दुई गाउँमा व्यावसायिक खुर्सानी खेती



नेपाल समाचारपत्र, पाल्पा ।

पाल्पाको पूर्वी दक्षिण भेगमा अवस्थित माथागढी गाउँपालिकाले खुर्सानीमा आत्मनिर्भर बनाइ कृषिमा व्यावसायिकरण गर्ने गरी कार्यक्रम अघि सारेको छ । कृषिमा व्यावसायिककरण तथा आधुनिकीकरण गरी जनताको जीवनस्तर सुधार गर्न खुर्सानी पकेट क्षेत्र घोषणा गरी कार्यक्रम अघि ल्याएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष सन्तोषकुमार थापाका अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरणमार्फत् वडा न २ को रूप्सेमा कृषक व्यावसायिक खुर्सानी खेतीमा जोडी आत्मनिर्भर बनाउनका लागि खुर्सानी पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरिएको छ । त्यस्तै गाउँपालिकाको वडा नं. ४ झडेवालाई खुर्सानी पकेट क्षेत्रको रूपमा घोषणा गरेको छ ।सो वडामा चक्लाबन्दी कार्यक्रमबाट उक्त अकबरे खुर्सानी कार्यक्रम सञ्चालन भएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक विनियोजित करिब १७ लाख बजेटबाट कृषकलाई ५० प्रतिशत अनुदानमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रमका संयोजक कृष्ण भट्टराईका अनुसार ३३ जना कृषकले २ सय रोपनी क्षेत्रफलमा खुर्सानी खेती गरेका छन् ।

कार्यक्रमा सहभागी स्थानीय तारा पाण्डेका अनुसार आधुनिक प्रविधि र व्यावसायिक ढंगले कृषि कार्यमा संलग्न भएमा आम्दानीका लागि विदेशिनु नै पर्दैन स्वदेशमा बसेर गर्न सकिन्छ । एक सिजनमा अकबरे खुर्सानीबाट करिब ४ लाख आम्दानी गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष सन्तोषकुमार थापा मगरले माथागढी गाउँपालिकाको रूप्सेमा अकबरे खुर्सानीको सम्भावना क्षेत्र रहेकाले कृषकको मागको आधारमा प्रधानमन्त्री कृषि आधुनिकीरण कार्यक्रमअन्तर्गत कार्यक्रम सञ्चालन गरिएको हो । यो कार्यक्रम प्रभावकारी भएको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै गाउँपालिकाले बाख्रा पालन पकेट क्षेत्र कार्यक्रम,बगुर पालन पकेट क्षेत्र कार्यक्रम,कुखुरा पालन पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरेको छ भने कार्यक्रममा कृषकलाई अनुदान उन्नत जातका बीउ विजनको वितरण साथै प्राविधिक सहयोग र तालिमसमेत प्रदान गरेको छ ।
गाउँपालिकाकी उपाध्यक्ष निर्मला भट्टराईले कृषिमा आधुनिकीकरण र व्यावसायिकरण नहुँदासम्म कृषकको जीवनस्तरमा सुधार नआउने भएकाले मुख्यमन्त्री रोजगार कार्यक्रम तथा प्रधानमन्त्री कृषि आधुनिकीकरणबाट पालिकाका ८ वटै वडामा पकेट कार्यक्रमहरु सञ्चालन गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले माथागढी गाउँपालिकाले यो वर्ष करिब १ करोडको अकबरे खुर्सानीको कारोबार गर्ने लक्ष्य लिएको बताउनुभयो । अधिकृत नेपालका अनुसार गाउँपालिकाले रहवासलाई आलु पकेट क्षेत्र, गोठादीमा अदुवा, बेसार पकेट क्षेत्र, ओलेसमा किविको पकेट क्षेत्र, वडा न १ लाई कुरिलो पकेट क्षेत्रका रुपमा विकसित गर्न कार्यक्रम सञ्चालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्