एक वर्षमा २१ किलोमिटर सडक कालोपत्रे



दीपेन्द्र शर्मा, सुर्खेत ।

कर्णाली प्रदेश सरकारले एक वर्षमा २१ किलोमिटर सडक कालोपत्रे गरेको छ । आ.व २०७७/०७८ को वार्षिक प्रगतिो समीक्षा गर्दै २१ किलोमिटर सडक कालोपत्रे गरेको जानकारी दिएको हो ।

१ सय १३ दशमलव ६ किलोमिटर सडक ग्राभेल र ७ सय ५८ दशमलव २ किलोमिटर नयाँ सडक बनाएको छ । त्यस्तै, प्रदेश सरकारले कर्णालीमा ११ वटा झोलुंगे पुल र ७ वटा सडक पुलनिर्माण गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
ऊर्जा तथा विद्युतीकरणबाट कर्णालीका ३ हजार ५ सय ४० घरधुरीमा विद्युत् सुविधा विस्तार गरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सीताकुमारी नेपालीले जानकारी दिनुभयो । मन्त्री नेपालीका अनुसार जनता आवास कार्यक्रमअन्तर्गत दलित विपन्न समुदायका ७ सय ६७ घर निर्माण कार्य पूरा भएको छ ।

त्यसै गरी, कर्णाली प्रदेश सरकारले २ हजार १ सय ४५ हेक्टर जमिनमा थप सिँचाइ सुविधा उपलब्ध गराएको, ५ हजार ७ सय १० थप घरधुरीमा स्वच्छ खानेपानी सुविधा उपलब्ध गराइएको प्रवक्ता नेपालीले बताउनुभयो । त्यस्तै, सरकारले नदी नियन्त्रणका लागि १८ दशमलव ७७ किलोमिटर तटबन्धन निर्माण गरेर १ सय ८० हेक्टर थप जमिन उकास भएको छ । विभिन्न कार्यक्रमअन्तर्गत जिल्लाहरूमा वडा कार्यालय, स्वास्थ्यचौकी, विद्यालय भवन निर्माणलगायतका पूर्वाधार निर्माणका कार्यहरु सम्पन्न भएको प्रगति विवरणमा उल्लेख गरिएको छ ।

त्यसै गरी, प्रदेश सरकारले कर्णाली प्रदेशसभामा ५१ वटा विधेयक दर्ता गराएको मन्त्री नेपालीले जानकारी दिनुभयो । मन्त्री नेपालीका अनुसार ३६ वटा विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भएका छन् । ६ वटा विधेयकसभाबाट निर्णय भई छलफलका लागि विषयगत समितिमा पठाएको तथा सातवटा विधेयक प्रदेश सभामा दर्ता भई टेबुल हुन बाँकी रहेका छन् । ९ सय १३ वटा विभिन्न ऐन, नियम र कार्यविधि सैद्धान्तिक सहमति र रायप्रदान गरी अनुमोदनपछि राजपत्रमा प्रकाशन गरिएको छ ।
कोभिड कोषको व्यवस्था

सरकारले कोभिड–१९ नियन्त्रण प्रतिकार्यका लागि संयन्त्र, पूर्वाधार एवं बजेट व्यवस्था (कोभिड कोष) को व्यवस्था पनि गरेको छ । त्यस्तै, चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरूका लागि प्रोत्साहन तथा ४ हजारभन्दा बढी महिला स्वास्थ्य स्वयंसेविकाहरू परिचालित भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

उक्त कार्यक्रमबाट आईसीयू, भेन्टिलेटर, अक्सिजन प्लान्ट, एम्बुलेन्स, होलिडङ सेन्टर एवं रणनैतिक अस्पताल निर्माणलगायत स्वास्थ्य पूर्वाधार विकासमा टेवा पुगेको बताइएको छ । स्वास्थ्यका लागि जनशक्तिको करार सेवामा व्यवस्थापन गरेर महामारीको अवस्थामा समेत नियमित स्वास्थ्य सेवालाई सुचारु गरिएको मन्त्री नेपाली जानकारी दिनुभयो ।

प्रदेश अस्पतालमा अक्सिजन प्लान्ट स्थापना, अक्सिजन पाइपलाइन विस्तार, टेलिमेडिसिन सेवा सुचारू, विशेषज्ञ, चिकित्सकलगायत स्वास्थ्यकर्मीको करार व्यवस्था गरिएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्