दिशा– नयाँ बाटोको



  • प्रेम रावत

एउटा बाकस छ । त्यस बाकसभित्र एउटा अनमोल चीज राखिएको छ । त्यो बाकस रहेसम्म मात्र यसभित्र रहेको चीजलाई हामीले पाउन सक्छौँ । त्यो बाकस नरहेको दिन त त्यसभित्र रहेको चीज पनि पाइँदैन । यो मनुष्य शरीर नै त्यो बाकस हो र त्यो अनमोल चीज तपाईँभित्र छ । हामी यो शरीररूपी बट्टालाई सजाउन र शृङ्गार गर्न तल्लीन भइरहन्छौँ । यो बट्टाभित्र के राखिएको छ भन्ने कुराबाट हामी अनभिज्ञ रहन्छौँ । हाम्रो लक्ष्य त के हुनुपर्दछ भने जबसम्म यो जीवन प्राप्त भएको छ, यसबाट केही हासिल गरौँ । हामीभित्र जुन शान्ति छ, जुन साँचो खुशी छ त्यसबाट आफ्नो हृदयलाई भरौँ । यदि तपाईँले आफ्नो हृदयमा त्यो वास्तविक खुशी, त्यो शान्तिलाई अनुभव गर्नुभयो भने यो तपाईँका लागि सबैभन्दा ठूलो उपलब्धि हुनेछ । यस संसारमा आएर मानिसहरूले धेरै कुराहरूलाई त पूरा गर्छन् । तर, यदि यो हृदयको तिर्खालाई मेटाउन सकिएन भने यस संसारमा खालि हात आएका थियौँ अनि खालि हात नै जानुपर्नेछ । हाम्रो हृदयमा रहेको परम शान्ति, परम आनन्दलाई चिनेर आनन्द लिने मानिसले खालि हात जानु आवश्यक पर्दैन ।

यस जीवनमा मानिसले त्यही चीजलाई प्राप्त गर्नुपर्दछ, जसद्वारा आफ्नो लक्ष्य, भोक र आवश्यकतालाई पूरा गर्न सकियोस् । हाम्रो जीवनको लक्ष्य के हो ? हामीले यो कुरालाई याद गर्नुपर्दछ । किनभने, यो संसारमा किन आयौँ भन्ने कुरालाई नै हामीले जीवनमा भुल्छौँ भने गडबडी त अवश्य हुन्छ नै । यदि एउटा भिखारीले भिख माग्न जाँदा त्यहाँ किन गएको भन्ने कुरालाई नै भुल्यो भने त उसले भोकै बस्नुपर्ने हुन्छ । वास्तवमा उसको लक्ष्य नै हो– उसले केही मागोस् र केही प्राप्त गरोस् ।

यस संसारमा मानिस सजिलै भ्रमित हुनसक्छ । भ्रममा परेर आफ्नो लक्ष्यलाई नै भुल्न मानिसलाई निकै सजिलो छ । अँध्यारो भएपछि धेरै मानिस त्यो अँध्यारोमा हराउन सक्छन् । त्यसैले हामीलाई एउटा यस्तो व्यक्तिको आवश्यकता पर्दछ, जसले त्यो अँध्यारोमा दियो बालिदिओस् । यदि कुनै अँध्यारो कोठामा एउटा सानो दियो बालिदियो भने त्यो अँध्यारो हराउन सक्छ ।

यसै सन्दर्भमा एउटा कथा छ । धेरै समय पहिलाको कुरा हो । एकदिन एकजना ऋषि जङ्गलको बाटो भएर जाँदै थिए । त्यसै बेला एकजना डाँकाले उनलाई घेरेर लुट्ने प्रयास गरेछ । त्यसपछि ती ऋषिले उसलाई सोधे– ‘यो जुन तिमीले गरिरहेका छौ, आफ्नो परिवारका लागि गरिरहेका छौ । यदि तिमी समातियौ भने यसको जुन सजाय हुन्छ, के त्यो सजाय तिम्रो परिवारले पनि भोग्न तयार हुन्छन् त ? किनभने, तिमीलाई त थाहा छ– यो राम्रो काम होइन । यसको सजाय त तिमीले भोग्नै पर्छ ! तिमीले जसका लागि यो सबै काम गरिरहेका छौ, तिम्रो परिवारका सदस्यहरू पनि तिमीले पाउने सजायको भागिदार हुन्छन् त ?’

