राजनीतिको दुःख



  • पेशल आचार्य

‘असल राजनेता देशको भविष्यको चिन्ता गर्छ तर राजनीतिज्ञलाई भने आउने चुनावको मात्र चासो हुन्छ ।’ चर्चित दार्शनिकको भनाइ हो यो । वास्तवमा नेपालको राजनीतिमा औँलामा गन्न सकिने मात्र व्यक्तिहरू विचार, निष्ठा, आदर्श र सिद्धान्तको राजनीति गर्नेहरु छन् । बाँकीचाहिँ चुनावमा पार्टीहरूसँग टिकट किनेर व्यापक लगानी गरी चुनावलाई ‘एनी हाउ कब्जा जमाऊ’ को शैली अख्तियार गरेर सांसद र मन्त्री हुने भावनाका व्यापारीहरू धेरै छन् ।

खोजी पसेका खण्डमा नेपालमा यस्ता व्यक्ति स्वतन्त्ररूपमा, आफ्नो एक्लै पारिवारिक पार्टीको आवरणमा र हरेक ठूला भनिएका राजनीतिक पार्टीहरूमा यत्रतत्र देखिन्छन् । जनताले मन पराए पनि, नपराए पनि ती ठूला भनिएका पार्टीहरू ठूला कम र ‘ठालु’ ज्यादा लाग्छन् ।

नेपाली राजनीतिमा अहिले देखिएको वैचारिक स्खलन र पदलोलुपताको दृश्य योभन्दा अघि शायद कहिल्यै देखिएको थिएन । अहिले मिहीनरूपले खोजी गर्ने हो भने हरेक पार्टीमा एकजना मात्र नेता र बाँकी सबै करिब–करिब ‘कृत दास’ जस्ता देखिन्छन् । राजनीतिक विश्लेषक तथा पत्रकार मुमाराम खनाल भन्छन्, ‘नेपाल अहिले एक व्यक्ति एक पार्टीको महारोगले सताइएको छ । यो हरेक पार्टीमा लागू हुन्छ ।’ यो भनाइलाई पुष्टि गर्नका लागि गतिशील राजनीतिक पार्टीका वर्तमान अवस्थाको विश्लेषण नै काफी हुन्छ ।

आफूलाई प्रजातन्त्रको ‘मसिहा’ भन्ने नेपाली कांग्रेसको वर्तमान पार्टी सञ्चालन शैली र पार्टीभित्रका जनवर्गीय संगठनहरूको वैचारिक र सांगठनिक क्रियाकलापलाई हेर्ने हो भने यो पार्टी ‘मृतप्रायः’ छ । भन्दा नमीठो र सुन्दा नरमाइलो लाग्ला तर वास्तविकता नै यही हो । त्यहाँ कांग्रेस सभापति शेरबहादुर देउवाको है–हुकुम चलेको छ । उनको रजगज देखिन्छ । उनको चारबर्से कार्यकालमा देखिने र बाउ भन्नलायकको एउटा काम गरेर देखाएनन् । बूढो गोरुले गाई ओगटेझैँ गरेर पार्टीको थकाली भैरहे । सासूआमाको राजदूतको ‘जागिर’ जोगाउनका लागि उनी ओली सरकारका कुनै पनि जनघाती र देशघाती कुकृत्यको विरोधमा उत्रिएनन् । हाँसो उठ्दो कुरा त संवैधानिक परिषद्का बैठकलाई बहिष्कार गरी सोबाट नियुक्ति हुने पदमा भने ‘भाग’ खोजे । उनकी पत्नी आरजु देउवा कोरोनाको कालभरि जपान बसेकी छिन् । उनी कञ्चनपुरबाट नारदमुनि रानासँग चुनाव हारेपछि बितेका चार वर्षमा लगभग पेसिभजस्तै देखिइन् ।

