विदेशी नागरिकले गरे खाद्यन्न सहयोग



वासुदेव शर्मा, जाजरकोट ।

भेरी नगरपालिका–१ का ५० विपन्न घर–परिवारलाई फ्रिजी लाइट अस्ट्रियाले खाद्यान्न सहयोग गरेको छ । गैरनाफामूलक संस्थामार्फत अस्ट्रियाका जेष्ठ नागरिकहरू खाद्यन्न सहयोग गरेका हुन् ।

महामारीका रूपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ का कारण बन्दाबन्दीले ज्याला मजदुरी गर्न नपाएका चुलो बाल्न नसक्ने प्रतिपरिवारलाई २५ किलो चामल, १ किलो दाल, १ किलो नुन, १ पोका तेल वितरण गरिएको थियो । अस्ट्रियाका ७६ वर्षीय जेष्ठ नागरिक फ्रिजी ग्राहिस र ८६ वर्षीया श्रीमती क्रिस्टिने यारोसको सहयोगमा फ्रिजी लाइट अस्ट्रियाका सोलुखुम्बुका छिरिङ लामा शेर्पा र उनकी श्रीमती डाक्टर शुभेक्षादेव श्रेष्ठ दम्पती जाजरकोट पुगेर खाद्यन्न वितरण गर्नुभएको थियो । बीस वर्ष पहिले नेपालभन्दा गरिब मुलुक दक्षिण कोरिया विश्वकै आठौं धनी राष्ट्रको सूचीमा सूचीकृत हुन सफल भएको भन्दै भेरी नगरपालिका–१ का वडाध्यक्ष दीपक रानाले भन्नुभयो– ‘लुडो, चेस र क्यारेमबोर्ड खेलेर आर्थिक उपलब्धि हासिल गर्न सकिँदैन, सरकारी तथा गैरसरकारी निकायको अनुदान राहत सहयोगमा परनिर्भर नभई व्यावसायिक बाख्रा, कुखुरा पालन, बेमौसमी तरकारीलगायत उद्यमशील कार्यमा युवाहरू आजैदेखि लाग्नुहोस् ।’

हजारौं नागरिकको ज्यान लिने गरी फैलिएको कोरोना भाइरसको संक्रमणले अर्थतन्त्र ओरोलो लागेको अवस्थामा ज्याला मजदुरीबाट जीवन निर्वाह गरेका गरिब परिवारलाई खाद्य सहयोग गरेकोमा दातालाई भेरी नगरपालिका–१ का वडाध्यक्ष रानाले धन्यवादसमेत दिनुभएको थियो ।

फ्रिजी लाइट अस्ट्रियाले शिक्षा स्वास्थ्यका क्षेत्रमा सन् २०१५ देखि नेपालमा काम गर्दै आएकाले हरेक वर्ष नेपालका विभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर, बालिबालिकालाई ज्याकेट, झोलालगायत शैक्षिक सामग्री वितरण गरेको छिरिङ लामा शेर्पाले बताउनुभयो । कोरोना कहरबाट प्रभावित एकल महिला, पुरुष, अपांग आर्थिक विपन्न वर्गका नागरिकलाई यस वर्ष ३० जिल्लामा १५ सय घर–परिवालाई खाद्यान्न वितरण गरिने उहाँले बताउनुभयो । कर्णाली प्रदेशका दैलेख, सुर्खेत, सल्यान, जाजरकोट र पश्चिम रुकुमका २ सय ५० घर–परिवारलाई खाद्यन्न वितरण गरिन लागेको छिरिङको कथन छ ।

प्रतिक्रिया दिनुहोस्