कमिसनको जालोमा खानेपानी योजना



विमल विष्ट, डोटी ।

जिल्लाको शिखर नगरपालिका वडा नं ४, ५ र ६ अन्तर्गत पर्ने मुडभरा, पच्नाली, तिजाली खानेपानी आयोजनाको काम गुणस्तरहिन रहेको आरोप लागेको छ । बिप्लव माओबादी कार्यकर्ताले १५ प्रतिशत रकम मागेका कारण खानेपानी निर्माणमा समस्या आएको निर्माण व्यवसायीको आरोप छ । खानेपानी निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले आफूले काम नगरी पेटी ठेकेदारलाई पटक–पटक उक्त योजना बिक्री गरेर काम गराउँदा कम गुणस्तरको काम भएको तथ्य बाहिर आएको हो ।

ठेक्का पाएको नागार्जुन जेभीआर कम्पनीले उक्त योजनाको काम पेटी ठेक्कामार्फत कमसल खालको सामग्री प्रयोग गरी काम गराउँदा गुणस्तरहिन भएको स्थानीयबासीको आरोप छ । निर्माण कम्पनीले भ्याटबाहेक २ करोड ९१ लाख ४९ हजार ६४ रुपियाँ १५ पैसामा ठेक्का सम्झौता गरेको थियो ।

सो कम्पनीले संघीय खानेपानी तथा ढल व्यवस्थापन विभागको क्षेत्रीय कार्यालय धनगढीसँग छ महिनामा काम सम्पन्न गर्ने गरी २०७७/६/९ गते सम्झौता गरेको थियो । निर्माण कम्पनीले उक्त योजनाको काम २०७७/१२/८ गते सम्पन्न गर्ने गरी सम्झौता गरेको भए पनि सम्झौता अवधिभित्र काम सम्पन्न हुन नसकेको स्थानीयबासी बताउँछन् । स्थानीयका अनुसार ठेक्का सम्झौता अनुसारको काम गर्नुपर्ने निर्माण कम्पनी जेभीआरले पेटी ठेकेदारलाई ठेक्का बेचेकाले समयमै काम सम्पन्न हुन सकेको देखिँदैन । ठेक्का पाएको सो कम्पनीका प्रतिनिधि तथा दिपायल सिलगढी नगरपालिका–२ का स्थानीयबासी धनश्याम पाठकले उक्त योजना

जोरायल गाउँपालिका–१ घण्टेश्वर बस्ने खेमबहादुर मगरलाई बिक्री गरेको तथ्य बाहिर आएको छ । पाठक पहिलो पक्ष बनेर दोस्रो पक्ष खेमबहादुर मगरलाई ठेक्का रकमको ६० प्रतिशत पाउने गरी बिक्री गरेको लिखित प्रमाण फेला परेको छ ।

यसैगरी खेमबहादुर मगरले आफूले पाएको ठेक्का पनि कमिसनको आधारमा तेस्रो व्यक्तिलाई बिक्री गरेको पाइएको छ । यसरी निर्माण कम्पनीले ठेक्का सम्झौता अनुसार काम नगर्दा र कमिसनको आधारमा पेटी ठेकेदारलाई काम बेच्दा समयमा उक्त काम नसकिने र काममा पनि गुणस्तरहिन हुने देखिएको स्थानीयवासी रामबहादुर खत्रीले बताउनुभयो । सोही ठेक्कालाई फेरि जोरायल गाउँपालिका–३ सरस्वतीनगर बस्ने लीला ओलीलाई दोस्रो पक्ष बनाएर खेमबहादुर मगरले विक्रि गरेको प्रमाण पनि फेला परेको छ । उहाँहरु बीच २०७७ कार्तिक १ गते लिखित कागज भएको प्रमाण फेला परेको छ । खेम मगरले लीला ओलीलाई उक्त योजना एक करोड ३० लाखमा बिक्री गरेको देखिन्छ । मगरले पनि ठेक्काको ६० प्रतिशत पाउने गरी तिजाली, पचनाली मुडभरा खानेपानी आयोजना बेचेको पाइएको छ । खेमबहादुर मगरले पाएको ठेक्का फेरि तेस्रो व्यक्तिलाई समेत बिक्री गरेको पाइएको हो ।

२ करोड ९१ लाखको ठेक्कालाई एक करोड ७० लाखमा बिक्री गरेर काम गरिरहेको अर्का स्थानीय शिवराज भट्टको आरोप छ । यसरी ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले कमिसन लिएर ठेका बेच्दा र कमिसनै कमिसनमा योजना निर्माण हुँदा गुणस्तरहिन निर्माण सामग्रीको प्रयोग गरेर काम भएको हुनसक्ने उहाँको बुझाइ छ । सो खानेपानी आयोजनाका अध्यक्षको मृत्यु भएकाले हरेक आर्थिक गतिविधिहरुलाई सुचारु गर्न नसकिएका कारण ठेकेदारले अन्य उपभोक्तालाई हातमा लिएर काम गरेकोले गुणस्तरमा खस्किदो अवस्था देखिएको स्थानीयबासी बताउँछन । यस विषय निर्माण कम्पनीका प्रतिनिधि धनश्याम पाठकसँग बुझ्दा उहाँले आफूले उक्त योजनाको काम पेटी ठेक्कामार्फत ४० प्रतिशत निर्माण कम्पनीको हुने र ६० प्रतिशत पेटी ठेकेदारको रहने गरी काम दिएको स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो–‘मैले पेटी ठेक्कामा काम दिएको हुँ, पेटी दिएकाले के–के गरे थाहा भएन, बिप्लब माओबादी कार्यकर्ताले १५ प्रतिशत रकम मागेकाले समस्या भएको हो ।’ काम पेटी ठेक्कामार्फत दिएको भए पनि लाग्ने सामग्री तथा खर्च आफूले तिर्ने उहाँले जानकारी दिनुभयो । उता संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय धनगढीका प्रमुख प्रकाश रावलले खानेपानीको काम सम्झौता अनुसार नभए र गुणस्तरीय काम नभएको भए बिल पास नहुने बताउनुभयो । उहाँले भन्नुभयो–‘उक्त योजनाको अनुगमनका लागि दुई जना कर्मचारीहरु फिल्डमा जानु भएको छ, सम्झौताअनुसारको काम नभएको भए बिल पास हुँदैन ।’ १२ हजार लिटरको फिल्टरेशन ट्यांकी निर्माणका लागि उक्त बजेट बिनियोजन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्