हातहतियारसहित लुटेरा समूह पक्राउ



हरिहर नेपाल, विराटनगर ।

मोरङ प्रहरीले लुटपाटका घटनामा संलग्न ६ जनालाई पक्राउ गरेको छ । पक्राउ गरिएका व्यक्तिहरुको साथबाट प्रहरीले अत्याधुनिक हातहतियारसमेत बरामद गरेको छ । अभियुक्तहरुलाई प्रहरीले सुनसरी र मोरङका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा संखुवासभा सभापोखरी–४ घर भई इटहरी उपमहानगरपालिका–२० तरहरा बस्ने ३९ वर्षीय चन्द्रबहादुर राई, सुनसरीको गढी गाउँपालिका–१ का ४५ वर्षीय डाइमन्ड भन्ने प्रमोद चौधरी, संखुवासभा बाह्रबीसे गाउँपालिका–६ घर भई इटहरी २० तरहरा बस्ने ३० वर्षीय चिरञ्जीवी राई, मोरङको सुन्दर हरैंचा नगरपालिका–५ बस्ने २२ वर्षीय मिसन राई, भोजपुर पौवादुम्मा गाउँपालिका–३ घर भई इटहरी २० बस्ने ३० वर्षीय नगेन्द्र राई र मोरङ सुन्दर हरैंचा नगरपालिका–७ का ३१ वर्षीय सन्तोष राई रहेका छन् । पक्राउ गरिएका अभियुक्तहरुले साउन १ गते सवा १ बजे ७ जनाको समूह बनाएर सुन्दर हरैंचा–१० को त्रिवेणीचोकमा रहेको शिव पञ्चायन ज्वेलर्समा लुटपाट गर्न गएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी ज्ञानेन्द्र जिसीले बताउनुभयो । घटनाको एक दिनअघि समेत लुटेराहरुको यो समूहले सोही पसलमा लुटपाटको प्रयास गरे पनि सो दिन असफल भएको उहाँले बताउनुभयो ।

घटनामा संलग्न ६ जना पक्राउ परे पनि समूहका एक जना अझै पनि फरार रहेको र उनको खोजी कार्य जारी रहेको एसपी जिसीले बताउनुभयो । पक्राउ परेकामध्ये चन्द्रबहादुर राई नेपाली सेनाका पूर्वजवान र डाइमन्ड भन्ने प्रमोद चौधरी पूर्वमाओवादी कार्यकर्ता रहेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको उहाँले जानकारी दिनुभयो । पक्राउ परेका अभियुक्तहरुले लुकाइराखेका हातहतियारसमेत प्रहरीले बरामद गरेको छ । प्रहरीले उनिहरुबाट एसएमजी मेसिन गन १ थानसहित त्यसमा लाग्ने म्याग्जिन र ६२ थान गोली बरामद गरेको छ ।

यसै गरी कटुवा पेस्तोल १ थान, अटोमेटिक पेस्तोल १ थानसहित म्याग्जिन र गोलीहरु तथा एमपीआर लेखिएको सञ्चारसेट समेत प्रहरीले बरामद गरेको छ । अभियुक्तहरुले ती सामग्री घटनापछि सुन्दर हरैंचा नगरपालिकाको वडा नम्बर ५ मा रहेको नमुना सामुदायिक वनभित्र करमको रुखको टोड्का (प्वाल)मा लुकाई राखेका थिए । यसका साथै प्रहरीले उनीहरुले प्रयोग गरेको ६ थान मोटरसाइकल, अटो एक थान र ८ थान मोबाइलसमेत बरामद गरेको छ । अभियुक्तहरुविरुद्ध संगठित अपराध, हातहतियार र डकैतीसहितका विभिन्न मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्