गर्भवती महिलाको निःशुल्क भिडियो एक्सरे



वासुदेव शर्मा, जाजरकोट ।

जाजरकोट भेरी नगरपालिकाले गर्भवती आमाको निशुल्क भिडियो एक्सरे गरेको छ । नगर प्रमुख स्वास्थ्य सुधार कार्यक्रमअन्तर्गत नगर स्वास्थ्य शाखाले भेरी नगरपालिका ११ र १३ वडामा गर्भवती महिलाहरूलाई स्वास्थ्य जाँच र निशुल्क भिडियो एक्सरे गरेको हो ।

महामारीको बिकराल रूप लिएको कोरोना भाइरस कोभिड–१९ को संक्रमण रहेको बेला गर्भवती आमाको स्वास्थ्य सुरक्षित राख्न नगर स्वास्थ्य शाखालेभेरी नगरपालिका १३ कुदु स्वास्थ्य चौकी, जगतिपुर स्वास्थ्य चौकीमा गर्भवती आमाको स्वास्थ्य जाँच तथा भिडियो एक्सरे कार्यक्रम सञ्चालन गरेको नगर स्वास्थ्य शाखाले जनाएको छ ।

शिविरमा दुई महिनाभन्दा माथिका गर्भवती आमाहरूको निशुल्क स्वास्थ्य जाँच गरिएको थियो । कुदु स्वास्थ्य चौकीमा २० जना, भेरी नगरपालिका ११ जगतिपुर स्वास्थ्य चौकीमा २७ जना गर्भवती आमाले स्वास्थ्य परीक्षण तथा भिडियो एक्सरे सेवा लिएको सह संयोजक गौतमले जानकारी दिनुभयो ।

नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर कोरोना भाइरसको महामरीले भयावह रूप लिएको समयमा कोरोना परीक्षणको लागि घरदैलो कार्यक्रम सञ्चालन गरेको नगर स्वास्थ्य शाखाले कोरोना कहर कमी भएपछि गर्भवती आमाहरूको निशुल्क भिडियो एक्सरे कार्यक्रम सञ्चालन गरेको स्वास्थ्य शाखाका सह–संयोजक यज्ञ गौतमले बताउनुभयो ।

हजारौँ नागरिकको ज्यान लिईसकेको कोरोना भाइरसले मानव समुदायलाई नै त्रसित बनाएको अवस्थामा पोषण संवेदनशिलता पोषण लक्षित कार्यक्रमलाई प्राथमिकतामा राख्दै सुनौला हजार दिनका गर्भवती आमाको निःशुल्क स्वास्थ्य परीक्षणलाई निरन्तरता दिएको हो । भेरी नगरपालिकाका पाँच वटा स्वास्थ्य चौकी सात वटा आधारभूत स्वास्थ्य सेवा केन्दमा प्रत्येक महिना एक दिन गर्भवती महिलाको स्वास्थ्य जाँच भिडियो एक्सरे सेवा दिने सह संयोजक गौतमको भनाइ छ ।

भेरी नगरपालिका ११ जगतिपुर स्वास्थ्य चौकीमा गरेको स्वास्थ्य परिक्षणमा तीन जना गर्भवती महिलाको बच्चा उल्टो पेटमा बसेको पत्ता लागेको थियो । पेटमा रहेको उल्टो बच्चालाई सुल्टो बनाउन गर्भवती आमालाई स्वास्थ्य सेवा कार्यालय जाजरकोट अथवा चौरजहारी अस्पताल जान सल्लाह सुझाव दिएको छौं उहाँले भन्नुभयो । दुई दिनसम्म सञ्चालन गरेको गर्भवती महिलाको स्वास्थ्य परीक्षण स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा उपचार शाखाका कार्यरत डाक्टर इन्द्र थापाले जाँच गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्