नर्भिकमा टेस्टट्युब बेबी सेन्टर सञ्चालन



रकिनलाल श्रेष्ठ, काठमाडौ । 

नर्भिक इन्टरनेसनल हस्पिटलमा अत्याधुनिक सुविधा तथा प्रविधिसहित नेपालमै पहिलो जेनेटिक ल्याबसहितको आईभीएफ एण्ड फर्टिलिटी (टेस्टट्युब बेबी) सेन्टर सञ्चालनमा ल्याएको छ । नर्भिकमा विशेष सुविधासहितको नयाँ भवनमा छुट्टै आईभीएफ युनिट खडा भएसँगै अब आईभीएफ सेवाका लागि विदेश जानुपर्ने र परीक्षणका लागि नमुना परीक्षणका लागि विदेश पठाउनुपर्ने समस्याको अन्त्य भएको बरिष्ठ स्त्रीरोग विशेषज्ञ तथा टेस्टट्युब बेबी विशेषज्ञ डा. नूतन शर्माले बताउनुभयो ।

डा. शर्माले भारतलगायतका मुलुकमा अध्ययन गरी नेपालमै सुविधासम्पन्न सुरक्षित र व्यक्तिगत गोपनियतालाई समेत ध्यानमा राखी सबै परीक्षणलगायत उपचारमा समेत ध्यान पुर्‍याई एउटा पूरै भवन आईभीएफ सेन्टर बनाइएको जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ– ‘भारतमा आईभीएफको एड्भान्स सेन्टर देख्दा नेपालमा पनि यस्तै सेन्टर स्थापना गर्ने मेरो सपना आज सफल भएको छ ।’ उहाँले आईभीएफको समस्या लिएर आउनेमा युवा पुस्तादेखि महिनावारी बन्द भइसकेको समेत रहेको बताउनुभयो । डा. शर्माले सन्तान प्राप्तिका लागि उमेर बाधक नहुने जानकारी दिँदै भन्नुभयो– ‘नेपालमा मैले नै महिनावारी सुकीसकेकी ५४ वर्षकी महिलालाई आईभीएफ सेवामार्फत सन्तान प्राप्तिको खुसी दिलाएको छु ।’

उहाँको अनुसार ४० प्रतिशतभन्दा माथिको स्वास्थ्य समस्याका कारण बच्चा नभएको भेटिएको र त्यस्ता समस्या समाधान भएको छ भने कतिको वंशाणुगत समस्या पनि हुन सक्ने यसको पनि समयमै परीक्षण गरी उपचार सम्भव हुन्छ ।

नेपालको अल्का अस्पतालमा लामो समयदेखि स्त्रीरोग तथा निःसन्तानहरूका लागि सन्तानको खुसी दिने सेवा पु¥याउँदै आउनुभएका डा. शर्माले अबका दिनमा नर्भिक अस्पतालको आईभीएफ सेन्टरमा सेवा प्रदान गर्नुहुने भएको छ । आईभीएफ एन्ड फर्टिलिटी सेन्टरको बुधबार अस्पतालका अध्यक्ष वसन्त चौधरीकी सासू मीना चौधरीले धार्मिक विधिअनुसार पूजापाठ गरी रिबन काटेर उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्