सपिङ मल र कम्प्लेक्सहरूले ७० करोड कर तिर्न आलटाल



नेपाल समाचारपत्र, काठमाडौं । 

राजधानीको व्यावसायिक क्षेत्रमा घर भाडामा लगाएका तथा व्यवसाय सञ्चालन गरेका करिब दुई दर्जन ठूला व्यावसायिक भवनका सञ्चालकले घरजग्गा र सम्पत्ति कर बुझाउन आलटाल गरेका छन् । काठमाडौं महानगरपालिका राजस्व विभागले २० ठूला करदातालाई उक्त कर बुझाउन एक महिनाको अवधि दिएको थियो । तर, सो अवधिभित्र कर तिर्ने, विवरण बुझाउनुको साटो सम्पर्कमा समेत नआएपछि महानगरले बुधबारदेखि ताकेता शुरू गरेको छ । महानगरले करदाताको कार्यस्थलमा बुधबार माइकिङ गर्दै ताकेता गरेको हो ।

विभागले असार १६ गते कर तिर्नका लागि ३० दिने सार्वजनिक सूचना जारी गरेको थियो । सो समय सिमा समाप्त हुन दुई दिन बाँकी छ । तोकिएको अवधिका कर तिर्न नआए महानगरले घर, पसल र व्यवसायमा शिलबन्दी गर्ने तथा सरकारी बाँकी सरह राजस्व असुली गर्ने सम्बन्धी सूचना टाँस गरेको छ । ‘हामीले उहाँहरुलाई सम्पर्कमा ल्याउन धेरै प्रयास गर्‍यौँ । तर, उहाँहरुले विवरण पनि बुझाउनु भएन ।’ काठमाडौं महानगरपालिका राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारी भन्नुभयो–‘पहिलो चरणमा हामीले नाम सार्वजनिक गरेका २० करदातामध्ये वडा ११ को एनआरटी क्लव, वडा १३ को काठमाडौं इन्जिनियरिङ कलेज, वडा ४ का देवेन्द्र श्रेष्ठ सम्पर्कमा आएका छन् । बाँकीले सम्पर्क पनि गरेका छैनन् । यी करदाताले आफ्नो विवरण नबुझाएका कारण एकिन अंक भन्न कठिन छ । तर, हामीले ७० करोड रुपियाँभन्दा बढी राजस्व प्राप्त गर्ने अनुमान गरेका छौं ।’

विभागका राजस्व अधिकृत प्रदीप कोइरालाको नेतृत्वमा नगर प्रहरीसहित गएको टोलीले बुधबार वडा ११ को एनआरटी क्लब र युनाइटेड वल्र्ड ट्रेड सेन्टर, वडा १२ का बागमती च्याम्बर र बुद्धबारी कम्प्लेक्स र वडा १३ का काठमाडौं इन्जिनियरिङ कलेज र नेपाल रेडक्रस सोसाइटीमा माइकिङ गर्ने र सूचना टाँस गरेको छ । महानगरलाई करको विवरणसम्म नबुझाउने अन्य करदातामा वडा १४ का आदर कम्प्लेक्स, कृषि सामग्री संस्थान र एलआरआई स्कूल, वडा १५ को मनमोहन मेमोरियल कलेज एन्ड शिक्षण अस्पताल, वडा ३ का कान्तिपुर डेन्टल अस्पताल र चिरायु अस्पताल र वडा ४ का देवेन्द्र श्रेष्ठ छन् । त्यसै गरी वडा २२ को आरबी कम्प्लेक्स, वडा २४ को सुरज आर्केट, वडा २९ को शुभश्री कोअपरेटिभ लिमिटेड, वडा २८ का काठमाडौं प्लाजा र नेपाल शेयर मार्केट र वडा ३० का गोपालजी प्रपर्टिज प्रालि र स्टार मल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्