एकै परिवारका नवजाज शिशुसहित तीनको शव फेला



सर्लाही, नेस ।

ब्रह्मपुरी गाउँपालिका–३ भेल्हिमा पोखरीमा डुबेरको अवस्थामा नौ दिनको नवजात शिशुसहित तीन जनाको शव फेला परेको छ । मृत्यु हुनेमा सञ्जीव कापडकी २६ वर्षीया श्रीमती रिकेवादेवी कापड, १८ महिनाकी छोरी रामा कापड र नौ दिनको छोराको मृत्यु भएको हो ।

घरमा सँगै सुतेका श्रीमती र छोराछोरी हराएको भन्दै श्रीमान् सञ्जीवले राति नै गाउँलेलाई खबर गरेका थिए । राति अबेरसम्म पनि श्रीमती र छोराछोरी नभेटेपछि स्थानीय घर–घरमा फर्केका थिए । बिहान उज्यालो भएपछि फेरि खोजीमा निस्केका स्थानीयले नजिकैको पोखरीमा तीनै जनाको शव डुबेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताउनुभयो ।

रातिदेखि हराएका श्रीमती र छोराछोरी घर नफर्किएपछि खोजी गर्न भन्दै श्रीमान् सर्लाहीको बलरामा रहेको ससुराली घर गएका थिए । ससुराली गएका सञ्जीव पनि अहिले सम्पर्क विहीन भएका छन् । कापडको साथमा मोबाइल फोन नभएका कारण सम्पर्क हुन नसकेको स्थानीयको भनाइ छ । मृतक तीनै जनाको स्थानीय सूर्यवंश चौधरीको पोखरीमा डुबेर मृत्यु भएको हो । मृतक रिकवादेवीको मानसिक अवस्था ठीक नभएकाले छोराछोरीसहित आत्महत्या गरेको हुन सक्ने स्थानीयको भनाइ छ ।

तर, घटना रहस्यमय भएकाले अनुसन्धान भइइरहेको प्रहरी जनाएको छ । मृतक तीनै जनाको शव पोस्टमाटका लागि जिल्ला अस्पताल मलंगवा पठाएको छ । शवको परीक्षणपछि मात्र हत्या वा आत्महत्या भन्न सकिने प्रहरी नायव उपरीक्षक बुढाथोकीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्