वीरगञ्ज नाकाबाट ४२ अर्बको खाद्यान्न आयात



कृष्णउदास खनाल, वीरगञ्ज ।

गत आर्थिक वर्षमै भारत तथा तेस्रो मुलुकबाट वीरगञ्ज नाका हुँदै करिब ४२ अर्ब रुपियाँ मूल्यको धान, चामल, गहुँलगायतका खाद्यान्न नेपालमा आयात भएको छ ।

वीरगञ्जमा मुलु ककै प्रमुख स्थल नाका वीरगञ्ज भन्सार र सिर्सिया सुख्खा बन्दरगाह गरी दुईवटा नाका छन् । यी दुवै नाकबाट गत आर्थिक वर्ष २०७७/०७८ मा ४१ अर्ब ९३ करोड ३९ लाख ५५ हजार ५ सय ४७ रुपियाँको खाद्यान्न नेपाल भित्रिएको हो ।

गत आर्थिक वर्षमा वीरगञ्ज नाका हुँदै सबैभन्दा बढी ८ अर्ब ८१ करोड ४७ लाख ६९ हजार १ सय ९८ रुपियाँ मूल्यको ३० लाख ३४ हजार ९ सय ६२ मेट्रिक टन धान आयात भएको छ । गत आर्थिक वर्षमै वीरगञ्ज नाका हुँदै ६ अर्ब ७२ करोड ९९ लाख ९५ हजार २ सय ५४ रुपियाँ मूल्यको १ लाख ४ हजार २ सय १५ मेट्रिक टन भटमास र ६ अर्ब ५६ करोड ८० लाख १७ हजार ४ सय ७३ रुपियाँ मूल्यको ७ लाख ४ हजार ३ सय ८८ मेट्रिक टन मकै आयात भएको छ ।

यस्तै, ५ अर्ब ३६ करोड २७ लाख ३० हजार ४ सय ८४ रुपियाँको ५३ हजार ७ सय ७२ मेट्रिक टन सिमी र बोडीको गेडा आयात भएको भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख छ । गत आर्थिक वर्षमा वीरगञ्ज नाका हुँदै भारत तथा तेस्रो मुलुकबाट ४ अर्ब ४९ करोड ८ लाख ५४ हजार ८ सय ४४ रुपियाँको ८० हजार १ सय ४७ मेट्रिक टन केराउ आयात भएको छ ।

यसै गरी ३ अर्ब १६ करोड २२ लाख ७१ हजार ६ सय २८ रुपियाँको ५८ हजार ८ सय ९५ मेट्रिक टन चामल आयात भएको छ । यस्तै २ अर्ब ६० करोड ६४ लाख ७२ हजार ४ सय ४१ रुपियाँ मूल्य बराबरको ६४ हजार ७ सय १० मेट्रिक टन गहुँ आयात भएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा भने भारत तथा तेस्रो मुलुकबाट वीरगञ्ज नाका हुँदै ३९ अर्ब ७८ करोड ४८ लाख ९५ हजार १ सय ३९ रुपियाँको खाद्यान्न नेपाल आयात भएको थियो । नेपालमा हुने उत्पादनले नपुग्ने भएपछि भारत , रसिया , टर्की , भियतनाम , ब्राजिल , अर्जेन्टिना ,चीन , क्यानाडा अष्ट्रेलिया , थाइल्यान्ड , जापान लगायतका मुलुकबाट वीरगञ्ज नाका हुँदै वर्षेनी ४० अर्बभन्दा बढी मूल्यको धान,चामल, गहुँ, मकै लगायतका खाद्यान्न नेपाल आयात हुने गरेको छ ।

वीरगञ्ज पथलैया र वीरगञ्ज पोखरीया औद्योगिक कोरिडोरमा रहेका खाद्यान्नजन्य उद्योगहरूले नै भारत तथा तेस्रो मुलुकबाट खाद्यान्न आयात गर्दै आएका छन् । यहाका उद्योगहरूका लागि कच्चा पदार्थ स्वदेशी उत्पादनले नपुगेकै कारण विदेशबाट आयात गर्नुपर्ने बाध्यता रहेको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध गुप्ताले बताउनुभयो । नेपाल सरकारको नीति उत्पादनमुखीभन्दा पनि आयातमुखी भएका कारण वर्षेनी ४० अर्ब मूल्यको धान चामल गहँुजस्ता खाद्यन्न विदेशबाट आयात गर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्