एमालेमा अहिले इतिहासमै नभएको किचलो चलेको छ । नेकपा हुँदा दुई बूढा देखाउने अध्यक्ष भए पनि ओलीकै हंकीडंकी चल्यो । एमालेले ‘एक पार्टी एक नेता’ को अवधारणाबाटै अग्रगामी राजनीतिक विसङ्गतिको छलाङ मारिरहेको छ । एकजना असन्तुष्ट माधव नेपाल गुटका नेताले भनेको सुनेको ‘कम्युनिस्ट हुनका लागि एमाले नै हुनुपर्ने बाध्यता अब रहेन ।’ एमाले कम्युनिस्टको धङ्धङी बोकेको पूँजीवादी पार्टीमा रूपान्तरण भैसक्यो ।

२०४६ पछि एमालेको जनउभार र कार्यशैली कांग्रेसको तुलनमा अब्बल देखियो । देशव्यापीरूपमा धेरै कार्यकर्ता भएको र व्यवस्थित रूपको मध्यमधारको कम्युनिस्ट पार्टीका रूपमा सजिलै स्थापित भयो । माओवादीहरू जनयुद्धबाट संसदीय अभ्यासमा आउँदा जति–जति ‘स्पेस’ लिँदै गए उति–उति एमालेको साइज ‘लघु’ हुँदै गयो । सोही कुरा बुझेर टाठा ओलीले प्रचण्डलाई ‘एकताको ललीपप’ चखाएका हुन् । वर्तमान प्रधानमन्त्री केपी ओली माओवादीका प्रखर विरोधी थिए । समय घर्कियो, रहँदा/बस्दा फेरि एमाले र माओवादी केन्द्रबीच ‘लभ’ पर्‍यो । दुवैले कांग्रेसलाई एक भएर चुनावमा धूलो चटाए । कांग्रेस पछिल्लो चुनावबाट निम्छरो प्रतिपक्षमा खुम्चियो ।

अहिले माओवादी केन्द्र हालत ‘एक नेता एक पार्टी’को दुरुस्तै देखियो । केही पहिलो पुस्ताका नेता एमालेमा गए । अदालतले दुवै पार्टीलाई अलगथलग गरिदिएपछि रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह र मणि थापाजस्ता प्रचण्डका हस्तीहरू एमालेमै रत्तिए । यिनीहरू वैचारिकरूपमा नभएर आफूले खाइपाइ आएको मन्त्री पद जोगाउन एमालेमा गए भन्ने जनताले बुझे । फेरि अदालतको फैसलाका कारण तिनीहरूको मन्त्री पद गएर ‘घरका न घाटका’ भए । यस्तो स्थितिमा राजनीति गरिरहनु भनेको करिब–करिब ‘वैचारिक मृत्यु’ हो ।

राजनीतिलाई नजिकबाट नियालिरहेका एकजना प्रबुद्ध व्यक्ति भन्छन्, ‘नेपालका पार्टीहरू अहिले शेयर बजारमा शेयर बिक्री गर्ने प्राइभेट लिमिटेड कम्पनीजस्ता भएका छन् । आफ्ना नीति तथा कार्यक्रमले जनतालाई जोड्नेभन्दा नेतामुखी काम गरेका छन् । यो महारोगबाट कांग्रेस, एमाले, माओवादी केन्द्र, जसपा र राप्रापा कोही अछूतो रहेका छैनन् ।’

चुनाव जित्दा प्रतिनिधिसभाका एकसिटे सांसद तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको राजनीतिक बोली हिजोआज केटाकेटीजस्तो आलोकाँचो देखिएको छ । उनी आफ्ना वचनका अडानमा दुई हप्ता पनि अडिन नसक्ने देखिए । कहिले के, कहिले के बोलेर उनी विवादमा आइरहन्छन् । जसपामा गएपछि पनि उनका वेटलेस भाषण आइरहेका छन् ।

