कोरोना संक्रमति घट्दा इन्फ्लुएन्जा ‘ए’ बढ्दै



कृष्णउदास खनाल, वीरगन्ज ।

वीरगन्जमा केही दिनयता फेरि कोरोना भाइरस संक्रमणको परीक्षण गराउनेहरुको संख्या ह्वात्तै बढेको छ । नारायणी अस्पतालको प्रयोगशालामा ४ दिनयता पीसीआर परीक्षण गराउनेको संख्या बढ्दा कोरोनासँग लक्षण मिल्दोजुल्दो भएका इन्फ्लुएन्जा ‘ए’ को बिरामी भने बढेका छन् ।

कोरोनाको परीक्षण गराउनेको संख्या बढे पनि संक्रमण पुष्टि हुनेको संख्या भने निक्कै कम रहेको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर उदयनारायण सिंहले बताउनुभयो । चार दिनमा ६ सय ५४ जनाको स्वाब परीक्षण गर्दा ७ जनामा मात्र अर्थात् १.०७ प्रतिशतमा मात्र संक्रमण भेटिएको उहाँले बताउनुभयो । यसअघि असार ३१ देखि साउन ५ गतेसम्म २ सय ५६ जनाले मात्र अस्पतालको प्रयोगशालामा स्वाब परीक्षण गराएका थिए । तीमध्ये ६ जनामा मात्र संक्रमण पुष्टि भएको थियो ।

वीरगन्ज र यस आसपासको क्षेत्रमा कोरोनासँग मिल्दोजुल्दो लक्षण भएको इन्फ्लुएन्जा ‘ए’ को संक्रमण फैलिएका कारणले पनि पीसीआर परीक्षण गराउनेको संख्या ह्वात्तै बढ्को डाक्टर सिंहले बताउनुभयो । असारको अन्तिम सातादेखि वीरगन्ज र यस आसपासको क्षेत्रमा इन्फ्लुएन्जा ‘ए’ को प्रकोप नै फेलिएको उहाँको भनाइ छ ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिने स्वास्थ्य समस्या भएका बिरामीहरुको चाप अस्पताल र क्लिनिकहरुमा बढेको अवस्थामा नारायणी अस्पतालमा मात्रै दैनिक त्यस्ता लक्षण भएका ५० भन्दा बढी बिरामी उपचारका लागि आइरहेका छन् ।

निजी क्लिनिकहरुमा पनि त्यस्ता लक्षण भएका बिरामीहरुको संख्या अत्याधिक रहेको डाक्टर सिंहले बताउनुभयो । जटिल अवस्थाका त्यस्ता बिरामीले कोरोनाको आशंकामा स्वाबको परीक्षण गराउन थालेकाले पनि नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गराउनेको संख्या ह्वात्तै बढेको डाक्टर सिंहले बताउनुभयो ।

चिकित्कहरुका अनुसार वीरगन्ज र यस आसपासको क्षेत्रमा असार अन्तिम सातायता कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएको इन्फ्लुएन्जा ‘ए’ को संक्रमण फैलिएको पुष्टि भएको छ । नारायणी अस्पतालमा उपचारका लागि आएकामध्ये ५ जनाको स्वाब नमुना, काठमाडांैको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । तीमध्ये ४ जनामा इन्फ्लुएन्जा ‘ए’ एचथ्री संक्रमण पोजेटिभ देखिएको डाक्टर सिंहले बताउनुभयो । ५ मध्ये ४ जनामा इन्फ्लुएन्जा ‘ए’ एचथ्री पुष्टि भएकाले यो संक्रमण प्रकोपकै रूपमा फैलिएको निष्कर्षमा आफूहरु पुगेको उहाँ बताउनुहुन्छ ।

इन्फ्लुएन्जा ‘ए’ संक्रमण भएका सय जनामध्ये ९० जना आफैं निको हुने गर्दछन् । १० प्रतिशत बिरामीमा मात्र जटिल अवस्था देखिन्छ । तर, कोरोनासँग मिल्दोजुल्दो लक्षण हुने भएकाले समयमै परीक्षण गरी इन्फ्लुएन्जा ‘ए’ को संक्रमण भएको पहिचान गरिएन भने यसले अवस्था भयवाह हुन सक्ने जोखिम रहेको डाक्टर सिंहले बताउनुभयो ।

इन्फ्लुएन्जा ‘ए’ बाट बच्नका लागि पनि भीडभाडमा नजाने, मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने, सेनिटाइजर प्रयोग गर्ने वा साबुनपानीले समय समयमा हात धुने जस्ता स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गर्नुपर्ने सुझाव उहाँको छ ।

प्रतिक्रिया दिनुहोस्