सुर्खेतका स्थानीय तहको बजेट खर्च ७८ प्रतिशत



दीपेन्द्र शर्मा, सुर्खेत ।

सुर्खेतका स्थानीय तहहरुले आ.व. २०७७/०७८ को अन्तिममा बजेट खर्च ७७ दशमलव ९५ प्रतिशत विकास बजेट खर्च गरेका छन् ।

कर्णाली प्रदेश अन्तरगत सुर्खेत जिल्लामा रहेका नौ वटा स्थानीयहरुले आ.व. २०७७/०७८ मा ७७ दशमलव ९५ प्रतिशत खर्च गरेका हुन । सुर्खेतमा पाँच वटा नगरपालिका र चार वटा गाँउपालिका रहेका छन ।

आ.व २०७७/०७८ को कुलरु ६ अर्ब ६१ करोड ५० लाख ५२ हजार मध्ये रु पाँच अर्ब १५ करोड ६४ लाख ९७ हजार खर्च भएको हो ।

जसमा पालिकाहरुको चालु तर्फ रु तिन अर्ब ८७ करोड ७२ लाख ७० हजार मध्ये तिन अर्ब २९ करोड ५५ लाख १३ हजार तथा पुजिगततर्फ रु २ अर्ब ७३ करोड ७२ लाख ६२ हजार मध्ये रु १अर्ब ८६ करोड नौ लाख ८३ हजार खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय सुर्खेतका कोष नियन्त्रक मदन मगरातीले जानकारी दिनुभयो । स्थानीय तहमा नेपाल सरकार र प्रदेश सरकारबाट समानीकरण, ससर्त, विशेष, समपुरक अनुदान आउने भएकोले रकम बढि देखिने गरेको मगरातीको भनाई छ ।

१ अर्ब ४६ करोड रकम फ्रिज

सुर्खेतका स्थानीय तहको बजेट अन्तरगत आ.व.२०७७/०७८मा २२ प्रतिशत बजेट फ्रिज भएको छ । आ.व.२०७७/०७८ को असार महिनाको अन्तिमको खर्चलाई हेर्दा २२ प्रतिशत अर्थात रु १ अर्ब ४५ करोड ८५ लाख ५४ हजार रकम फ्रिज भएको हो । यस्तै चालु तर्फ रु ५८ करोड १७ लाख ५७ हजार र पुजीगततर्फ रु ८७ करोड ६२ लाख ७९ हजार रकम फ्रिज भएको कोष तथा लेखानियन्त्रक कार्यालय सुर्खेतले जनाएको छ ।कोष नियन्त्रक मगरातीका अनुसार यो खर्च भनेको नेपाल सरकार मातहतका कार्यालय र प्रदेश सरकार मातहतका कार्यालयहरुको बाहेकको हो । प्रदेश मातहतका कार्यालयको निकाशा छुटटै कार्यालय प्रदेश लेखानियन्त्रक कार्यालयले दिने गरेको छ ।

सिम्ताले गरयो सबै भन्दा बढि खर्च

सुर्खेतका स्थानीय तहहरुमा सबैभन्दा बढि खर्च गर्नेमा सिम्ता गाँउपालिकाले ८४ दशमलव ५२ रहेको छ भने सबै भन्दा कम खर्च गर्नेमा भेरी गंगा नगरपालिकाले ७१ दशमलव ३३ प्रतिशत रहेको छ । त्यस्तै पञ्चपुरी नगरपालिकाले ८२ दशमलव ०१ ,गुर्भाकोट नगरपालिकाले ८० दशमलव २४, चौकुने गाँउपालिकाले ७९ दशमलव ३२, वीरेन्द्रनगर नगरपालिकाले ७८ दशमलव ०८, लेकवेशी नगरपालिकाले ७७ दशमलव ०७, चिङ्गगाड गाँउपालिकाले ७५ दशमलव ८५, र वराहताल गाँउपालिकाले ७२ दशमलव ६६ प्रतिशत खर्च गरेका छन ।

सुर्खेतमा रहेका नेपाल सरकार मातहतका कार्यालयहरुले आ.व. २०७७/०७८ माचालु तर्फ ९० र पुजिगतमा ७५ प्रतिशत खर्च गरेका छन । कार्यालयहरुको चालु तर्फ रु २५ अर्ब २६ करोड मध्ये रु २३ अर्ब आठ करोड खर्च भएको छ भने पुजिगततर्फ रु चार अर्ब ९० करोड मध्ये रु तिन अर्ब ६८ करोड खर्च गरेका छन । नेपाल सरकार मातहतका कार्यालयहरु, नेपाल प्रहरी, ससस्त्र प्रहरी र नेपाली सेनाका विभिन्न ६४ वटा कार्यालय रहेको मगरातीले बताउनुभयो ।

एक अर्ब ७० करोड राजश्व संकलन

आ.व २०७७/०७८ मा सुर्खेत जिल्लामा रु एक अर्ब ७० करोड ४८ लाख ९३ हजार राजश्व संकलन भएको छ । अग्रीम आयकर, भ्याटको रकम, सामजिक सुरक्षा कर, मालपोत, प्रशासनिक दण्डजरिवाना तथा अन्य प्रशासनिक शुल्क तथा कर र गैर कर राजश्व संकलन भएको कोष नियन्त्रक मगरातीले बताउनुभयो । आ.व ०७६/७७मा रु एक अर्ब २८ करोड ९८ लाख ८१ हजार आन्तरिक राजश्व संकलन भएको मगरातीले जानकारी दिनुभयो ।

संघिय सरकारद्धारा संचालीत योजना तथा कार्यक्रमको समयमा ठेक्का नहुनु, कोभिड महामारीका कारण कार्यक्रम खर्च नहुनु, दरवन्दी अनुसारका कर्मचारी नहुदा खर्च कम हुने गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्