एक नेता एक पार्टीको सिनारियो राप्रपामा समेत देखियो । संसद्मा राजेन्द्र लिङ्देन जनप्रतिनिधिका रूपमा चुनिएर आए पनि उनका नेताहरूको राजाप्रतिको आशक्ति र हिन्दू राष्ट्रपतिको सम्मोहनले राजनीतिक ओज क्रमशः दिन दुगुना रात चौगुना झरेको छ । पढेलेखेका बौद्धिकरूपमा चिनिने केन्द्रीय नेता पशुपति शमशेर जबरा, प्रकाशचन्द्र लोहनी र कमल थापाबीच जुँगाको लडाइँ चलिरहेको छ । यद्यपि यी तीनवटै ‘पुराना एक्काहरू’ यतिखेर संसद्मा छैनन् ।

मोहन वैद्यको माओवादी पनि एक व्यक्ति एक नेताको व्यवहारबाट अछूतो रहेन । उनले प्रचण्डसँग मत बझाएरै आफू अलग्गै भई माओवादी नामको ब्रान्ड लिएर बसे । उनको एउटा सिट पनि संसद्मा छैन । यही रोगबाट प्रताडित पार्टीहरूमा नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र नेकपा क्रान्तिकारीसमेत रहेका छन् । मजदुर किसान पार्टीका नेता नारायणमान बिजुक्छेको सदावहार प्रतिपक्षी भूमिका र वैचारिक अडानको राजनीति पनि क्रमशः ‘हावा फुस्किएको बेलुनजस्तो’ क्रमशः चाउरी पर्दै गरेको छ ।

भक्तपुरमा मात्र सीमित सो पार्टीमा बिजुक्छेबाहेक प्रभावशाली नेतृत्व अर्को देखिन सकेनन् । सिके राउतले यही सरकारसँग सरेन्डर गरेको हो । विप्लव माओवादी पनि क्रान्तिकारी कुरामा पूर्णविराम लगाई राष्ट्रिय राजनीतिमा आयो तर भनेजस्तो स्पेस नमिलेको हुनाले उसका नेता–कार्यकर्ताहरू जो–जो बाहिर छन् ती पेसिभ देखिएका र जो जेलभित्र छन् तिनीहरूको राजनीतिक शक्तिसमेत क्रमशः क्षीण भैरहेको छ ।

नीति र नियमले चल्नुपर्ने राजनीतिक पार्टीहरू त्यसका सुप्रिमोहरूको तजबिजी चिन्तनले यतिखेर जनतामा पार्टीप्रति चरम वितृष्णा र निराशा फैलिएको छ । नयाँ पार्टीका रूपमा देखा परेको विवेकशील साझा पार्टी पनि उस्तै–उस्तै विचार र रोड म्याप बोकेका दुई पार्टीहरूबीच एकीकरण भएर मात्र अहिलेको अवस्थामा आउन सफल भयो । नत्र तिनीहरू पनि विवेकशील नेपाली र साझा पार्टीमा चिनिएका थिए । जन्मिँदै एउटै विचारका दुई पार्टीहरू देखिएका ती पार्टीले स्थानीय निर्वाचनमा काठमाडौंमा एउटाले रञ्जु दर्शना र अर्कोले किशोर थापालाई मेयरमा लडाए । दुवैले सम्मानजनक मत त ल्याए तर दुःखको कुरो दुवैको मत जोड्दा निर्वाचित मेयर विद्यासुन्दर शाक्यको भन्दा बढी देखियो । दुवै नयाँ सोचका पार्टी हेरेका हे¥यै भए । संसदीय निर्वाचनमा काठमाडौँ एक र दुईमा निर्वाचनका इलेभेन्थ आवरमा आएर कांग्रेस र एमालेले प्रकाशमान र माधव नेपाललाई जिताउने रणनीति अख्यितारी गरे, सोको चेपुवामा साझाका संयोजक रवीन्द्र मिश्र परे । चुनावमा मिश्र झीनो मतले कांग्रेसका प्रकाशमान सिंहसँग पराजित भए । कांग्रेस र एमाले दुवै पुराना पार्टी काठमाडौँ एक र दुईबाट फुत्तफुत्त निस्किए । राजनीति गर्न साम, दाम, दण्ड र भेद यी चार तत्व चाहिने, फेसबुकमा भर्खर–भर्खर वैदेशिक अध्ययन र रोजगारीमा गएका टिनएजहरूलाई प्रभाव पार्दै गरेको साझा र विवेकशीलले पुरानासँग जुध्नु भनेको कुइनोले पहाडसँग जोरी खोज्नुजस्तै भयो भन्ने बुझेर केही समयअघि तिनीहरू एक भएका छन् । आउने चुनाव तिनीहरूका लागि राम्रो हुने पूर्वानुमान गरिँदै छ ।

