बैतडीमा आजदेखि कोरोनाविरुद्धको खोप



बैतडी, (नेस) ।

स्वास्थ्य कार्यालय बैतडीले जिल्लामा आज आइतबारदेखि कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउने भएको छ । उक्त खोप अभियान साउन २१ गतेसम्म सञ्चालन हुनेछ । खोप लगाउनका लागि प्रत्येक वडामा खोप केन्द्र तोकिएका छन् ।

ठूलो वडामा आवश्यकताअनुसार खोप केन्द्र विस्तार गरिने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । ५५ देखि ६० बर्ष उमेर समूहका सबै नागरिकलाई खोप लगाइनेछ भने विद्यालयका शिक्षक, कर्मचारी, कलेजका प्राध्यापक, कर्मचारी, सवारीसाधनका चालक र सहचालकलाई खोप लगाइने उहाँ बताउनुहुन्छ ।

खोप अभियानअन्तर्गत साउन १७ र १८ गते पाटन नगरपालिका, डिलाशैनी गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा खोप दिइने स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरीश भट्टले बताउनुभयो । यस्तै, साउन १९ र २० गते सिगास गाउँपालिका र पुर्चौडी नगरपालिकामा खोप अभियान सञ्चालन हुनेछ । यसै गरी, साउन २० र २१ गते पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका, मेलौली नगरपालिका, दशरथचन्द नगरपालिका र सुर्नया गाउँपालिकामा खोप अभियान सञ्चालन हुने प्रमुख भट्टले जनाउनुभयो ।

बैतडीमा खोप अभियानका लागि १८ हजार डोज खोप आइसकेको छ । भेरोसेलको पहिलो मात्रा लगाएका नागरिकलाई २८ दिनभित्र दोस्रो मात्रा दिनुपर्ने हुन्छ । दोस्रो मात्रा मौज्दात राखेर खोप अभियान सञ्चालन हुने स्वस्थ्य कार्यालयले जनाएको छ ।

खोप लगाउन तोकिएको खोप केन्द्रमा आफ्नो परिचय खुल्ने प्रमाणपत्रसहित उपस्थित हुनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्