ऋषिको कुरा सुनेर उसले सोच्न लाग्यो । उसले आफ्नो घर गएर आफ्ना आमाबुवालाई सोध्यो, ‘तपाईँहरूलाई थाहा छ, सधैँभरि तपाईँहरूले दैनिक खाने खाना मैले चोरी गरेर, डाँका गरेर ल्याएपछि मात्र पाइन्छ । यसको पापको जुन फल हुन्छ, के त्यसको परिणामलाई तपाईँहरू पनि भोग्न तयार हुनुहुन्छ ?’

आमाबाबुले स्वीकार गरेनन् । उसले आफ्नी श्रीमती र बच्चाहरूलाई पनि सोध्यो । उनीहरूले पनि भने, ‘हामी त पापको फल भोग्न तयार छैनौँ । तपाईँको पापको भागिदार हुँदैनौँ ।’

यो सुनेपछि ऊ एकदम दुःखी भयो । जसका लागि मैले यो पाप गरेको छु, उनीहरू नै यस पापका लागि भागिदार हुँदैनन् । उसले ऋषिकहाँ गएर सबै कुरा बतायो । त्यसपछि ऋषिले उसलाई सम्झाउँदै भने, ‘यदि तिम्रो परिवारका सदस्यहरू यस काममा सहभागी हुन चाहँदैनन् भने अनि किन उनीहरूका लागि पाप गर्छाै त ? तिम्रो कर्मको फल त तिमी आफैँले भोग्नुपर्छ । अरूले होइन ।’ यसरी ऋषिले उसलाई सत्यको परिचय गराएर उसलाई सही मार्ग देखाए ।

हामीहरूले पनि यही कोशिश गर्नुपर्छ । हामी पनि आफ्नो जीवनमा राम्रोभन्दा राम्रो काम गरौँ, जसको फल पनि राम्रो होस् । यदि तपाईँ यो जीवनमा दुःखबाट बच्न चाहनुहुन्छ भने वास्तविक चीजलाई चिन्नुपर्छ । जसरी नदी पार गर्न मानिसहरू पुल बनाउँछन् । त्यो पुलले हाम्रो भारलाई थेग्न सक्छ कि सक्दैन भनेर जाँच गर्दछौँ ! ठीक त्यसै गरी यस संसारका जति पनि चीजहरू छन्, जसलाई हामी विश्वास गर्छौँ । यदि विश्वास गर्न योग्य छ भने मात्र तिनमा विश्वास गर्न सकिन्छ ।

अहिलेको परिस्थिति सहज छैन । धेरै यस्ता कुराहरू पनि छन्, यदि तिनलाई यस अवस्थामा रहँदा बिस्र्यौँ भने त अभैm अप्ठ्यारो हुनेछ । यसर्थ जे–जस्तो भइरहेको भए पनि एउटा अर्को कुरा भइरहेको छ, त्यसतर्फ पनि ध्यान दिनु आवश्यक छ ।

एउटा यो संसार छ अनि तपाईँभित्रको पनि संसार छ । त्यो वास्तविक संसार हो । तपाईँलाई प्राप्त भएको शरीरभन्दा पहिला पनि तपाईँभित्रको संसार थियो । तपाईँ जीवित रहुन्जेलसम्म त्यो तपाईँभित्रै रहन्छ । तर, तपाईँ गएपछि पनि त्यो रहनेछ । तथापि, त्यो संसारको प्रकृति यस्तो हुँदैन । यो बाहिरको दुनियाँतर्फ तपाईँ ध्यान दिनुहोस्, त्यो भित्री संसारतर्फपनि ध्यान दिनुहोस् ।

