वर्ष दिनमा साढे ५ हजारले बनाए नागरिकता



बैतडी, (नेस) ।

बैतडीमा एक वर्षको अवधिमा साढे ५ हजारले नेपाली नागरिकताको प्रमाणपत्र बनाएका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार गत आर्थिक वर्ष २०७७/०७८ मा ५ हजार ५ सय ६४ जनाले नागरिकता बनाएका हुन् ।

जसमा ३ हजार ३ सय ५८ पुरुष र २ हजार २ सय ६ महिला रहेका जिल्ला प्रशासन कार्यालय बैतडीका सूूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो । कोरोना महामारीका कारण विभिन्न समयमा कार्यालय बन्द रहे पनि उक्त संख्यामा नागरिकले नयाँ नागरिकता लिएका हुन् । गत आर्थिक वर्षको कात्तिक महिनामा सबैभन्दा बढी र भाद्र महिनामा सबैभन्दा कम नागरिकताको प्रमाणपत्र वितरण भएका प्रशासनले जनाएको छ ।

यस्तै, ४ जनाले वैवाहित अंगिकृत नागरिकताको प्रमाणपत्र लिएका छन् भने १ हजार ८ सय १८ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् । प्रतिलिपि लिनेमा १ हजार ३ सय ७६ जना पुरुष छन् भने ४ सय ४२ जना महिला रहेका छन् । यस्तै, ६ जनाले नेपाली नागरिकताको प्रमाणपत्र परित्याग गरेका छन् । अन्य देशको नागरिकता प्राप्त गरेका ६ जनाले नेपाली नागरिकताको प्रमाणपत्र परित्याग गरेका हुन् ।

यसैबीच, नागरिकतासम्बन्धी ४ सय ८० वटा गुनासो आएकामा ३ सय ५३ वटा फछ्र्यौट भएका र १० वटा प्रक्रियामा रहेका छन् । नागरिकतासम्बन्धी आएका १७ वटा गुनासो भने खारेज भएका जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्