जीडीपीभन्दा नेप्सेको पुँजीकरण बढी



नेपाल समाचारपत्र, काठमाडौं  । 

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २९ दशमलव २४ अंकले बढेर ३०७९ दशमलव ६७ बिन्दुमा पुग्दा ऐतिहासिक बिन्दु कायम भएको छ । यो हालसम्मकै उच्च बिन्दु हो ।

कुल २२५ कम्पनीको ३ करोड २३ लाख ५५ हजार कित्ता शेयर १५ अर्ब १७ करोड छ लाख ५१ हजार रुपियाँमा कारोबार भएको छ । यससँगै नेप्सेमा सूचीकृत कम्पनीहरूको समग्र बजार पुँजीकरण ४२ खर्ब ८३ अर्ब ९४ करोड ३२ लाख रुपियाँ रहेको छ । यो देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) भन्दा बढी हो । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका विषयमा नयाँ व्यवस्था गरेपछि त्यसको असर पुँजीबजारमा परेको देखिन्छ ।

मंगलबार कारोबार भएका १३ वटा समूहमध्ये चार समूह बाहेक सबै समूहको सूचक वृद्धि भएको छ । नेप्से ऐतिहासिक बिन्दुमा पुग्दै गर्दा बैंकिङ समूह २ दशमलव ६३ र लघुवित्त समूहको शेयर ११६ दशमलव ६६ अंक, व्यापार २ दशमलव ५७ र होटल तथा पर्यटन १८ दशमलव ७७ अंकले ओरालो लागेको छ । त्यस्तै विकास बैंक समूह ३५ दशमलव ५७, जलविद्युत् समूह ११९, वित्त समूह ७१ दशमलव शून्य ४, निर्जीवन बीमा समूह १२० दशमलव २६, उत्पादन समूह ३०५ दशमलव १८, अन्य समूह ६० दशमलव ३४, जीवन बीमा समूह २६० दशमलव शून्य ८, सामूहिक लगानी कोष समूह शून्य दशमलव १३ र लगानी समूहको शेयरमा ३ दशमलव शून्य ५ अंकले बढेको छ ।

यस दिन कारोबार रकमका आधारमा एनआईसी एसिया बैंक अग्रस्थानमा रहेको छ । सो बैंकको ४९ करोड १५ लाख ५० हजार रुपियाँको शेयर कारोबार भएको छ । यस्तै, अपि पावर कम्पनीको ४८ करोड ३२ लाख, युनाइटेड मोदीको ३६ करोड २४ लाख ४० हजार, सानिमा माई हाइड्रोपावरको ३५ करोड २८ लाख ५७ हजार र नेसनल हाइड्रोपावरको ३४ करोड ७७ लाख आठ हजार रुपियाँको शेयर कारोबार भएको छ ।

मंगलबार मल्टिप्रपोज फाइनान्स, खानीखोला हाइड्रोपावर, युनाइटेड मोदी, नेपाल हाइड्रो डेभलपर, जोशी हाइड्रोपावर घलेम्दी हाइड्रोपावर, हिमालयन ऊर्जा विकास कम्पनी, जानकी फाइनान्स र युनिभर्सल पावरको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै सपोर्ट माइक्रोफाइनान्स, उन्नति सहकार्य लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्त, स्वाभिमान लघुवित्त र समता घरेलु लघुवित्तका लगायतका कम्पनीका लगानीकर्ताले भने गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्