बजेट कार्यान्वयनमा चुनौती:मन्त्री शर्मा



दीपेन्द्र शर्मा, सुर्खेत । 

कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले बजेट कार्यान्वयनमा चुनौती रहेको स्वीकार गर्नुभएको छ । आव २०७८-७९ को कर्णाली प्रदेश सभामा प्रस्तुत बजेटका वारेमा जानकारी दिन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले कार्यान्वयनमा चुनौती रहेको स्वीकार गर्नु भएको हो ।

नीति तथा कार्यक्रमअनुसार बजेट र बजेटको मर्म अनुरुप कार्यान्वयनमा समस्या हुने गरेको शर्माको भनाइ छ ।‘नीति आउँछ त्यस अनुरुप बजेट आउँछ तर कार्यान्वयनमा चुनौती हुन्छ कसरी लक्ष्य अनुसारको उपलब्धि प्राप्त गर्ने,’ उहाँले भन्नुभयो । कर्णाली प्रदेश सरकारका लागि अहिलेको समस्या भनेकै कार्यान्वयनमा चुनौती हो मन्त्री शर्माको भनाइ छ । कर्णाली जनअपेक्षा अनुसारको बजेट ल्याए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन समस्या देखिने गरेको मन्त्री शर्माले बताउनुभयो ।

बजेट कार्यान्वयनका लागि समयमै सबै कार्यान्वयन कार्यालयमा समयमै अख्तियारी जाने आर्थिकमन्त्री शर्माले जानकारी दिनुभयो । प्रभावकारी बजेट कार्यान्वयनका लागि अकस्मात आईपर्ने विपद्बाहेक छिटो अख्तियारी दिने समयमै बजेट खर्च हुने मन्त्री शर्माले बताउनुभयो । कर्णाली प्रदेश सरकारले कोरोना महामारी नियन्त्रण, कृषि कार्यक्रममार्फत रोजगारी र पूर्वाधारमा बढी जोड दिएको शर्माले बताउनुभयो । प्रत्येक घर, स्वरोजगार’ नीति अनुरुप आगामी आवमा कर्णालीका एकलाख घरपरिवारलाई स्वरोजगार दिने योजना कर्णाली सरकारले बनाएको छ ।सल्यान र रुकुमपश्चिमलाई राजधानी सुर्खेतसँग, सबै गाउँपालिकालाई प्रदेशका प्रमुख शहर र जिल्ला सदरमुकाम जोड्ने गरी बजेट ल्याइएको तथा हुम्ला र डोल्पाका दुई नाका चीनसँग जोड्नेतर्फ पनि सरकार केन्द्रित रहेको शर्माले जानकारी दिनुभयो । मन्त्री शर्माका अनुसार सडक पूर्वाधार तथा यातायात सेवा सुदृढीकरणमा ७ अर्ब २३ करोड, प्रत्येक घर स्वरोजगार बनाउन ब्याज अनुदानमा १ अर्ब, निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमतर्फ ।९६ करोड, खेल पूर्वाधार निर्माणमा ५९ करोड, कोेरोना महामारी तथा नियन्त्रणतर्फ ५३ करोड ५८ लाख पर्यटन पूर्वाधार कार्यक्रममा २३ करोड १५ लाख बजेट विनियोजन गरिएको छ ।

चालू आवको ११ महिनामा २६ प्रतिशत बजेट खर्च हुनुले अवको वजेट थप खर्चमा चुनौती देखिएको छ । ११ महिनामा गर्न नसकेको खर्च एक महिनामा सक्ला भन्ने जिज्ञासा उठ्न थालेको छ । चालू आवको कुल ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार बजेटमा जेठ मसान्तसम्म २६ प्रतिशत मात्रै खर्च भएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालय कर्णालीका प्रमुख मानवहादुर बमले बजेट कार्यान्वयनमा विभिन्न कारणले चुनौती भएकाले खर्च कम भएको बताउनुभयो । उहाँका अनुसार कोभिड महामारी, खर्च नहुने योजनामा बजेट विनियोजन हुनु, तयारीबिनाको आयोजनामा बजेट विनियोजन हुनु, स्थानीय तहवाट कार्यान्वयन हुने योजनाको बाँडफाँड समयमा नहुनु जस्ता कारणले कर्णालीको बजेट खर्चमा कमी भएको हो । कर्णाली प्रदेशका हिमाली जिल्लामा दोस्रो चौमासिकको काम नहुनुले पनि बजेट खर्चमा कमी आएको बमको भनाइ छ । अब बजेट कार्यान्वयन प्रभावकारी बनाउन अनुगमन ,योजना छनोट तथा निगरानीमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्