बेनी नगरपालिकाद्वारा ७३ लाखको कृषि कार्यक्रम सञ्चालन



प्रताप बानियाँ, म्याग्दी ।

म्याग्दीको बेनी नगरपालिकाद्वारा गत वर्ष आर्थिक वर्षमा साढे ७३ लाख रुपियाँको कृषिसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन भएका छन् । बेनी नगरपालिकाअन्तर्गत कृषि शाखामार्फत् नगरपालिका क्षेत्रमा कुल ७३ लाख ५० हजार रुपियाँको लागतमा कृषिका कार्यक्रम सञ्चालन गरिएको हो ।

वार्षिक स्वीकृत कार्यक्रमबाट प्रविधिमा कृषकको पहुँच बढाउन तथा कृषि उत्पादन वृद्धिका लागि नगरपालिकाको विभिन्न वडाका १ सय ६३ जना कृषकलाई ५० प्रतिशत अनुदानमा १/१ वटा खेत जोत्ने मिनी टेलर हलो अर्थात् ट्क्याक्टर वितरण भएको कृषि शाखाले जनाएको छ । त्यस्तै टनेलमा तरकारी खेती उत्पादन गर्न १ सय ४४ जना कृषकलाई लक्षित गरेर १/१ थान प्लास्टिक टनेल वितरण गरिएको छ । सुन्तलालगायतका फलफूलतर्फ कृषकलाई ११ हजार सुन्तला तथा ११ हजार कागतीका बेर्ना उपलब्ध गराइएको छ । कृषकलाई व्यक्तिगत फर्मको आधारमा २० वटाका दरले सुन्तला र कृषक समूहलाई ३ हजारसम्म शतप्रतिशत अनुदानमा बेर्ना वितरण गरिएको कृषि शाखाको तथ्यांकमा उल्लेख गरिएको छ । गत वर्ष नगरपालिकाको ५० लाख र वडा कार्यालयको २३ लाख ५० हजारको लागतमा कृषकको मागको आधारमा कृषिसम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको बेनी नगरपालिकाको कृषि शाखाका प्रमुख आकृति ढुंगानाले बताउनुभयो ।

नगरपालिकाभित्र विभिन्न वडामा क्रियाशील कृषक सञ्जाल, कृषि समूह, उपभोक्ता समिति र कृषकको व्यक्तिगत फर्मलाई सुन्तला तथा कागतीको बिरुवा, मिनी टेलर हलो, प्लास्टिक टनेल, मौरीका घार एवं बिउ बिजनहरु सहयोग गरिएको बेनी नगरपालिकाले जनाएको छ । बेनी नगरपालिकाको सम्पर्कमा ११ वटा विभिन्न कृषि सहकारी, २२ वटा कृषि सञ्जाल रहेका छन् भने नगर क्षेत्रमा कृषि तथा पशुपन्छीका व्यक्तिगत र सामूहिक फर्महरु समेत रहेको कृषि शाखा प्रमुख ढुंगानाले जानकारी दिनुभयो ।

बेनी नगरपालिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत राष्ट्रिय र स्थानीय महत्वका खाद्य तथा पोषण सुरक्षामा टेवा पुर्‍याउन बाली वस्तुको साना व्यावसायिक कृषि पकेट केन्द्र विकास कार्यक्रम पनि सञ्चालन गरिएको छ । मकै पकेट विकास कार्यक्रमतर्फ बेनपा २ ज्यामरुककोटको सानालेकमा गतवर्ष १२ लाख रुपियाँको मकै पकेट विस्तार कार्यक्रम लागू गरी सञ्चालनमा ल्याइएको छ । कार्यक्रममार्फत कृषकलाई १८ थान मिनिटेलर, ५ थान स्प्रेयर, ८ थान मेटलबिन, २ थान थ्रेसर, १ सय ९२ थान हँँसिया, ९५ थान कोदालो, २ थान मकै पिसानी मेसिन दिनुका साथै सिँचाइ कुलो मर्मत, पाइप तथा बीउबिजन खरिदमा सहयोग गरिएको छ ।

यसैगरी बेनपा ५ डडुवामा भने १२ लाख रुपियाँको कृषक लक्षित मौरी विकास कार्यक्रम सञ्चालन गरिएको कृषि शाखाका प्राविधिक सहायक संगीता थापाले बताउनुभयो । कार्यक्रमअनुसार कृषकलाई २ सयवटा मौरीको गोलासहित घार, १ थान मिनिटेलर, १/१ थान टोपी, ग्लोब्स सहयोग गरिएकोमा तालिम सञ्चालन तथा चरन व्यवस्थापनमा समेत सघाइएको छ । सिँचाइका लागि कृषकलाई २७ सय २० मिटर पाइप वितरण गरिएको छ । शहर, बजारमा कृषकलक्षित कार्यक्रमतर्फ कौसी तरकारी खेतीलाई प्रवद्र्धन गर्न आवश्यक तालिम पनि दिइएको थियो । कृषकले पालेको कुखुरालाई दानापानी खुवाउने भाँडा वर्तन सहयोगलगायत आलुको बीउ वितरण गरिएको छ । नगरपालिकामार्फत सञ्चालित कृषिसम्बन्धी कार्यक्रमले ग्रामीण भेगका कृषकहरु लाभान्वित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्