कोरोना खोपमा ललितपुर महानगरको अग्रसरता



नेपाल समाचारपत्र, ललितपुर ।

ललितपुर महानगरपालिकाले साउन १८ गते जनसम्पर्क धेरै हुने पेसा र व्यवसायमा संलग्न रहेकालाई कोरोना भाइरसविरुद्धको जोन्सन एन्ड जोन्सन खोप लगाउने भएको छ ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालका अनुसार महानगरभित्रका बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी, ललितपुर महानगरभित्र कार्यक्षेत्र भएका सहकारी संस्थाका कर्मचारीले यो खोप पाउनेछन् । साथै महानगरपालिकाभित्र चल्ने सार्वजनिक ठूला बस, माइक्रोबस र टेम्पोका चालक र सहचालकलाई पनि यो खोप लगाइनेछ ।

उद्योग वाणिज्य संघ ललितपुरको सिफारिस पाएका खुद्रा व्यवसायी र विदेश जान टिकट र भिसा लिएकालाई पनि यो खोप दिने प्रमुख प्रशासकीय अधिकृत अर्यालले जानकारी दिनुभयो । महानगरले जोन्सन एन्ड जोन्सन खोप पाटनढोकास्थित पाटन मावि, जावलाखेल चोक (फुटबल मैदानसँगै) र सातदोबाटोमा रहेको महेन्द्र आदर्श माविको खोप केन्द्रबाट दिने व्यवस्था मिलाएको छ । यी तीनवटा खोप केन्द्रमध्ये आफूलाई पायक पर्ने केन्द्रबाट खोप लिन सकिनेछ ।

र्‍यापिड रेस्पोन्स टिमका संयोजकसमेत रहेका अर्यालले भन्नुभयो– ‘प्राथमिकताका आधारमा खोपको व्यवस्था गरेका हौं ।’ यी समूहको जनसम्पर्क धेरै हुने भएकाले यो पटक ती पेसा र व्यवसायमा रहेकालाई खोप लगाउन लागेको उहाँले स्पष्ट पार्नुभयो ।

ललितपुर महानगरपालिकाले उमेर समूहसँगसँगै व्यक्तिको अवस्था र पेशा, व्यवसायको प्रकृति हेरेर खोप कार्यक्रममा तयार पारेको छ । प्रमुख प्रशासकीय अधिकृत अर्यालले खोपको उपलब्धतासँगसँगै उमेरसँगसँगै अवस्था र पेशागत आबद्धतालाई प्राथमिकतामा राखेको बताउनुभयो ।’

ललितपुर महानगरपालिकाले यसअघि नै अपांगता भएका, महानगरभित्र भएका सरकारी कार्यलयमा कार्यरत कर्मचारीलाई खोपको व्यवस्था गरिसकेको छ । विदेश जान टिकट र भिसा लिएकालाई यसअघि पनि महानगरले खोपको व्यवस्था गरेको थियो ।

ललितपुर महानगरमा साउन १५ गतेदेखि १७ गतेसम्म ४५ वर्ष र त्यसभन्दा माथिकालाई भेरोसिल खोप लगाउने कार्यक्रम सञ्चालन भइरहेको छ । अन्यत्र खोप कार्यक्रम अव्यवस्थित भएको गुनासो आइरहँदा ललितपुर महानगरले यो कार्यक्रमलाई सकेसम्म व्यवस्थित बनाउन प्रयास गरेको छ ।

महानगरका अनुसार महानगरभित्रका सामुदायिक र संस्थागत विद्यालयका शिक्षकलाई महानगरले छिट्टै खोपको व्यवस्था गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्