पुतलीबजारको नीति तथा कार्यक्रम सार्वजनिक, बजेट पास भएन



अमृत अर्याल,  स्याङजा ।

जिल्लाको पुतलीबजार नगरपालिकाले आगामी आर्थिक बर्षको नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेकोे छ । पुतलीबजार नगरपालिकाले स्वरोजगारका लागि प्रेरितगरी उद्योग, ब्यापार ब्यवासाय तथा कृषि र स्वास्थ्यलाई प्राथमिकतामा राखेको छ । समृद्ध पुतलीबजार, सुखी नगरबासीको मूल लक्ष्यलाई पुरा गर्न पूर्वाधार विकास, कृषि, उद्योग, ब्यापार, पर्यटन, सुशासन, स्वास्थ्य, शिक्षा, सामाजिक क्षेत्र लगायतलाई नगरपालिकाकोे नीति तथा कार्यक्रममा समावेश गरेको छ ।

नगरपालिकाद्धारा सदरमुकाममा आयोजित नवौ नगरसभा मार्फत नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगर प्रमुख सीमा क्षत्रीले सुन्तलाको शहर, एक टोल एक नर्सरी, एकघर एक करेशावारी, आधीखोला, अरौदीखोला र बाडखोलाको संगमस्थलमा त्रिवेणीधाम, होमस्टे, उद्योग ब्यवासाय, सहकारी, स्वास्थ्य, शिक्षा, उद्यमशिलता, रोजगारी र उत्पादन वृद्धि, हुन्छ नगरपालिकाको समृद्धि, कर डर होईन नगर विकासको भर हो, पुतलीबजार नगर उज्यालो शहर र स्वच्छ पुतलीबजार कार्यक्रमलाई प्राथमीकतामा राखेको बताउनुभयो ।

नगरसभामा ८७ करोड २२ लाख ७० हजारको बजेट प्रस्तुत भएको छ । उपप्रमुख महेश पुरीबाट नगर सभामा आर्थिक वर्ष २०७८/७९ का लागि ८७ करोड २२ लाख बराबरको बजेट प्रस्तुत भएको हो । चालु खर्च तर्फ ५१ करोड ४३ लाख १२ हजार र पुँजीगत खर्च तर्फ ३७ करोड ७९ लाख ५८ हजार रहेको उहाले जानकारी दिनुभयो ।

बजेटमा नगरपालिकाले कृषि, सहकारी, उद्योग तथा वाणिज्य, पर्यटन, पशु विकास, वडा विकास, राजश्व परिचालन अभिवृद्धि र रोजगारी सिर्जना तथा स्वरोजगार कार्यक्रम अनुरुप बजेट विनियोजन गरेको छ । त्यसैगरी सामाजिक विकास क्षेत्र तर्फ शिक्षा विकास, युवा विकास, खेलकुद विकास, स्वास्थ्य, महिला विकास, गरिवी निवारण कार्यक्रम, भुमि व्यवस्था निति तथा कार्यक्रममा बजेट छुट्याईएको छ ।

सभा मार्फत भौतिक पूर्वाधार विकास क्षेत्र तर्फ घरनक्सा पास, बन तथा वातावरण संरक्षण, विपद् व्यवस्थापन, फोहोर मैला व्यवस्थापन, उर्जा विकास, सुशासन अभिवृद्धि, संस्थागत विकास र न्याय तथा मेलमिलापलाई रकम विनियोजन गरिएको जनाईएको छ । सुन्तलाको शहर, एक टोल एक नर्सरी, एक घर एक करेसाबारी, त्रिवेणी धाम, उद्यमशिलता, रोजगारी र उत्पादन वृद्धि, हुन्छ नगरपालिकाको समृद्धि, पुतलीबजार नगर उज्यालो शहर र स्वच्छ पुतलीबजार कार्यक्रमलाई प्राथमीकतामा राखी बजेट प्रस्तुत भएको छ ।

नगरसभामा पुतलीबजार नगरपालिकाका नगर प्रवक्ता ख्यामनारायण अधिकारीले वन तथा वातारण व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रस्तुत गर्नुभयो । सुशासन समितिका संयोजक ओमबहादुर खड्काले कर्मचारीहरुको व्यवस्थापन गर्न बनेको बिधेयक, लेखा समितिका संयोजक रविविक्रम केसीले लेखा समितिको प्रतिवेदन र भौतिक पूर्वाधार व्यवस्थापन समितिका संयोजक अमृत श्रेष्ठले स्थानीय सडक मापदण्ड बारेकोे प्रतिवेदन प्रस्तुत गर्नुभयो । बजेट बाहेकका प्रतिवेदनलाई नगर सभाले पारित गरेको छ ।

बजेट बिनियोजनमा पक्षपात गरिएको र वडासभाबाट पास भएका योजना पनि समावेश नगरिएको भन्दै नेपाली कांंग्रेस समर्थित सदस्यहरुले कार्यक्रम बहिस्कार भन्दैै नगरसभाबाट बाहिरिएपछी बजेट पास हुन पाएन् । सदस्यहरुको असन्तुष्टिप्रति नगरप्रमुखले वडाध्यक्षहरुलाई छलफलका लागि बोलाउनुभएको छ । नीति तथा कार्यक्रममाथि पुतलीबजार नगरपालिका १ का सदस्य विष्णुकुमार श्रेष्ठ, १० का सदस्य सुरज अधिकारी, ८ का वडा सदस्य इमानसेन ठकुरीले गुनासा एवं सुझाव राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्