पर्यटन विकास : समस्या र समाधानका उपाय



  • हरिगोपाल प्रधान

नेपाल वायुसेवा निगमले २०१५ साल आषाढ १७ गते स्थापनाकालदेखि सेवा प्रारम्भ गरेयता दुर्गम क्षेत्र पनि सुगम बन्दै गइरहेका छन् । अधिकांश विकट पहाडी ठाउँहरूमा समेत निगमले आफ्नो सेवा उपलब्ध गराएको छ । वैदेशिक मुद्रा आर्जन गर्ने अन्तर्राष्ट्रिय उडानलगायत ग्राउन्ड ह्यान्डलिङ अन्तर्राष्ट्रिय स्तरको उत्कृष्ट सेवाबापत इन्टरनेनल सेफ्टी अडिट फर ग्राउन्ड अपरेटर (आईएस्एजीओ) प्रमाणपत्र प्राप्त गरेको छ । निगमले सम्पूर्ण सेवालाई प्रमुखताका साथ अगाडि बढाउन प्रयासरत छ ।

देशमा हवाई इन्धन आपूर्ति नहुँदा निगमका विमानहरुले विदेशबाट इन्धन आपूर्ति गरी आन्तरिक उडानका अन्य विमानलाई पनि वितरण गरेको थियो । साथै काबुलमा विष्फोटमा परेका निर्दोष नेपालीहरुको शव ल्याउने कार्यसहित हाल फैलिरहेको कोभिड–१९ महामारीमा औषधि ल्याउने, विदेशमा रहेका नेपाली र नेपालमा बसेका विदेशीलाई गन्तव्य स्थानमा पुर्‍याउने काम गरेर सेवा पुर्‍याइरहेको छ । नाफा आर्जनमा मात्र सीमित नभई सेवाभावलाई पनि प्राथमिकता दिँदै आएको छ । अन्य यातायातका साधन नभएका दुर्गम क्षेत्रका जनतालाई अपेक्षाकृत सस्तो दरमा सेवा उपलब्ध गराउनुका साथै त्यस्ता ठाउँमा दैनिक उपभोग्य वस्तु र निर्माण सामग्रीहरू पुर्‍याउनमा समेत सक्रियता लिँदै आएको छ । आन्तरिक उडानमा घाटा सहेर पनि निगमले आफूलाई बढी सेवामुखी बनाएको छ । बाह्य उडानहरू पनि अन्य विमान सेवाहरूभन्दा तुलनात्मकरूपमा सस्तो बनाइएको छ । आन्तरिक तथा बाह्य सेवामा निगमले बर्सेनि लाखौँ स्वदेशी–विदेशी यात्रुहरू ओसारपसार गर्दछ र करोडौँ रुपियाँ बराबरको विदेशी मुद्रा आर्जन गरेर देशको अर्थ व्यवस्थामा सघाउ पुर्‍याएको छ । तर विमानको कमीले प्रतिस्पर्धामा अनेक असुविधा र कठिनाइ पनि यसले सहनुपरेको छ । यसबाट सुचारुरूपमा विमान सेवा सञ्चालन गर्नमा निगमलाई अनेक बाधा छन्, तापनि सम्भव भएसम्मका सेवा निगमले उपलब्ध गराइरहको छ ।

विदेशका धेरै मुलुकमा राष्ट्रिय ध्वजावाहकका रूपमा नेपालको छविलाई विश्वमा फैलाउने कार्यमा नेपाल वायुसेवा निगम उत्तिकै क्रियाशील रहेको छ । स्वदेशका ८ हजार मिटरभन्दा अग्ला हिमालहरु सगरमाथा, ल्होत्से, चोयु, ल्होत्से सोर, यालुङखान वेस्ट, कञ्चनजङ्घा साउथ, मकालु, ल्होत्से मिडल, धौलागिरि, मनास्लु, कञ्चनजङ्घा, यालुङखान, अन्नपूर्ण, कञ्चनजङ्घा सेन्टर तथा अन्य थुप्रै हिमाली क्षेत्रमा यसले यात्रुलाई दृश्यावलोकन गराइरहेको छ । विदेशतर्फ भारतका विभिन्न स्थानहरू जस्तै– नयाँ दिल्ली, मुम्बई, बैंगलोर, क्लालालम्पुर, दुबई, दोहा, बैङ्कक, हङकङ, नारिता आदि थुप्रै स्थानमा सेवा पु¥याउँदै आएको छ । निगमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धेरै उडानहरू कटौती गरेको भए तापनि अस्ट्रेलिया, पेरिस, लन्डन, जर्मन, सिंगापुरजस्ता अन्य कटौती भइसकेका स्थानमा पनि अब उडानहरू भर्नु अत्यावश्यक भइसकेको छ ।

