वालिङले स्वास्थ्यलाई प्राथमिकता दिँदै बजेट ल्याउने



अमृत अर्याल, स्याङ्जा । 

स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । ‘कृषि, उद्योग, व्यापार, पर्यटन, ऊर्जा, सूचना प्रणाली र पूर्वाधार–स्मार्ट सिटी वालिङ निर्माणका आधार’ भन्ने मुलमन्त्र रहेको वालिङ नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८-७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

आगामी आर्थिक वर्षका लागि बजेटका उद्देश्य तथा प्राथमिकतामा कोरोना संक्रमण रोकथाम, नियन्त्रण, उपचारको प्रभावकारी व्यवस्थापन गर्दै नगरबासीको जीवन रक्षा गर्दै जनजीवनलाई सुरक्षित र सहज बनाउने, स्थानीय स्तरमा उपलब्ध स्रोत साधनको अधिक उपयोग तथा उपलब्धताको उच्चतम परिचालन गरी विकासको गतिलाई तीब्र बनाउने, आर्थिक सामाजिक र भौतिक पूर्वाधार क्षेत्रको विकासमा जोड दिने, विकास, सुशासन र समृद्धि हासिल गर्न संघीय सरकार प्रदेश सरकार र अन्तर पालिकाको साथै छिमेकी स्थानीय तहहरुसँगको सम्बन्ध बलियो बनाउने रहेको छ ।नगरप्रमुख दिलीपप्रताप खाँणले स्वास्थ्य, शिक्षा र पूर्वाधारलगायत सामाजिक तथा समावेशी विकासमार्फत् समृद्ध नगर निर्माण गर्ने, कोभिड–१९ र स्वास्थ्यलाई प्राथमिकतामा राखेर शिक्षा, कृषि, रोजगारीसँगै अन्य क्षेत्रको विकास गरी आत्मनिर्भर बनाउने दिशामा अग्रसर हुने, नगरबाट प्रदान गरिने सेवा प्रवाहको गुणस्तर बढाइ नगर सरकारको अनुभूतिसहित सुशासनको प्रत्याभूति दिन नगरको बजेट केन्द्रित रहने बताउनुभयो ।

नगरपालिकाले आगामी आर्थिक वर्षका लागि अगाडि सारेको स्वास्थ्यसम्बन्धी नीतिमा सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्ने, स्वास्थ्य सेवालाई पारदर्शी र थप व्यवस्थित बनाउने, राष्ट्रिय मापदण्ड बमोजिमका आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क उपलब्ध गराउने, मासिकरुपमा प्रत्येक वडामा चिकित्सकको व्यवस्थासहित नागरिकको स्वास्थ्य परीक्षण गर्ने, नगरपालिकाभित्र विशेषज्ञ सेवासहितको ५० शैयाको अस्पताल जतिसक्दो छिटो निर्माण गर्ने, नगरबासीलाई स्वास्थ्य बीमामा समेट्ने, शिक्षण अस्पतालको पूर्वाधार निर्माण कार्यलाई अगाडि बढाउने, सबै वडा केन्द्र, स्वास्थ्य संस्थामा कम्तिमा एक-एक वटा एम्बुलेन्सको व्यवस्था गर्ने, गह«ौं प्राथमिक अस्पतालबाट मोबाइल हाइवे, टेलि सर्भिस, सर्भिस कार्ड लागू गर्ने, नगरभित्र पाठेघरको क्यान्सरको पहिचान तथा मिर्गौला परीक्षणको दायरा फराकिलो बनाई समयमै रोग पहिचान गरी रुग्णता दर र मृत्युदर कम गर्नेलगायतका रहेका छन् ।नगरका १४ वटै वडाका प्रत्येक एक गाउँलाई प्राविधिक तालिम उपलब्ध गराई एक गाउँ एक उत्पादन कार्यक्रम, एक घर एक रोजगारी सिर्जना गर्ने, एक घर एक टनेल कार्यक्रम, कृषिलाई व्यावसायिकरण गर्ने, हाईटेक नर्सरी तथा पोर्टेबल शीतभण्डार स्थापना, टनेल तथा सरल थोपा सिञ्चाई जस्ता प्रविधिको विस्तार गर्ने, उत्पादनमूलक कार्यक्रममा सबैको सहभागिता र साझेदारीमा कार्यक्रम सञ्चालन गर्ने, पशुपंक्षी र कृषिमा आत्मनिर्भर बनाइने रहेको छ । त्यस्तै उपयुक्त वडा छनोट गरी एक घर एक मौरी घार नीति अवलम्वन गर्ने, व्यवस्थित बधशाला निर्माण गर्ने, फलफूल तथा तरकारी प्रशोधन केन्द्र स्थापना गर्ने, आँधीखोलाको किनार क्षेत्रका बगरमा बेतबाँस, खरबुजा, बयर खेतीलाई प्रोत्साहन गर्ने, बालीनालीमा देखिएको बाँदरको आतंकलाई न्यूनीकरण गर्दै मिसन कागती कार्यक्रम तथा तेजपत्ता र हाडे ओखरको खेतीमा जोड दिनेलगायतका नीति तथा कार्यक्रम कृषि तथा पशुविकास सम्बन्धी नीतिमा समावेश गरिएको छ ।

उद्योग स्थापना, घरेलु तथा साना उद्योगहरुको विकास तथा प्रवद्र्धन, औद्योगिक क्षेत्र विस्तार, सार्वजनिक निजी साझेदारीमा केवलकार, पार्क, सडक, उद्योगहरु स्थापना गर्ने, उद्योगलाई आकर्षित गर्नका लागि कर छुटको ब्यवस्था मिलाउने, सहुलियत दिने, वालिङ मार्ट र होल्डिङ कम्पनी स्थापना गरी थप ब्यवस्थित गरिने नीति छ ।बसपार्क निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने, सडकहरु स्तरोन्नति तथा कालोपत्रे गर्ने, सडकको छेउछाउमा बोट लगाएर हरित शहरको रुपमा विकास गर्ने, टेम्पोलाई व्यवस्थित गर्ने, नयाँ बजार र नयाँबस्ती विकासका लागि योजनाबद्ध विकास गर्ने, बायटारीदेखि छाङ्छाङ्दीसम्म अँँधीखोला करिडोर सम्पन्न गर्ने, वालिङ–ग्रहौंसुर–बाहुनथान केवलकारको सम्भाव्यता अध्ययन गर्ने नीति तथा कार्यक्रम रहेको छ ।

त्यस्तैगरी वालिङ नगरभित्रका १४ वटै वडाका घरमा पिङ्क कलर अनिवार्य गर्ने, सुर्कौदीमा व्यवस्थित शहर विकास गर्ने, एक घर दुई रुख तथा एक घर एक गमला अभियान सञ्चालनलाई प्रभावकारी बनाउने जस्ता नीति तथा कार्यक्रम समावेश गरिएको छ ।सार्वजनिक गरिएको नीति तथा कार्यक्रमलाई असार १० गते बस्ने नगर सभाबाट अनुमोदन भएपछि मात्रै लागू गर्ने नगर प्रमुख खाँणले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्