् नेपालले रूपन्देहीको सैनामैना नगरपालिकामा स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । परिषद्ले पद्यमपाणि योग तथा प्राकृतिक चिकित्सालयमा सञ्चालित कोभिड–१९ अस्थायी अस्पताललाई ५० लाख बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको नगरपालिकाले जनाएको छ ।

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय युवा परिषद नेपालका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले सैनामैना नगरपालिका नगर प्रमुख चित्रबहादुर कार्कीलाई उक्त सामग्री प्रदान गर्नुभएको हो ।

सामाग्री हस्तान्तरण गर्दै राष्ट्रिय युवा परिषद् नेपालका कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले नगरमा कोभिड–१९ को रोकथाम तथा न्यूनीकरणमा थप सहयोग होस् भन्ने उद्देश्यले ५० लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गरिएको जानकारी दिनुभयो । प्रमुख अतिथि ढुंगेलले विश्वभर महामारीका रूपमा फैलिएको कोभिडको न्यूनीकरणका लागि कोरोना महामारी सूचना तथा सहजीकरण केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको बताउनुभयो । हस्तान्तरण गरिएको स्वास्थ्य सामग्रीअन्तर्गत सेमी फोल्डिङ बेड ४० थान, आईभी स्टेन्ड ४० थान, स्यानिटाइजर १० थान, फेस सिल्ड ५ सय थान, मास्क सय थान, पीपीई सय थान, गोगल्स ५ सय थान, पल्स ओक्सिमिटर ५० थान र इग्जामिनेसन ग्लब्स सय थान रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्