नेपाल वायुसेवा निगमले पाँच वर्षअघिदेखि दोहा उडान थालेको र विश्वका ठूला–ठूला वायुसेवा निगमहरूले उडान गर्ने दोहासँग सीधा हवाई सम्पर्क भएकोले युरोप र अमेरिकाका पर्यटकहरू नेपाल आउन सजिलो भएको हुँदा पर्यटकहरूको सङ्ख्यामा उल्लेख्यरूपमा अन्य देश भएर नेपालमा आउने पर्यटकहरुलाई सबभन्दा महँगो भाडादर पर्न आए तापनि पर्यटन आगमनमा वृद्धि हुने आशा पलाउनु पनि स्वाभाविकै हो । खाडी राष्ट्रहरूमा काम गरिरहेका करिब ९ लाख नेपाली मजदुरहरूको आवतजावतमा पनि यो उडानले सुविधा पु¥याएको छ । दोहासँग सीधा हवाई सम्पर्क भइरहेको कारणले गर्दा विदेशी पर्यटकहरूले भारत हँुदै नेपाल आउनुपर्ने बाध्यता पनि हट्न गएको छ । राष्ट्रका लागि यसलाई ठूलो उपलब्धि मान्नुपर्छ ।

नेपालको पर्यटन व्यवसायलाई अग्रगति दिनका लागि नेपाल वायुसेवा निगम, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल पर्यटन बोर्ड, निजीस्तरका हवाई–कम्पनीहरू तथा विभिन्न ट्राभल एजेन्सी, पर्वतारोहण संघ र होटलहरूको महत्वपूर्ण भूमिका रहेको कुरामा कुनै शंका छैन । अन्य विभिन्न सङ्घ–संस्थाहरूको पनि प्रत्यक्ष–अप्रत्यक्षरूपमा सम्बन्ध रहेको छ । तर सम्बन्धित सम्पूर्ण निकायहरूका बीचमा आवश्यक समन्वय र सामञ्जस्य हुन नसक्दा त्यसले पर्यटन व्यवसायलाई असर पारेको छ र अस्वस्थ प्रतिस्पर्धाको कारणले आफ्नो लक्ष्य प्राप्तिका लागि कठिनाइ भइरहेको छ ।

सरकारी नीति निर्धारण गर्नेहरू, चालकदल, हवाई–कम्पनीमा काम गर्ने कर्मचारीहरू, हवाई–कम्पनीका मालिकहरू, सरकारी निगमको व्यवस्थापन पक्षसँग सम्बन्धित व्यक्तिहरू र उड्डयनसँग सम्बन्धित व्यक्तिहरूका दृष्टिकोणहरूमा समन्वय र सामञ्जस्य ल्याउन नसकेसम्म (खानेपानी प्राधिकरण, नेपाल टेलिकम, सडक विभागबीचको असामञ्यजस्यताजस्तै) र राष्ट्रिय हितमा ती सबैलाई प्रयोग गर्न नसकेसम्म आन्तरिक र बाह्य दुवै पर्यटनको एवं पर्यटन व्यवसायको समेत भविष्य उज्ज्वल बनाउन कठिन पर्ने कुरामा कुनै विवाद हुन सक्दैन ।

