पनौती नगरपालिकाको बजेट: नगरबासी स्वास्थ्य बीमा गरिदिने



मोतीराम तिमल्सिना, काभ्रे । 

जिल्लाको पनौती नगरपालिकाले आगामी वर्ष २०७८-७९ का लागि १ अर्ब ६६ करोड रुपियाँको बजेट विनियोजन गरेको छ । नगरपालिकाले नगरभित्र रहेका न्यूनतम ८० रुपियाँ महिनामा विजुलीको रकम बुझाउने परिवारको एक वर्षको रकम तिरिदिने घोषणा गरेको छ । नगरपालिकाभित्र ५५११ घर परिवारले मासिक ८० रुपियाँका दरले रकम बुझाउँदै आएका छन् ।

नगर प्रमुख भीम न्यौपानेका अनुसार बिजुलीको अलावा विपन्न घर परिवारको उपचारका लागि नगरपालिकाले ६ सय घर परिवार र सहकारी तथा अन्य संघ संस्थाको समन्वयमा हजारभन्दा बढी घरपरिवारको स्वास्थ्य बीमा गरिदिने भएको छ । त्यस्तै कोभिडबाट निधन हुने परिवारका सदस्यको हकमा संस्कार खर्च बापत २५ हजार उपलब्ध गराउने निर्णय भएको प्रमुख न्यौपानेले बताउनुभयो ।नगरका मुख्य सडकहरु बनेपा–पनौती सडक, ललितपुर लाकुरी भन्ज्याङ शंखु कटुञ्जे सडक, पनौती खोपासी सडक निर्माणको कार्य दु्रत गतिमा अगाडि बढाउने योजना बजेटामा रहेको छ । खोपासी कामिडाँडा ताल्ढुंगा सडकको लागि १० करोड रकम विनियोजन भएको छ । काभ्रे एकीकृत खानेपानी आयोजना दशैंभित्रै सम्पन्न भई घर घरमा खानेपानी पुग्ने नगर प्रमुख भीम न्यौपानेले बताउनुभयो । बनेपा, पनौती, धुलिखेल नगरपालिकाको अर्काे महत्वपूर्ण योजना स्मार्ट सिटी योजना हो । आगामी वर्षका लागि १ अर्ब बजेट विनियोजन भएको छ । बनेपा पनौती धुलिखेलको पुण्यमाता करिडोर निर्माणको कार्य शुरु भएको छ । पनौती नगरपालिकाले वैकल्पिक मार्गका रुपमा ढलमलेबाट त्रिवेणी घाटको झोलुङ्गे पुलसम्म निर्माण कार्य सम्पन्न भएको छ । अर्काे खण्ड निर्माणको कार्य पनि शुरु भएको छ । पनौती रंगशालाको जग्गा ब्यवस्थापन गरी बजेट विनियोजन भएको छ । सम्पदा सूचीमा समावेश गर्ने कार्य मन्त्रिपरिषद् बैठकमा पेस गर्ने गरी तयारी गरिएको छ । नियमित कार्यहरुको अलावा ठुला ठुला देखि साना साना योजनासम्म सम्पन्न भएका छन् ।

२८ वटा गौरवका आयोजना समावेश भएका छन् । १३ वटाभन्दा धेरै सडक कालोपत्रेका लागि तयारी गरी शुरुआत गर्ने गरी बजेट विनियोजन भएको छ । वडा कार्यालय निर्माण, स्वास्थ्य चौकीहरुको निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगार लगायतका क्षेत्रमा पनि काम भएको छ । वडा नम्वर ९ मा १ करोड ६५ लाखको जग्गा खरिद गरी भवन निर्माणका लागि तयारी अवस्थामा राखिएको छ । कोभिडका कारण नियमित योजना संचालनमा कठिनाई छ । पनौती नगरपालिकामा ५५ प्रतिशत योजना चालु वर्षमा सम्पन्न भईसकेका छन् । ७५ प्रतिशत कार्य सम्पन्न हुने विश्वास लिईएको नगर प्रमुख न्यौपानेले बताउनुभयो । भैंसी प्रर्वद्धन कार्यक्रमको निरन्तरता भएको छ । ८०६ वटा पाडी वितरण गरिसकिएको छ । तरकारी खेती, बाख्रा पालन, गाईंपालन, भैसी पालन, कृषि सामाग्री हस्तान्तरण, वैदेशिक रोजगारबाट फर्किएका युवाहरुलाई रोजगार, भंैसी सुत्केरी भत्ता वितरणलाई निरन्तरता दिइएको छ । असार १० गतेभित्र सबै पालिकाहरुले बजेट प्रस्तुत गर्नु पर्ने संवैधानिक व्यवस्थाअनुसार जिल्लाका अधिकांश पालिकाहरुले बजेटको तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्