विद्युत्लाइन विवादले सडकको कन्तबिजोग



पुष्कर बुढाथोकी, भक्तपुर ।

स्थानीय बासिन्दाबीचकै विवादका कारण मध्यपुरथिमि नगरपालिका कार्यालय अगाडिको हुलाक मार्गस्थित सडकको अवस्था कन्तबिजोग बनेको छ ।

सात सय मिटर उक्त सडक कालोपत्रे गर्नका लागि नगरपालिकाले ६० लाख बजेट विनियोजन गरेर ढलको व्यवस्था गरिसकेपछि आएको विवादका कारण कालोपत्र रोकिँदा सडकको खाल्डो र हिलाम्मे हुँदा कन्तबिजोग बनेको छ ।

सडकमा हाल्न ल्याएको ग्राबेलसमेत बिछ्याउन नदिएपछि कतै ग्राबेलको थुप्रो छ भने, कतै खाल्डो र ढलको मंगल राख्ने ठाउँ खुला रहँदा निकै जोखिम बढेको छ ।

सडकको बीच र व्यक्तिको घर तथा जमिनमाथि भएर गएको विद्युत्को हाइटेन्सन लाइनलाई अन्डरग्राउन्ड गरेर लैजाने तयारी भएपछि स्थानीयबीच विवाद भएको नगरपालिकाका भनाइ छ ।

नेपाल विद्युत् प्राधिकरणले दुई करोडको बजेट खर्च गर्दै सडकभन्दा पाँच फिट तलबाट अन्डरग्राउन्ड गर्दै हाइटेन्सन लाइन लैजाने गरी स्थानीयसँग सहमति गरेको थियो । विद्युत अन्डरग्राउन्ड गर्न स्थानीय उपभोक्तासँग करिब एक करोड सङ्कलनसमेत गरेको र विद्युुत् अन्डरग्राउन्ड गर्न एक करोडको सामानसमेत आइसकेको छ ।

स्थानीयमध्येको एक पक्षले हाइटेन्सन लाइनलाई अन्डरग्राउन्ड गरेर मात्रै सडक कालोपत्र गर्नुपर्छ भन्ने र अर्को पक्ष विद्युत् लाइनलाई अन्डरग्राउन्ड नगरी कालोपत्रे गर भन्दै स्थानीयबीच नै दुई भागमा विभाजित भएपछि अन्डरग्राउन्ड र कालोपत्र गर्ने दुवै काम रोकिएको हो ।

नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले २०७४ सालदेखिको विवाद मिलाउँदै सडकको सीमाङ्कनका क्रममा मापदण्डभित्र परेका संरचनामध्ये घर नभत्काउने र पेटी नछाड्ने सहमति गरी सडक सीमाङ्कन सकेर कालोपत्र गर्न शुरू भएपछि नयाँ विवादका कारण सडक निर्माण गर्ने कार्य रोकिएको नगरपालिकाका् प्रमुख मदनसुन्दर श्रेष्ठ बताउनुहुन्छ ।

चालू आ.ब.मै कालोपत्र सम्पन्न गर्नेगरी सडकको टेन्डर स्वीकृत भएको एकवर्ष बित्नलाग्दा पनि निर्माण व्यवसायीले काम गर्न पाएको छैन ।

नगर प्रमुख श्रेष्ठ भन्नुहुन्छ– ‘नगर प्रमुखले पालिका अगाडिकै सडक कालोपत्र गरेन भनेर बाहिर हल्ला चलाइएको छ, तर यहाँका बासिन्दासँग छलफल गरेर सहमतिको प्रयास गरेको हो, तर स्थानीयको विवादका कारण सडकको काम रोकिएको हो ।’

विवाद र अवरोध नभए सडक तत्कालै कालोपत्र गर्न निर्माण कम्पनी तयार रहेको भन्दै उहाँले नगरको कार्यपालिका बैठकले सहमतिका लागि उपप्रमुखलाई जिम्मेवारी दिएको जानकारी दिनुभयो ।

नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मीले स्थानीयमै विवाद हुँदा विकास रोकिनु दुर्भाग्य भएको बताउनुभयो । विद्युत अन्डरग्राउण्ड गर्नुहुन्छ र हुँदैन भन्ने स्थानीय दुईपक्षलाई एकै ठाउँमा राखेर छलफल गरेर सहमति भएपछि सडक कालोपत्रे हुने बताउँदै त्यसका लागि आफूले समन्वय गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्