साना उद्योगको प्रवर्धन गरिने



काठमाडौं, (नेस) ।

अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रको आधारस्तम्भका रुपमा रहेका साना तथा मझौला उद्योगहरुको प्रवद्र्धनबाट मात्रै आर्थिक विकास सम्भव भएको बताउनुभएको छ ।नेपाल घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीहरुसँगको भेटमा उहाँले सो कुरा बताउनुभएको हो ।

साना उद्योगको संख्या, अवस्था, समस्या बजारको स्थिति, उत्पादनको अवस्थालगायतका विषयमा अध्ययन गरी छलफल गर्न सकिने अर्थमन्त्रीको धारणा थियो । आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी बनाउन औद्योगीकरण नै मुख्य आधार भएको भन्दै उहाँले भन्नुभयो–‘देशभर साना तथा मझौला उद्योगको व्यापक सञ्जाल बनाउने र तिनकै जगमा ठूला उद्योगको विकास गर्न सकिन्छ, त्यसको लागि सरकारले निजी क्षेत्रसँग हातेमालो गर्ने नीति तय गर्नेछ ।’

मुलुकको अर्थतन्त्रको विस्तार, स्थायित्व, समावेशीकरण र दिगो विकासको आधार तयार गर्न आफू क्रियाशील रहने बताउँदै उहाँले म नागरिकको जीवनमा रूपान्तरण ल्याउनका लागि मूल तहमा अनुभूत हुनेखालका उद्यमशीलता विकास कार्यक्रम लागू गर्ने ती उद्यमको दिगो सञ्चालन आफ्नो प्राथमिकतामा रहेको बताउनुभयो ।

महासंघका अध्यक्ष श्यामप्रसाद गिरीले नेपालजस्तो विकासोन्मुख राष्ट्रको आर्थिक विकास र समृद्धिको आधार भनेको उद्यमशीलता विकासको माध्यमबाट घरघरमा सिर्जना गर्ने रोजगारी मार्फतको औद्योगिकरण भएको बताउनुभयो ।

साना उद्योगहरुका कार्यथलो वातावरणमैत्री र उत्पादन प्रणालीको दृष्टिले प्रभावकारी हुन नसक्दा यस्ता उद्योगहरु प्रतिस्पर्धी हुन नसकेको भन्दै उहाँले भन्नुभयो –‘अहिलेको तथ्याङ्क अनुसार देशभरमा झण्डै पाँच लाख उद्योग दर्ता भएका र तीमध्ये दुई लाख ५० हजार नियमित नवीकरण भई सञ्चालमा रहेको देखिन्छ । त्यसैले यस्ता साना उद्योगहरुलाई बैज्ञानिक ढंगले परिमार्जित गर्दै तिनिहरुको उत्पादकत्व बृद्धि गराउने र उत्पादनको गुणस्तर र परिमाण वृद्धि गरी प्रतिस्पर्धी बनाउँदै आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि बिना विलम्व काम थाल्नु प्रमुख आवश्यकता हो ।’

प्रतिक्रिया दिनुहोस्