अक्सिजन प्लान्टका लागि सम्झौता



बैतडी, (नेस) ।

जिल्ला अस्पताल बैतडीमा असारभित्र अक्सिजन प्लान्ट निर्माण सम्पन्न गर्ने गरी हेल्थ केयर सप्लायर्स काठमाडौंसँग सम्झौता भएको छ । संघीय सरकारबाट १ करोड ५० लाख र सुदूरपश्चिम प्रदेश सरकारबाट ८० लाख बजेट प्राप्त भएपछि प्लान्ट स्थापनाको काम थालिएको हो ।

प्लान्ट स्थापनाका लागि बोलपत्र आह्वान गरी सप्लायर्स छनोट गरेको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वशन्तराज जोशीले बताउनुभयो । यो आर्थिक वर्षभित्र प्लान्ट स्थापना गर्ने भनेर सम्झौता गरेका उहाँको भनाइ छ । कोरोना महामारीको दोस्रो लहर फैलिएसँगै जिल्लामा अक्सिजन अभाव भएपछि प्रदेश सरकार र संघीय सरकारले प्लान्ट स्थापनाका लागि बजेट विनियोजन गरेको थियो ।

प्रदेश र संघ सरकारले विनियोजन गरेको बजेटलाई एउटैमा मिलाएर प्लान्ट स्थापनाको तयारीको भएको हो । प्लान्ट स्थापना भएपछि कोरोना महामारीका लागि मात्रै नभएर निर्माणाधीन ५० शैय्याको अस्पतालका लागि पनि सहयोग पुग्ने प्रमुख डाक्टर जोशी बताउनुहुन्छ । ‘प्लान्ट स्थापनाले ५० शैय्याको अस्पताल सञ्चालनमा आएपछि त्यसका लागि पनि सहयोग पुग्छ, कोरोनाका बिरामीका लागि मात्रै नभएर अन्य अप्रेसन, आईसीयू सञ्चालनका लागि पनि सजिलो हुन्छ ।’ –उहाँले भन्नुभयो ।

जिल्ला अस्पताल बैतडीमा १ सय बढी अक्सिजन सिलिन्डर छन् भने ३६ वटा अक्सिजन कन्सन्ट्रेटर छन् । भारतसँग सीमा जोडिएको बैतडीमा हालसम्म कोरोनाका कारण १८ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्