मेलम्चीमा बाढी : झोलुङ्गे पुलसहित दर्जनौं घर बगे



नानीराम नेपाल, सिन्धुपाल्चोक ।

हेलम्बु गाउँपालिकाको शिर भ्रेमाथाङमा पुनः पहिरो खस्दा मेलम्ची खोलामा आएको बाढीले मेलम्ची करिडोरमा भयावह क्षति पु¥याएको छ । गत असार १ मा बाढीसँगै आएको पहिरोले क्षति पुर्‍याएको ४७ दिनपछि मेलम्ची खोलामा फेरि बाढी आएर दर्जनौं घरसहित पुल र खेतीयोग्य फाँटहरु बगाएको छ ।

असार १ को मेलम्ची बाढीको पीडाबाट बौरिँदै गरेका बाढीपीडितहरु पुनः पहिरो र डुबानको चपेटामा परेका छन् । शनिबार रातिदेखि आएको बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाका २० घर–टहरा बगाएको छ । बाढीले रेडियो मेलम्चीको भवन पनि बगाएको छ । पक्की र कच्ची गरी २० घर–टहरा बगाएको र तीन घर डुबेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो ।

बाढीको पीडा भुल्दै बस्ती संरक्षण र सफाइमा जुटिसकेका मेलम्ची करिडोरका स्थानीयबासी शनिबारको बाढीले पुनः विस्थापित बनेका छन् । असार १ को बाढीपछि केही आफ्ना घर पसल सफा गरी सरिसकेका थिए तर शनिबारको बाढीपछि उनीहरु फेरि सुरक्षित स्थानतर्फ लागेका छन् ।

असार १ गते आएको भीषण बाढीले लेदो भरिएका घर शनिबार रातिको बाढीले बगाएको हो । ती घर खाली थिए । बाढीले हेलम्बु गाउँपालिकास्थित चनौटेको रातो पुल पनि बगाएको छ । मेलम्चीको ७ र ८, पाँचपोखरीको १ र २ र हेलम्बुका धेरै वडा जोड्ने एकमात्र विकल्पको यो पुल शनिबारको बाढीले बगाएको हो । पुल बगाएसँगै चनौटे उँभोका दर्जनौं बस्तीमा सडक सम्पर्क टुटेको छ ।

बाढीले ग्यालथुमको एउटा झोलुङ्गे पुल बगाएको छ । बाढीले धार परिवर्तन गरेर तालामाराङ प्रहरी चौकीको भान्छा पनि बगाएको छ । अहिले ग्याल्थुमका ४० घर जोखिममा परेका छन् । अब मेलम्ची बजारदेखि माथि कुनै पुल बाँकी नरहेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पाले जानकारी दिनुभयो ।

पहिरो खसेको भ्रेमाथाङको अवस्था हेर्दा तत्काल घट्ने स्थिति नरहेको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । आइतबार बिहानै हेलिकोप्टरमा पहिरोस्थल र तल्लो तटीय क्षेत्रको अनुगमन गरी काठमाडौं फर्किएका शेर्पाले तत्काल पहिरोको जोखिम घट्ने स्थिति नभएको बताउनुभयो । ‘तत्काल पहिरो रोकिने अवस्था छैन, जोखिम उत्तिकै छ’, शेर्पाले भन्नुभयो– ‘पहिरो निरन्तर खसिरहेको छ, जोखिमका बस्तीका स्थानीयलाई वैकल्पिक व्यवस्थापनमा हामी लागिरहेका छौं ।’

प्रतिक्रिया दिनुहोस्