फिप्टी प्लस भैसकेका विवेकशील साझाका नेता रवीन्द्र मिश्रभन्दा युवा नेता मिलन पाण्डेको राजनीतिक भविष्य बढी उज्ज्वल देखिन्छ । कोभिडका कारण अर्का नेता उज्ज्वल थापा कम उमेरमै ‘काल कलवित’ भए । उनमा निष्ठाको राजनीति र नयाँ पुस्तालाई अघि बढाउने सोच रहेछ । नागरिक समाजले गरेका केही आन्दोलनहरूमा उनले आफू र आफ्ना समर्थकहरूको व्यापक सहभागिता रहे–भए पनि राजनीतिक रूपले आफूले कहिल्यै त्यस्ता आन्दोलनहरूको क्रेडिट लिन चाहेनन् ।

अस्पताल भर्ना भएर निकै दिन भेन्टिलेटरमा रहँदा यस्ता कुरा बाहिर आए । उनको उपचारमा जुटेको स्वतस्फूर्त सहयोगको शैली क्या दामी देखियो । नेता इमानदार र त्यागी हुँदा जनताले आफ्नो सेन्टिमेन्ट ह्वात्तै खन्याउने रहेछन् भन्ने कुराको नजिर बनाएर थापा बिते । तर उनले छाडेर गएका वैचारिक र व्यावहारिक शैली भोलिको पुस्ताले राजनीतिमा अनुशरण गर्दै रहे भने रानजीतिमा रहेको दुःखको केही हिस्सा कम भएर जान्छ ।

नेपाली समाज यतिखेर परिवर्तनको सँघारमा छ । हिजोको आन्दोलन नेता र जनता मिलेर गरे तर परिवर्तन संस्थागत गर्ने सन्दर्भमा सत्तामा गएका केही राजनीतिक पार्टीहरूका नेता र तिनीहरूको कार्यशैलीका कारणले अहिले संघीयता र धर्म निरपेक्षता बहसका विषय मात्र नभएर खतरामै पर्न गएका देखिन्छन् । जनताले दुवै कम्युनिस्ट पार्टीलाई दिएको अपार मत र विश्वासलाई नेकपाले खुरुखुरु विकास, प्रशासनिक सिस्टम र तल्लो वर्गका जनताका हितमा देखाएको भए अझै केही चुनावमा अन्य पार्टीले च्याउनै पर्ने थिएन । तर भैदियो उल्टो । नेकपाले होली वाइनदेखि, चुच्चे नक्सा प्रकरण, कोभिडका दुई लहर, सलहको प्रकोप, बाढी र गोयल कथादेखि उसका भोटर, समर्थक र सामान्य कार्यकर्ताहरूको समेत बोल्ती बन्द भएको छ ।

गल्ती गर्ने नेता तर सजाय पाउने जनता भए । यो प्रवृत्तिको समूल अन्त्यका लागि पात्र परिवर्तन मात्र ठूलो कुरा होइन प्रवृत्ति परिवर्तन नै अपेक्षित छ । यदि त्यसो हुन सकेमा मात्र वर्तमान राजनीतिको दुःख केही होलो हुने थियो नत्र यसै गरी पार्टी, गुट, वार्ता र अदालतको गोलचक्कर काटेर सबै पार्टीका तेस्रो पुस्ताका नेताहरूको भविष्यसमेत भुत्लिन बेर छैन । सम्बन्धित सबैमा चेतना भया ।

प्रतिक्रिया दिनुहोस्