मध्य असारमा पर्सामा २५ प्रतिशत रोपाइ



कृष्णउदास खनाल , वीरगन्ज ।

पर्सामा असारको दोश्रो साता सकिनै लाग्दा २५ प्रतिशत मात्रै रोपाइ भएको छ ।बितेका सालहरुमा वर्षाको लागि आकाश ताक्ने किसान यस पटक भने बिगत भन्दा अग्रीम नै पानी परेपनि धानको बिऊ तयार भइनसकेका कारण रोपाइ समयमा नै सम्पन्न गर्न नपाएका हुन् ।

साबिकभन्दा पहिले नै पानी परिदिएर बिउ तयार हुनमा समस्या भएको कृषि ज्ञान केन्द्र पर्साका प्रमुख मुनीलाल प्रसादले बताउनुभयो । बिउ हाल्ने समय भन्दा अलि अगावै पानी परेपछि बिउको बिकासमा असर परेको र अहिले रोपाईको समयमा परेको पानीको सदुपयोग हुन नसकेको उहाँले बताउनुभयो । ‘धान’ पर्साको मुख्य बाली हो । जिल्ला कृषि ज्ञानकेन्द्रको तथ्यांक अनुसार पर्सा जिल्लामा ४६ देखि ४७ हजार हेक्टरसम्म धान खेती हुन्छ ।

समान्यतया यसको लागि जेठमा ब्याड तयार गरेर किसानले बिउ छर्ने गरेका छन् । आसारको पहिलो सातादेखि रोपाई सुरु हुन्छ । जिल्लामा सरकारी योजनाका सिचाईका कार्याक्रमहरु भए पनि ति सबै प्रभावकारी नहुँदा किसानहरु आकाशे पानीको भरमा नै मुख्य रुपमा खेती गर्ने गर्छन् ।कृषी ज्ञान केन्द्र पर्साका बाली विज्ञ अधिकृत सुरेन्द्रप्रसाद चौरसियाका अनुसार पर्सामा अहिले करिब २५ प्रतिशत मात्र रोपाई भएको छ । यसमा जिल्लाको उत्तरी भेगमा रोपाई प्रतिशत बढी भएको र असारको मध्यमा अर्थात २ तीन दिनभित्र दक्षिणी भेगमा पनि रोपाईले गति लिने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्