नेपालको अधिकांश भूभाग पहाड र पर्वतले भरिएको छ । त्यसैले यहाँ उड्डयनको विशेष महत्व छ । नेपालमा हाल ५८ वटा विमानस्थलहरू छन् । तीमध्ये २४ वटा विमानस्थलको पुनर्निर्माण भइरहेको छ । ३४ वटा कच्ची विमानस्थल छन् । ती सबै विमानस्थललाई संरक्षण गरेर समुचित ढंगले उपयोग गर्ने हो भने त्यसले नेपालको पर्यटन क्षेत्रलाई धेरै फाइदा पु¥याउनेछ । आगामी दिनमा नेपालमा विदेशी पर्यटकहरूको सङ्ख्या बढ्ने कुरा निश्चितप्रायः भएकाले विमानस्थलहरूलाई जुनसुकै समयमा पनि प्रयोग गर्न सकिने स्थितिमा राखिरहनु आवश्यक छ ।

नेपालमा पूर्णरूपले व्यवस्थित रहेको अन्तर्राष्ट्रिय विमानस्थल अत्यन्त आवश्यक भइसकेको छ । यस कुरामा कसैमा विवाद नरहे तापनि दोस्रो विमानस्थल हुनुपर्दछ । पोखरा र लुम्बिनीका विमानस्थलहरूलाई जति सक्दो छिटो निर्माण गरी चालू गरिनु पनि आवश्यक भैसकेको छ ।

नेपाल वायुसेवा निगमले पर्यटकहरूको कमी हुने जुनसुकै मुलुकसँग द्विपक्षीय हवाई–सम्झौता गर्नुको सट्टा पर्यटकहरू बढी हुने मुलुकहरूसँग बढी सम्बन्ध विस्तार गर्ने हो भने ४० वटा मुलुकको सट्टा त्योभन्दा कम मुलुकसँग भएको द्विपक्षीय हवाई–सम्झौताले पनि नेपालको पर्यटन–व्यवसायलाई ठूलो टेवा पुग्नेछ । नेपालका बारेमा समाचारहरू सम्प्रेषण गर्दा नवीन पद्धतिअनुरूप आकर्षक रूपबाट विदेशीहरूलाई समाचार–सम्प्रेषण गर्नु आवश्यक छ । विदेशमा रहेका निगमका कार्यालयहरूको व्यवस्थापन र अन्य पक्षमा कुनै कमजोरी रहेका छन् भने तिनलाई सुधार गरेर ती कार्यालयहरूमार्फत निगम र नेपालका विषयमा उचित र जानकारीमूलक समाचारहरू सम्प्रेषण गर्न पनि सकिन्छ ।

सरकारले पर्यटन उद्योगलाई मुलुकमा अन्य उद्योगहरूसरह प्रेरणा, न्यायिक सुरक्षा र सुविधा उपलब्ध गराई पूर्ण मान्यता दिनुपर्छ एवं निजी क्षेत्रसँगको कार्यगत सम्बन्ध सुदृढ बनाउँदै सरकारले मुलुकमा सर्वसाधारण जनता, उद्योग एवं पर्यटन क्षेत्रमा शान्ति सुरक्षाको प्रत्याभूति दिनुपर्छ । नेपाली आकाशमा आन्तरिक र अन्तर्राष्ट्रिय उडानका लागि दिन–प्रतिदिन प्रतिस्पर्धा बढ्दो छ । यो प्रतिस्पर्धामा निगमको उन्नति र अस्तित्वका लागि पनि साधन–स्रोत थप हुनु आवश्यक भएको छ । हाल निगमसँग रहेका विमानहरूले मात्र बजारको माग पूरा गर्न सक्ने अवस्था छैन । मागअनुसारको सिट तथा सेवा उपलब्ध गराउन नसक्दा निगमको बजार अंश घट्तै गएको छ भने सेवाको विस्तारका साथै नियमितता र विश्वसनीयतामा असर पनि पर्न थालेको छ । विमान सङ्ख्याको सीमितता निगमको प्रमुख चुनौती रहेको छ । उमेरका कारण कैयौँ कर्मचारीले अवकाश लिँदै जाँदा ती पदहरू प्रतिस्पर्धाका आधारमा पूर्ति नगरिँदा निकै अप्ठ्यारो स्थिति आउने देखिएकाले यसतर्फ व्यवस्थापन सक्रिय भई नयाँ र उपयुुक्त जनशक्ति सेवामा समाहित गराइरहेको छ ।

