एमसीसीविरुद्ध विराटनगरमा प्रदर्शन



हरिहर नेपाल, विराटनगर ।

अमेरिकन सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) का विरुद्धमा  शनिबार इटहरीदेखि विराटनगरसम्म विरोध र्‍याली निकालिएको छ । पूर्वाञ्चलबासी नेपाली जनताको नाममा एमसीसी सम्झौता राष्ट्रघाती हुने भनी खारेजीको माग गर्दै  मोटरसाइकल तथा कार र्‍याली निकालिएको थियो ।

र्‍यालीका क्रममा राप्रपा नेता तथा पूर्वमन्त्री रामकुमार सुब्बाले षड्यन्त्र गरेर एमसीसी पारित गर्न नहुने बताउनुभएको थियो । सुब्बाले एमसीसी पारित भए राष्ट्रलाई नै आघात पर्ने विषय उठिरहेकाले सबै एकमत हुनुपर्नेमा जोड दिँदै हतारमा सम्झौता गरिहाल्न नहुने धारणा राख्नुभएको थियो । पूर्वघोषित कार्यक्रमअनुसार इटहरीबाट शुरू भएको एमसीसीविरुद्धको मोटरसाइकल तथा कार र्‍याली विराटनगर आएर कोणसभामा परिणत भएको थियो ।

यसैबीच, एमसीसी लागू नगर्न दबाब दिन विराटनगरमा नेकपा एमालेको माधव नेपाल पक्षीय युवा संघ नेपालले दबाबमूलक कार्यक्रम गरेको छ । एमसीसी मुलुकको हितविपरीत रहेको भन्दै लागू नगर्न विराटनगर महानगर कमिटीले प्ले कार्डसहित प्रदर्शन गरेको हो ।

विराटनगरको रोडशेष चोकमा युवा संघका कार्यकर्ताले आफ्नो देश आफैं बनाऔं एमसीसीको विरोध गरौं, गो ब्याक एमसीसी, जनताको चाहना बाह्य हस्तक्षेपमुक्त देशको परिकल्पनालगायतका नारा लेखिएका प्ले कार्डसहित प्रदर्शन गरेका थिए । विरोध प्रदर्शन कार्यक्रममा युवा संघ नेपाल विराटनगर महानगर कमिटीका अध्यक्ष सुरेन शाक्यले एमसीसीले राष्ट्रको अहित गर्ने भएका कारण एमसीसी परियोजना ल्याउन आफूहरुले नदिने चेतावनी दिनुभयो । एमसीसी सम्झौता नगर्न युवा संघले खबरदारी कार्यक्रमहरु जारी राख्ने युवा संघ मोरङका जिल्ला सहसचिव राजु पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्