६ महिना सजाय तोकिएका गुप्ता ६ दिनमै जेलमुक्त



गोकुल घोरसाइने, बारा ।

आगजनीको अभियोगमा जिल्ला अदालत बाराबाट दोषी ठहर भई जेल चलान गरिएका संविधानसभा सदस्य एवं जसपा नेता प्रमोद गुप्ता र अरुण सिंह मंगलबार छैटौं दिनमा नै छुट्नुभएको छ । ६ महिना कैद सजाय तोकिएका उहाँहरूलाई अदालतले बिहीबार जेल चलान गरेको थियो ।

जघन्य अपराधबाहेकमा एक वर्षसम्म कैद सजाय पाएका दोषी आचरणमा बसे र प्रतिदिन तीन सय रुपियाँका दरले राज्यलाई रकम बुझाए छाड्न मिल्ने प्रावधान रहेको अदालतका स्रेस्तेदार गम्भीर घिमिरेले बताउनुभयो । सोही प्रावधानअन्तर्गत निवेदन दिएका उहाँहरू न्यायाधीश प्रकाशप्रसाद पण्डितको आदेशमा रिहा भएको उहाँले जानकारी दिनुभयो । ‘मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५५ मा १ वर्षभन्दा कम सजाय भएकालाई प्रतिदिन ३ सयका दरले जरिवाना तिरे कैदमुक्त गर्ने व्यवस्था छ’ –उहाँले भन्नुभयो ।

६ महिनाको कैदबापत ५४ हजार रुपियाँ बुझाएर छुटेको गुप्ताले बताउनुभयो । गुप्ता र सिंह अदालतमा हाजिर हुन गएका बेला प्रहरीले नियन्त्रणमा लिएर दुवैजनालाई जेल चलान गरेको थियो । तेस्रो मधेस आन्दोलनको क्रममा २०७४ माघमा कलैया अस्पतालका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट शैलेश झाको गाडी जलाएको अभियोगमा गुप्तासहित दुवैलाई २०७४ माघ २५ मा अदालतले ६ महिना कैद राख्ने र पीडितलाई ९ लाख ८३ हजार ३ सय ३३ रुपियाँ ३३ पैसा क्षतिपूर्ति भराउने फैसला गरेको थियो ।

आन्दोलनका क्रममा प्रहरीको गोली लागी भरत चोकमा कलैयाकै हिफाजत मियाँको निधन भएपछि उनको पोस्टमार्टम रिपोर्टमा चिकित्सकले गडबडी गरेको भन्दै आन्दोलनकारीले अस्पतालमा प्रदर्शन गर्नुका साथै चिकित्सकको कार जलाएका थिए । उक्त घटनामा सुपरिटेन्डेन्ट झाले गुप्ता र सिंहविरुद्ध जाहेरी दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्