लगानीकर्तालाई असार मसान्त लाग्यो



नेपाल समाचारपत्र, काठमाडौं ।

आर्थिक वर्ष सकिन लाग्दै गर्दा शेयर बजार प्रभावित बन्न थालेको छ । आर्थिक वर्षको अन्त्यमा हिसाब रापसाफ गर्ने चटारो हुने भएकाले त्यसको प्रभाव पुँजी बजारमा पर्न गएको हो । त्यसका कारण नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा निरन्तरको गिरावट रहेको छ ।

साताको तेस्रो दिन मंगलबार नेप्से सूचक ५ दशमलव २४ अंकले घटेर २८१८ बिन्दुमा झरेको छ । कुल २२० कम्पनीका १ करोड १ लाख ३५ हजार कित्ता शेयर किनबेच भएर ४ अर्ब २२ करोड रुपियाँमा कारोबार भएको छ । यो २०७८ सालकै न्यून कारोबार रकममध्येको हो । अघिल्लो दिन सोमबार नेप्सेमा ४ अर्ब ५८ करोड २२ लाख रुपियाँको शेयर कारोबार भएको थियो । कारोबार भएका २२० कम्पनीमध्ये १०६ कम्पनीको शेयर मूल्य घट्दा १९ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । बाँकी ५८ वटा कम्पनीको शेयर मूल्य सामान्य बढेका छन् । समग्र परिसूचक घट्दा पनि राष्ट्रिय बीमा कम्पनी, माउन्टेन इनर्जी, सिभिल लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक, समिट लघुवित्त कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । तर, जलविद्युत् लगानी तथा विकास कम्पनी, माथिल्लो तामाकोसी लगायतका कम्पनीका लगानीकर्ताले बढी गुमाएका छन् ।

मंगलबार कारोबारमा आएका १३ समूहमध्ये ५ समूहको परिसूचकमात्रै बढेका छन् । बाँकी ८ समूहको परिसूचक घटेको नेप्सेले जनाएको छ । बढेका समूहमा निर्जीवन बीम, उत्पादन तथा प्रशोधन समूहको परिसूचक १ प्रतिशतभन्दा बढी रहेको छ भने बैकिङ, माइक्रोफाइनान्स र जीवन बीमा समूहको सूचक सामान्य बढेका छन् । घटेकामध्ये लगानी समूहको परिसूचक सबैभन्दा धेरै २ दशमलव १३ प्रतिशतले घटेको छ । त्यस्तै हाइड्रोपावर र व्यापार समूहको परिसूचक पनि १ प्रतिशतभन्दा धेरैले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्