लगातारको वर्षाले एक दर्जन गाउँका सडक अवरुद्ध



विमल विष्ट, डोटी ।

डोटी जिल्लामा महिना दिनदेखि भइरहेको लगातारको वर्षाले यहाँका कम्तिमा पनि एक दर्नन बढी ग्रामीण क्षेत्रका कच्ची सडक अवरुद्ध भएका छन्।

वर्षाले ठाउँ ठाउँमा पहिरा तथा सडक हिलाम्य भएपछि गाउँका सडकका सवारी साधन चलाउन बन्द भएको छ । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा गरिएको निषेधाज्ञा खुकुलो गरिएसँगै जिल्लामा यातायातका साधन सञ्चालन गर्न स्थानीय प्रशासनले अनुमती दिए पनि वर्षाले ग्रामीण सडक भत्किएका तथा बिग्रिएका कारण सञ्चालन गर्न समस्या भइरहेको शैलेश्वरी यातायात प्रालिका प्रमुख प्रेमबहादुर रावलले जानकारी दिनुभयो ।

सडक डिभिजन कार्यालय दिपायल कुल्पातेका अनुसार वर्षाका कारण यहाँका जोरायल, गड्सेरा, दिपायल नापानी, मौवा मेल्लेक, राजपुर बोगटान, विपीनगर, बागछेडा, तल्कोट धुर्कोट, मुडभारा, सिलगढी नारीदाङ, गैराधुर्कोट सडक बिग्रिएर बन्द अवस्थामा रहेका छन् । बिग्रिएका सडकमा जेसिबी लगाएर सुचारु गर्न खोजिए पनि वर्षा नरोकिएका कारण अहिलेसम्म यहाँका ग्रामीण सडकहरू सञ्चालनमा ल्याउन नसकिएको बताइएको छ । गाउँका सडकहरुमा यातायातका सवारी साधन सञ्चालन हुन नसकेपछि अहिले यहाँका किसानले उत्पादन गरेका तरकारी तथा गोलभेडाहरू बजारसम्म लैजान नपाउँदा बारीमै कुहिन थालेको बोगटान फुड्सिल गाउँपालिकाका किसान जगतबहादुर बमले बताउनुभयो ।

उहाँले भन्नुभयो–केही महिना पहिले कोरोनाका कारण तरकारी, फलफुल बजारमा लैजान पाएनौं, अहिले पानीले सबै सडक बिगारेकाले लैजान नपाउँदा बारी कुहिन थालेका छन्, हाम्रो मिहिनेत खेर गयो ।

लामो समयदेखिको वर्षातले गाउँका सडक अवरुद्ध हुँदा स्थानीयवासी तथा किसानलाई निकै सास्ती हुँदै आएको छ। यतिमात्र नभई सडक अवरुद्ध भएका कारण यहाँका गाउँघरमा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न पनि समस्या भएको उग्रतारा यातायात प्राली दिपायल शाखाका प्रमुख कृष्णराज भट्टले बताउनुभयो ।

उहाँले भन्नुभयो–वर्षाले गाउँका सडक सबै बन्द भएका छन्, गाडी नचल्दा दैनिक उपभोग्य वस्तु समेत लैजान निकै समस्या भएको छ । यहाँका ग्रामीण सडकहरू वर्षाले चिरा चिरा पर्नुका साथै कतिपय ठाउँमा सडक नै बगाएकाले नयाँ सडक कटिङ गर्नु पर्ने अवस्था सिर्जना भएको स्थानीयवासी डम्बर विष्टले जानकारी दिनुभयो । वर्षातका कारण बिग्रिएका सडक सुचारु गराउनका लागि सम्बन्धित स्थानीय तहका जनप्रतिनिधि लागीरहे पनि कतिपय ठाउँमा सडकमै बाढी पसेका कारण समस्या हुँदै आएको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्