दुईवटा संसार छन् । एउटा संसार हामीभन्दा बाहिरको छ भने अर्को संसार हामीभित्रको छ । यो बाहिरको दुनियाँको आनन्द लिनका लागि हामी तल्लीन भइरहेका हुन्छौँ । दौडिरहन्छौँ तर भित्री संसारको आनन्दका लागि वास्ता नै गर्दैनौँ । जब बच्चा जन्मिन्छ यो कस्तो संसार हो, त्यो कस्तो संसार हो भन्नेबारे उसलाई केही पनि जानकारी हुँदैन । उसलाई केही पनि थाहा हुँदैन । बिस्तारै–बिस्तारै उसलाई आमा–बुवाले खेलौना दिन थाल्छन् । ऊ खेलौनासँग खेल्न थाल्छ । खेलौना के हो उसलाई थाहा पनि हुँदैन ! उसले आफ्नो मुखमा राखेर टोक्न पनि थाल्छ । किनकि, हुन सक्छ, त्यो कुनै खाने वस्तु हो । उसलाई त्यो खेल्ने चीज हो भन्ने कुरा नै थाहा हुँदैन । अझ खेल के हो भन्नेसम्म पनि उसलाई ज्ञात हुँदैन । बिस्तारै–बिस्तारै रङ्गीचङ्गी चीजलाई हेरेर उसको ध्यान बाँडिन थाल्छ । कहिले यसलाई हेर्छ, कहिले त्यसलाई हेर्छ । यसरी नै ती चीजहरूतिर बिस्तारै–बिस्तारै मानिस आकर्षित हुन थाल्छ । यो हो बाहिरको दुनियाँ । भित्रको संसारमा यस्तो हलचल हुँदैन, किनकि त्यहाँ शान्ति हुन्छ ।

कुरा के हो भने, तपाईँ के चाहनुहुन्छ ! यसका लागि तपाईँले नै निर्णय लिनुपर्छ । तपाईँ के चाहनुहुन्छ भनेर अरू कसैले निर्णय लिन सक्दैन । यदि तपाईँ यो संसारको असत्यलाई अँगाल्न चाहनुहुन्छ भने तपाईँलाई कसैले छेक्दैन । तर, यो केही मिनेटका लागि मात्रै हो । मानिसहरूको भनाइ के छ भने, मानिस खालि हात आउँछ अनि खालि हात नै जान्छ । आफूसँग केही पनि लिएर जान सक्दैन । तपाईँलाई सपना देखाउने मानिसहरू त धेरै हुन्छन् । सपना देखाउनका लागि करोडौँ–करोड खर्च गरिन्छ । ती चम्किला वस्तुहरू, ती सबै चीजहरू जसलाई देखेर आकर्षित हुनुभएको थियो, तिनैलाई देखेर तपाईँलाई ‘मेरो पनि यस्तै हुनुपर्छ’ भन्ने लाग्न थाल्छ । तपाईँको सपना पनि बढ्न थाल्छ । ‘अब यो सपना कसरी पूरा हुन्छ’ भनेर तपाईँमा पहिला निराशा पनि आउँछ । त्यसपछि कुनै न कुनै तरिकाले पूरा गर्नुपर्छ भन्ने तपाईँलाई लाग्न थाल्छ । अनि, डटेर मिहिनेत गर्नुहुन्छ । र, वास्तविकतालाई बेवास्ता गर्दै आफ्नो आँखा बन्द गरेर राख्नुहुन्छ । यसर्थ एकातिर यो संसार छ अनि अर्कातिर दोस्रो संसार छ । एउटा सृष्टिकर्ताले बनाएका छन्, अर्को हामीले बनाएका छौँ । हामीले बनाएको संसार अपरिपक्व छ, उनले बनाएको संसार मजबुत छ । उनले सिर्जना गरेको संसारमा नदीहरू बगिरहेका छन्, समुद्रमा छालहरू आइरहेका छन् । सूर्य उदाइरहेको छ, सूर्यास्त पनि भइरहेको छ । तारागण चम्किन्छन्, पृथ्वी घुमिरहन्छ । चन्द्रमा उदाउँछ । वर्षात हुन्छ । नदीहरूको गति उही रूपमा हुन्छ, फल फल्छन् । चराहरू चिरबिराउँछन् । उनको संसारमा सबै चलायमान छन् ।

