सिन्धुपाल्चोक बाढीमा २० जना सम्पर्कविहीन



हेटौंडा, (नेस) ।

वागमती प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री केशवराज पाण्डेले सिन्धुपाल्चोकमा असार एक गतेको बाढीपहिरोले दुई सय ९३ घरपरिवार विस्थापित र चार सय ९४ घरपरिवार जोखिममा परेको जानकारी दिनुभएको छ । मन्त्री पाण्डेले बाढीका कारण हालसम्म २० जना सम्पर्कविहीन रहेको बताउनुभयो ।

बिहीबारको प्रदेशसभा बैठकमा उहाँले सिन्धुपाल्चोकमा वर्षाका कारण आएको बाढीपहिरोले पाँचपोखरी थाङ्पालका ६५ परिवार, हेलम्बुमा दुई सय चार परिवार र मेलम्चीमा २४ घरपरिवार गरेर दुई सय ९३ घरपरिवार विस्थापित भएको बताउनुभयो ।

मन्त्री पाण्डेले पाँचपोखरीमा चार घर, हेलम्बुमा एक सय २० घर, मेलम्चीमा २० घर र भोटेकोशीमा तीन सय ५० घर गरी चार सय ९४ घरपरिवार जोखिममा रहेको जानकारी दिनुभयो । मन्त्री पाण्डेले बाढीपहिरोमा पाँच जनाले ज्यान गुमाएको भन्दै ज्यान जानेमा चिनियाँ र भारतीय नागरिक २/२ जना तथा एक नेपाली नागरिक रहेको बताउनुभयो । मन्त्री पाण्डेले बाढीको अवस्थामा सेना, प्रहरी तथा स्थानीयको सहयोगमा एक सय २३ जनाको उद्धार गरिएको, पाँच जना घाइते भएको र उनीहरूको उपचारपछि स्वास्थ्य अवस्था सामान्य भएको बताउनुभयो ।

मन्त्री पाण्डेले सिन्धुपाल्चोकको बाढीपहिरो प्रभावितका लागि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत् स्वास्थ्य शिविर सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले प्रभावितका लागि तत्काल प्रदेश सरकारबाट ५० थान टेन्ट र एक सय थान त्रिपाल पठाइएको बताउनुभयो । मन्त्री पाण्डेले असार दुई गते प्रदेश विपद् व्यवस्थापनको बैठक बसेर मेलम्ची र हेलम्बु क्षेत्रलगायतमा उद्धार सामग्री तथा खाद्यान्न पुर्‍याइएको स्पष्ट पार्दै प्रदेशस्तरीय तत्काल विपद् व्यवस्थापनका लागि प्रदेश सरकारले पाँच करोड दिने निर्णय गरेको जानकारी गराउनुभयो ।

मन्त्री पाण्डेले भन्नुभयो– ‘तत्काल विपद् व्यवस्थापनका लागि प्रदेश सरकारले पाँच करोड दिने निर्णय गरेको छ । जसमा एक करोड सिन्धुपाल्चोकका विपद् व्यवस्थापन समितिमार्फत् खर्च हुने, चितवन र रसुवामा ५०/५० लाख भौतिक पूर्वाधार मन्त्रालयको जलस्रोत तथा सिचाइ डिभिजनमार्फत् खर्च हुने र बाँकी जिल्लामा २५ लाखका दरले सोही डिभिजनमार्फत् खर्च हुने गरी रकम पठाएका छौँ ।’

प्रतिक्रिया दिनुहोस्