निगमले कार्ययोजना तयार गर्दा विमान थप्ने कुरालाई विशेष प्राथमिकतामा राखेको छ । निगमका गन्तव्यहरू खुम्चिँदै गएको र बजारको अंश घट्तै गएको सन्दर्भमा समयमा ध्यान पु¥याउनुपर्दछ । निगम व्यवस्थापनले चरणबद्धरूपमा विमानहरू थप्दै जाने कार्ययोजना बनाई तदनुरूप सक्रिय भएको छ । व्यवस्थापकीय सुधारतर्फ पनि निगम सक्रिय हुँदै आएको छ । नयाँ जनशक्तिलाई आवश्यक तालिम उपलब्ध गराई सक्षम एवं प्रतिस्पर्धी बनाउने कामलाई निरन्तरता दिइएको छ । यी सब कुरामा ध्यान दिँदै तदनुरूपको नीति निर्माण गर्नुका साथै अन्य सम्भावित मुलुकहरूमा बजार प्रवद्र्धन गर्नुपर्छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको पूर्वतर्फको खालि जग्गालाई सानातिना जहाजलाई उडान गर्न सक्ने गरी व्यवस्थित गर्न सकिन्छ भने गुहेश्वरीतिर पुराना जहाजहरुलाई पार्किङ गर्न सकिन्छ । दक्षिणतर्फको हालको एयरपोर्टलाई लम्बाइतर्फ गरी ११ वटा विमान पार्किङ क्षेत्रबाट १५ देखि २० वटासम्म विमान व्यवस्थित तवरले राख्न सकिन्छ । तसर्थ नेपाल प्राधिकरणले यसतर्फ पनि ध्यान पुर्‍याउनु आवश्यक छ । तीनकुनेदेखि जडीबुटीसम्म जतिसक्दो चाँडो अन्डर ग्राउन्ड सडक निर्माण गरी हवाई मार्गलाई लम्ब्याउन सकिन्छ । हाल नेपाल आयल निगमले राखिछोडेको पेट्रोल पम्प भण्डारलाई निकै टाढा तीनकुने क्षेत्रमा सार्न सकिन्छ ।

निगममा विमान चालकहरूको अभाव ठूलो समस्या हो । हाल ३३०–२०० एयरबसका पाइलटहरु सीमित भएको हुँदा सक्दो छिटो साना जहाजका पाइलटलाई तालिममा पठाउन आवश्यक छ । जहाजहरू थप्दै जाने रणनीति बनाउनु, वैदेशिक उडानहरू थप गर्दै जाने स्थिति रहनु, आन्तरिक उडान गर्नुपर्ने स्थलहरू वृद्धि हुँदै जानु, निजी क्षेत्रका वायुसेवाहरूसँग प्रतिस्पर्धामा उत्रनुजस्ता कारणले निगमलाई चुनौती थपिएको बेलामा पाइलट र इन्जिनियरहरुको अभाव हुनु सानो समस्या होइन । निगमका पाइलटहरूलाई निजी कम्पनीहरूले आफूतिर लोभ्याउन आकर्षक तलब दिन थालेकाले हालसालै निगम व्यवस्थापनले पनि विमान चालकको तलबमा पर्याप्त वृद्धि गरेको छ । तर यो समाधान अस्थायी बाटो मात्रै हो । यसबाट पाठ सिकेर अब स्थायी बाटो खोज्नुपर्ने देखिएको छ । त्यसका लागि निगमभित्रकै कर्मचारीहरू वा उनीहरुका छोराछोरीलाई विमान चालक, इन्जिनियर बनाउन निश्चित अवधिसम्म निगममा अनिवार्य काम गर्नुपर्ने गरी निगमले नै ‘लगानी’ गरिदिने व्यवस्था पनि गर्न सकिन्छ । यसो गर्न सकियो भने पाइलट तथा इन्जिनियरहरुको अभावको समस्या बिस्तारै हट्दै जानेछ ।

प्रतिक्रिया दिनुहोस्