सबैभन्दा ठूलो कुरा के हो भने, अझैँ पनि बिग्रिएको छैन । जतिखेर भए पनि तपाईँ यस्तो सोच्नुहुन्छ– ‘होइन, म यस चीजलाई अनुभव गर्न चाहन्छु ।’ त्यतिखेर बिग्रिसकेको चाहिँ हुँदैन । किनभने, ती सदैव हुन्छन् । उनी तपाईँभित्र छन् । उनलाई चिन्नुहोस् । उनलाई पहिचान गर्नुहोस् । किनभने, उनीविना तपाईँ आफूले आफूलाई अवश्य पनि धेरैथोक ठान्नुहुन्छ तर उनीविना तपाईँ केही पनि हुनुहुन्न । तपाईँ माटो हुनुहुन्थ्यो । तपाईँ माटो नै रहनुहुनेछ । अनि, के बुझ्नुहोस् भने, तपाईँले ठूलो–ठूलो नाम कमाउनुहुन्छ तर तपाईँ माटो नै हुनुहुन्छ । तपाईँ आफूले आफूलाई चिनेपछि तपाईँ माटो रहनुहुन्न । त्यसपश्चात्, तपाईँ विशेष हुनुहुन्छ, किनकि तपाईँ सबैको घटमा रहेको, सबैसँग नजिक भएको चीजसँग जोडिनुहुन्छ । त्यसलाई तपाईँ चिन्नुहोस्, किनकि त्यो तपाईँकै हृदयमा विद्यमान छ ।

मानिसहरू सामाजिकीकरणमा लागेका छन् । तर, आफैँसँग कोही पनि सामाजिक भइरहेका छैनन् । वास्तविक सामाजिक सञ्जाल त ‘ज्ञान’ हो– आफ्नो ज्ञान । आफूले आफूलाई चिन्ने ज्ञान । त्यो अरूतर्फ केन्द्रित हुँदैन । त्यो आफूतिर केन्द्रित हुन्छ । आफूले आफूलाई चिन्नुहोस् । आफूले आफूलाई पहिचान गर्नुहोस् । यदि आफूले आफूलाई चिन्नुभएन, सारा संसारलाई चिन्नुभए पनि त्यसको के फाइदा भयो र ! आफूले आफूलाई नै चिन्नुपर्छ । तपाईँ आफूले स्वयंलाई चिनेपछि तपाईँलाई थाहा हुन्छ, तपाईँ यस पृथ्वीमा ती कुराहरूका लागि हुनुहुन्न । यसको अर्थ तपाईँले त्यो कार्य नै नगर्नुहोस् भन्ने पनि होइन । जे गर्नुपर्छ गर्नुहोस्, तर त्यो पनि गर्नुहोस् जुन कार्य गरेपश्चात् तपाईँको हृदयमा शान्ति प्राप्त होओस् । फलतः तपाईँ त्यो आनन्दमा रहेर आफ्नो जीवन बिताउन सक्नुहोस् । आफ्नो जीवनलाई सफल पार्न सक्नुहोस् । यही नै साँचो कुरा हो ।

(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलित एवं प्रस्तुतीकरण : डा. प्रेमराज ढुङ्गेल ।)

प्रतिक्रिया दिनुहोस्