देशभरका ७३ हजार सहकारीमा ७ खर्ब पुँजी



मोतीराम तिमल्सिना, काभ्रे ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारीहरुलाई मर्यादित ब्यवसाय र प्रविधि सहितको विकासमा जोडदै लग्नु पर्ने बताउनु भएको छ । कोभिड १९ को महामारी सँगै देखिएका विभिन्न विपत्तहरुमा सदस्यहरुलाई सहयोग पु-याउने अभियानमा सहकारीहरु सक्रिय हुनु पर्ने उहाँले बताउनु भयो ।

बनेपामा आयोजित बागमती प्रदेश बचत तथा ऋण सहकारी संघको प्रथम स्थापना दिवसको अवसरमा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले केहि समस्याग्रस्त सहकारीका कारण सहकारी अभियानलाई हेर्ने दृष्टिकोण फरक बन्न थालेको बताउनु भयो ।

‘हामी भर्खरै नियुक्त हुनु भएका अर्थमन्त्रीलाई बधाई तथा मौद्रिक नीतिमा सुझाव दिन पुगेका थियौं उहाँले सहकारी हेर्ने संयन्त्र अलग्गै बनाउनु पर्छ भन्नु भयो’–अध्यक्ष मिनराज कँडेलले भन्नुभयो–‘केहि सहकारीका कारण समग्र सहकारीलाई एउटै सोच्ने परिपाटीको अन्त्य गरिनु पर्छ ।

सहकारीहरुको अनुगमन, नियमनका लागि छुट्टै संयन्त्र आवश्यक छ ।’ देशभर रहेका ७३ हजार सहकारीमा ७ खर्बको पुँजी परिचालन भएको उहाँले बताउनु भयो । सदस्यहरुको जीवनस्तर उकास्न, समाजको आर्थिक, सामाजिक र सांस्कृतिक विकासका लागि सहकारीहरुले निरन्तर काम गरिरहेको उहाँले बताउनु भयो ।

कार्यक्रममा नेफ्स्कुनका अध्यष परितोष पौड्यालले नेपालका सहकारीहरु अन्र्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम भएकाले सहकारी भित्रको शुसासन र पारदर्शितालाई अझै परिपक्व बनाउँदै सदस्यहरुको जीवनस्तर उकास्न सक्रिय हुनु पर्ने बताउनु भयो ।

सहकारी अभियान्ताहरु टेकप्रसाद चौलागाई, रामशरण घिमिरे, रामहरी बजगाई, दिपक पनेरु, चन्द्रप्रसाद ढकाल लगायतले मन्तब्य राख्नु भएको थियो । अध्यक्ष उद्धव सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकारीका संचालकहरुको सहभागिता रहेको थियो ।

एक वर्ष अघि स्थापना भएको सहकारीमा १ सय ५३ वटा संस्था सदस्य भएका छन् । सदस्य संस्थाबाट १ अर्ब २२ करोड ८ लाख ४७ हजारको कारोवार भएको छ भने २ करोड ७० लाख ३२ हजारको शेयर रकम जम्मा भएको छ ।

१ अर्ब १८ करोड ९५ लाख बचत भएको छ भने ३४ करोड ८७ लाख ऋण लगानी गरेको छ । त्यस्तै सदस्य संस्थाहरुका लागि २५ करोड लगानी गरी कुल मुनाफा ३२ लाख गरेको सहकारीका सुर्दशन दाहालले जानकारी गराउनु भयो ।

संस्थाले आगामी कार्ययोजनामा चार वर्षे रणनीतिक योजना तयार गरी संस्थाको सुशासन, नीति निर्माण लगायतका ७२ वटा कार्यक्रम तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्