अवरुद्ध पृथ्वी राजमार्गमा खुल्यो, सिमेन्ट उद्योगमा क्षति



सीताराम अधिकारी, धादिङ ।

पहिरो र सडकमा क्षति पुगेर अवरुद्ध भएको पृथ्वी राजमार्गको धादिङ खण्ड खुलेको छ । मलेखु मुग्लिन क्षेत्रमा बिहीबार राती पहिरो गएर राजमार्गमा यातायात साधन गुड्न पाएका थिएनन् ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका १० तिकराङ, मौवाखोला क्षेत्र लगायतका स्थानहरूमा पहिरो र शाखा सडक खनेका कारण आएको लेदोले सडकमा यातायात साधन चल्न पाएका थिएनन् ।

सडक माथिबाट लेदोसहित पहिरो रोकिएको छैन । लगातार वर्षाले गर्दा सडक अवरोध हटाउन समस्या परेको प्रहरीको भनाइ छ । अवरुद्ध राजमार्गमा सडक विभाग र ट्राफिक प्रहरी कार्यालयको डोजरले पहिरो हटाएपछि सवारी साधन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताउनुभयो ।

राजमार्गको ठाउँ ठाउँमा पहिरो झर्ने क्रम जारी रहेको छ । निरन्तर वर्षा भईरहेको कारण पहिरो झर्न क्रम रोकिएको छैन । काठमाडौं प्रवेश गर्ने प्रमुख राजमार्गको सडकमा शाखा सडक खन्दा प्रमुख राजमार्गलाई बेवास्था गरिएका कारण पानी पर्न थालेपछि पहिरो आउने गरेको छ ।

बाढी पहिरोले नेपालकै ठूलो निर्माणाधीन सिमेन्ट उद्योग बेनिघाट रोराङ गाउँपालिका–२, महादेवस्थानस्थित हुवासिन सिमेन्ट उद्योगलाई बाढीले क्षति पु¥याएको छ ।

कम्पनीको छेउमै रहेको मलेखु खोलामा आएको बाढी सिमेन्ट उद्योगभित्र पसेको हो । सिमेन्ट उद्योगको छेउछाउमा भएको सामान बगाएको छ । उद्योगको मुख्य भागमा बाढीले पुरेको प्रत्यक्षदर्शी अप्सरा मैनानीले बताउनुभयो ।

सो स्थानमा रहेको सिताराम गुरुङले सञ्चालन गर्दै आएको होटल बगाएको छ । अर्को दुईवटा होटलमा पनि बाढी पसेको छ । हुवासिन सिमेन्टको तल्लो भागको जग्गामा पनि बाढीले क्षति पु¥याएको प्रहरीले जनाएको छ । निर्माणाधीन सिमेन्ट कम्पनीमा काम गर्ने नेपाली र चिनियाँ मजदुरलाई सुरक्षित ठाउँमा सारिएको एसपी खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्