सकारात्मक सूत्रले भरिएको कृति



नेपाल समाचारपत्र, काठमाडौं ।

किताबहरू केका लागि पढ्ने ? किन पढ्ने ? किताब पढेर प्राप्त हुने ज्ञान र चेतनालाई जीवनमा सदुपयोग गर्न कसरी सकिन्छ ? यी र यस्तै प्रश्नहरूको जवाफ नपाएर धेरैमा किताबप्रतिको आकर्षण घट्दै गएको छ । तर, किताब जीवनका धेरै सन्दर्भमा एउटा उत्तम मार्गदर्शक बन्न सक्छ । सही र उपयुक्त किताबको छनोटले ज्ञान र चेतनाको विस्तार मात्र हुँदैन यसले जीवन जिउने सूत्रहरू पनि सिकाउँछ । यस्तै एउटा किताब अहिले बजारमा आएको छ– लेखक खेम शर्माको ‘स्वर्णिम रहस्य’ ।

मानिसले भुल्दै गएको आध्यात्म र नैतिकता सम्झाउन यो किताब सक्षम छ । धन र प्रतिष्ठा कमाउन उद्दत मानिसलाई अनुशासित जीवनप्रति गम्भीर बनाउँछ । बिना संवेदना अघि बढिरहेका मानिसलाई मानवीय संवेदना र सामाजिक सद्भाव सिकाउँछ । संवेदनाहीन बन्दै गएको समाज र यहाँका मानिसहरूमा बढ्दै गएको अनावश्यक प्रतिस्पर्धालाई कम गर्न किताबले प्रयास गरेको छ ।

लेखक खेम शर्माले आफ्ना अनुभवहरू र अध्ययनलाई जीवन दर्शनमा ढालेका छन् । यो किताब आधुनिक समयको महत्वपूर्ण आध्यात्मिक पुस्तक हो । यसले हतार र चटारोमा आफ्नो जीवन दर्शन भुलिरहेकाहरूका लागि समयको महत्व बुझाउँछ । आफूलाई चिन्न र आफूभित्रको एक्लोपनालाई सहीरूपमा स्वीकार्न सिकाउँछ । हरेक सम्बन्धको मिठास र सामाजिक जीवन दायित्वभन्दा पर आफूप्रतिको प्रेम र आफूलाई गर्नुपर्ने सम्मान सिकाउँछ ।

लामो समयदेखि अस्ट्रेलियामा बस्दै आएका खेम शर्माले लेखेको यो किताब जीवन र समयको महत्व बुझ्न जोकोहीका लागि पनि उपयोगी सावित हुनेछ । मन र मस्तिष्कबीचको सन्तुलन र त्यसले व्यक्तिमा उत्पन्न हुने सकारात्मक ऊर्जालाई स्वर्णिम रहस्यले सम्बोधन गरेको छ । लेखक खेमले स्वर्णिम रहस्यमा मानिसहरूका असन्तुष्टि र अप्ठ्याराहरूलाई व्यावहारिकरूपमा केलाउनुभएको छ । उहाँले किताबमा सहज जीवनका उपयोगी सूत्रहरू समेट्नुभएको छ । युवादेखि वृद्धसम्मका लागि यो किताब उपयोगी छ ।

भौतिक सुख सुविधाभन्दा पर मनको सन्तोष र शान्तिलाई किताबले प्राथमिकतामा राखेको छ । यस किताबमा खेमले जीवनका उपलब्धि र सार्थकताहरूलाई सहज बनाउन आवश्यक सूत्रहरू लेख्नुभएको छ । उहाँले किताबमा जीवनको रहस्यलाई लेख्नुभएको छ, मानिसका असीम इच्छा र रहरहरूलाई सम्बोधन गर्नुभएको छ ।

(प्रस्तुति : विनिता दाहाल)

प्रतिक्रिया दिनुहोस्