बागमती प्रदेशको बजेट बहुमतले पारित, पालिकामा बहिष्कार



नेपाल समाचारपत्र, हेटौंडा । 

लामो रस्साकस्सीपछि बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८-७९ का लागि ल्याएको बजेट बहुमतले पारित भएको छ ।
बजेटमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, विवेकशील साझा पार्टी र नेमकिपाका सांसद्ले राखेको खर्च कटौती प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । यसअघि विषयगत मन्त्रालयमा सांसद्हरुले उठाएका प्रश्नहरुको सम्बन्धित मन्त्रीले जवाफ दिनुभएको थियो । विपक्षी दलहरुले संसद् अवरुद्ध गरेका विषयबारे स्पष्ट पार्दै मुख्यमन्त्री डोरमणि पौडेलले सरकारले सबैसँग समन्वय गरी विकास अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

बजेटमाथिको छलफलमा विपक्षी सांसद्हरुले बजेट पारित गर्ने हतारले सबै मन्त्रालयको एकमुष्ट छलफल गराएको, बजेटलाई समानुपातिक र आवश्यकताका आधारमा भन्दा आगामी निर्वाचन केन्द्रित गरेर विनियोजन गरेकोलगायत विषयमा धारणा राखेका थिए ।
बागमती प्रदेशको प्रदेशसभा बैठक विपक्षी दलले बहिष्कार गरेका थिए । विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा विद्युत् आपूर्ति अवरुद्ध भएपछि प्रतिपक्षी दलले बहिष्कार गरेका थिए । विनियोजन विधेयक बैठकमा निर्णयार्थ पेश हुँदा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, विवेकशील साझा पार्टी, राप्रपा र स्वतन्त्र सांसद् संसदमा थिएनन् भने नेमकिपाले पक्षमा मत राखेको थियो । विपक्षी दलमा नेमकिपाका दुई सांसद्मात्र बैठकमा सहभागी हुनुहुन्थ्यो । उहाँहरुले पनि बजेटको विपक्षमा मत हाल्नुभएन ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले पेस गरेको सरकारको आर्थिक वर्ष २०७८÷७९ विनियोजन विधेयक बहुमतले पास भयो । ढुंगेलले निर्णयार्थ पेश गर्नुभएको बजेट नेकपा एमालेको दुवै पक्षको समर्थनमा पास भएको हो । विपक्षीले हेटौंडा–काठमाडौं सुरुङमार्ग, सञ्चारगृहलाई बजेटलगायत विषयमा आपत्ति जनाएका थिए ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री ढुंगेलले प्रदेश सरकारका तर्फबाट क्षेत्रगत नीति तथा कार्यक्रम कार्यान्वयनका लागि कुल बजेटमध्ये चालूतर्फ २६ अर्ब १ करोड ६६ लाख २३ हजार विनियोजन र पुँजीगततर्फ २९ अर्ब ७० करोड ३९ लाख ४ हजार विनियोजन गर्नुभएको थियो ।बजेटमा चालूतर्फ ४५ प्रतिशत, पुँजीगततर्फ ५१ प्रतिशत र वित्तीयतर्फ ४ प्रतिशत खर्च हुने अनुमान गरिएको छ । सरकारले बजेटको स्रोतमध्ये कर तथा राजस्वबाट २३ अर्ब ८२ करोड १८ लाख र अन्य राजस्वतर्फ ६ अर्ब ८२ करोड १३ लाख, संघीय सरकारबाट वित्तीय हस्तान्तरण अनुदानबाट प्राप्त हुने १६ अर्ब ९२ करोड ६८ लाख, विविध प्राप्तिबाट १ अर्ब ५ करोड ९ लाख र चालू आर्थिक वर्षबाट राजस्व बचतबाट ९ अर्ब १० करोड प्राप्त हुने अनुमान गरिएको छ । तर, मकवानपुरको कैलाश गाउँपालिकाको बजेट बाँडफाँडमा अध्यक्ष टंकबहादुर मोक्तानले एकलौटी गरेको भन्दै ८ जना वडा अध्यक्षले बैठक बहिष्कार गरेका छन् । असार १५ गते नीति तथा कार्यक्रम पास गरेको पालिकाले बजेटलाई अन्तिम रुप दिन आइतबार कार्यपालिका बैठक बोलाएको थियो ।

तर, वडा अध्यक्षहरुलाई जानकारी नदिई हेटौंडाको होटलमा बसेर बजेट बाँडफाँड गरेर अध्यक्षले एकलौटी गर्न खोजेपछि बहिष्कार गरिएको वडा अध्यक्षहरूको भनाइ छ । १० वटा रहेको कैलाशमा एमाले र कांग्रेसका समान ४÷४ जनाले बैठक बहिष्कार गरेका हुन् ।वडा नम्बर ५ का अध्यक्ष छेकु लामाले पालिका अध्यक्ष मोक्तानको मनलाग्दी अब सहन नसकिने बताउनुभयो । पटक–पटक पालिका अध्यक्षसँग सामूहिक छलफलमा योजना निर्माण गर्न अनुरोध गरे पनि अध्यक्षले कुनै कुरा नमानेको र चोरबाटोबाट बजेट पास गर्न खोजेका कारण बहिष्कार गरिएको उहाँले बताउनुभयो । बैठक बहिष्कार गर्नेमा वडा–१, २, ५, ६, ७, ८, ९ र १० नम्बर वडा अध्यक्ष रहनुभएको छ ।
बाढीबाट क्षतिग्रस्त तल्लो मोदी–१ बाट उत्पादन सुचारु
नेपाल समाचारपत्र , पर्वत
सुन्दरेखोलामा आएको बाढी र पहिरोका कारण क्षतिग्रस्त १० मेगावाट क्षमताको तल्लो मोदीखोला–१ जलविद्युृत् आयोजनामा उत्पादन सुचारु भएको छ । क्षतिग्रस्त संरचनामा अल्पकालीन मर्मत गरेर ८ दिनपछि आइतबार रातिदेखि उत्पादन सुचारु भएको हो।पर्वतको कुस्मा नगरपालिका –८ दोबिल्लामा सुन्दरेखोलामा आएको बाढीले आयोजनाको डिसेन्डर, नहर लगायतका संरचनामा क्षति पुगेपछि असार २२ गते रातिदेखि बन्द भएको थियो । डिसेन्डर र नहरमा भरिएको गेग्रान हटाएपछि उत्पादन सुचारु भएको निर्देशक उपेन्द्र गौतमले जानकारी दिनुभयो ।तत्काल नहरमा पानी हालेर उत्पादन सुचारु गरेका छौ।’ उहाँले भन्नुभयो–‘नहर र अन्य संरचनामा भएको क्षति र मर्मत पानीको सतह घटेपछि शुरु गछौ ।’ सुन्दरे खोलाको बाढीले आयोजनामा करोडौको क्षति पुगेको दाबी निर्देशक गौतमले गर्नुभयो । सबै क्षतिको विवरण अहिले नै नआउने भएकाले यकिन गर्न कठिन भएको उहाँको भनाइ छ । असार २२ गते सुन्दरेखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गमा रोकिएको जीप बगाउँदा सडक स्तरोउन्नतीको काम गरिरहेको लामा कन्स्ट्रक्सनका साइड इनचार्ज राजाराम आचार्य र चालक इन्द्र थारु बेपत्ता भएका छन् भने राजमार्ग छेउका पसलहरु बगाएको छ । कुस्मालाई फलेबास जोड्ने सडक, त्यस नजिकका खेतसमेतमा क्षति पु-याएको छ ।

प्रतिक्रिया दिनुहोस्