स्टार्टअप बिजनेसको लागि तीन पालिकासँग सम्झौता



नेपाल समाचारपत्र, काठमाडौं ।

नेपाल घरेलु तथा साना उद्योग महासंघले मोरङ जिल्लाका तीन स्थानीय निकायसँग महिला तथा युवा लक्षित कार्यक्रम गर्न सम्झौता गरेको छ । राजधानीमा आयोजित सम्झौता कार्यक्रममा महासंघले बेलबारी नगरपालिका, केराबारी नगरपालिका र पथरी शनिश्चरे गाउँपालिकासँग महिला तथा युवा लक्षित कार्यक्रम गर्न सम्झौता गरेको हो ।

सम्झौतामा स्थानीय तहसँग मिलेर महिला, युवा तथा कृषि उद्यमी र स्टार्टअप बिजनेसको विकास र प्रवद्र्धनका लागि सहकार्य गरिने भएको छ ।यो सम्झौताले स्थानीय स्तरमा उपलब्ध स्रोत साधनको प्रयोग गरी महिला तथा युवाले उद्योग स्थापना गर्न, व्यवसाय गर्न महासंघ र स्थानीय निकायले सघाउने भएका छन् । युवा उद्यमीलाई सघाउन र प्रोत्साहित गर्न महासंघले विशेषज्ञ सेवा दिने र स्थानीय निकायले आफ्नो कार्यक्रम अनुसार बजेट तथा सेवा उपलब्ध गराउने सम्झौता पत्रमा उल्लेख छ ।

महासंघसँग रहेको ज्ञान, अनुभव, सीपलाई साटासाट गर्दै त्यसलाई अझ बढी व्यवस्थित गर्दै उद्यमशीलता विकासका साथै पालिकाहरुलाई आत्मनिर्भर पालिका बनाउने लक्ष्यका साथै अगाडि बढ्ने महासंघले जनाएको छ । आफ्नो पालिकाको भूगोलभित्र रहेका सम्पूर्ण जनताको जीवनस्तर माथि उठाउन, आत्मनिर्भर बनाउने, कर्तव्य रहेको भन्दै महासंघका अध्यक्ष श्याम गिरीले आफूहरुले यो आग्रह गर्दै आएको बताउनुभयो । ‘हाम्रो अभियानको मुख्य उद्देश्य भनेकै हामीसँग रहेका उद्यमशीलताका विज्ञहरुलाई पालिकासँग जोडिदिन्छौं र उद्यमशीलता र औद्योगिकरणमा सघाउने सम्झौताको उद्देश्य हो ।’ उहाँले भन्नुभयो ।

कार्यक्रममा बेलबारी नगरपालिकाका नगरप्रमुख ज्ञानेन्द्र सुवेदी, पथरी शनिश्चरे नगरपालिकाका नगर प्रमुख दीलिपकुमार राई र महासंघका अध्यक्ष श्याम गिरीबीच हस्ताक्षर भएको थियो । स्थानीय तहसँगको सहमती अनुसार तत् पालिका र महासंघले आ–आफूसँग भएको स्रोत, साधन र क्षमताको अधिकतम प्रयोग गर्दै उद्यमशीलता विकास गरी स्थानीय उद्योग व्यवसाय प्रवद्र्धन र स्तरोन्नति गर्ने र नवीनतम् सोचमा आधारीत उद्यम व्यवसाय शुरुवात र प्रवद्र्धन गराउने महासंघका अध्यक्ष श्याम गिरीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्