यो एक–अर्कालाई माया गर्ने समय हो !



प्रेम रावत

धैर्य गर्न के–केको आवश्यकता पर्छ ? एउटा कुरा त हामीभित्र शान्ति हुनुपर्छ । किनभने, शान्तिविना मानिसमा धैर्यता हुन सक्दैन । मानिसमा परीक्षण गर्ने चीज हुनुपर्छ । फलतः मानिस जुनसुकै परिस्थितिमा रहेर पनि उसलाई के थाहा होस् भने, यो परिस्थिति पनि समाप्त हुनेछ । अवस्था चाहे जस्तोसुकै होस् । यो संसारमा कुनै पनि चीज स्थायी हुन सक्दैन । हरेक चीज बदलिन्छ । राम्रो समय छ भने त्यो पनि बित्नेछ । खराब समय छ भने त्यो पनि बित्नेछ । मानिसलाई खराब समयमा के कुरा बोध हुनुपर्छ भने, यो समय पनि जानेछ । बुद्धिमान् त्यो व्यक्ति हो जसलाई राम्रो समयमा पनि यो सधैँ रहँदैन भन्ने कुरा थाहा हुन्छ । त्यसो हो भने राम्रो समय के हो अनि खराब समय के हो त ? इच्छा अनुकूल सबै कुरा हुन्छ भने मानिसले उक्त समयलाई राम्रो मान्छ अनि आफ्नो इच्छा अनुकूल नभएपछि उसले त्यसलाई खराब समय मान्छ । जबसम्म यो श्वास हामीभित्र आइरहन्छ अनि गइरहन्छ तबसम्म त्यो हाम्रो समय राम्रो समय हो ।

यो प्राप्त भएको मानिसको शरीर एकदमै दुर्लभ छ । तथापि, मानिस कहिले यता त कहिले उता दौडनका लागि तयार हुन्छ । किनभने, एउटा रेडियो बाहिर बजिरहन्छ अनि अर्को रेडियो कानका बीचमा बजिरहन्छ अनि रातदिन त्यो रेडियो बजिरहन्छ । कसैले भन्छन्– ‘मैले यसो गर्नुपर्छ, मैले उसो गर्नुपर्छ अनि म आफ्नो नाम कमाउन चाहन्छु ।’ जब एकदिन पृथ्वी नै रहँदैन, चन्द्रमा नै रहँदैन, सूर्य नै रहँदैन । एकदिन केही पनि रहँदैन अनि यो सबै समाप्त हुने नै छ भने हामी नाम कमाउनका पछाडि किन लागेका छौँ ! एउटा चीज के हो भने जुन थियो, छ अनि रहनेछ । मानिस एउटा समयमा थिएन । अहिले छ अनि एउटा यस्तो समय पनि आउनेछ, किनकि मानिस रहनेछैन । एउटा सत्य के हो भने, त्यो समय आउनेछ तर यो कसैलाई थाहा छैन ।यो समयमा एक–अर्कालाई माया गर्नु आवश्यक छ । एउटा मानिसले अर्को मानिसलाई यदि केही दिन सक्दैन भने केवल माया त गर्न सक्छ नि ! एक–आपसमा रिसाउनु वा एक–अर्कालाई तनाव दिनु आवश्यक छैन । ‘माया’ र ‘केवल माया’ नै गर्नु आवश्यक छ । यसलाई मानिसले एक–अर्कामा बाँड्न सक्छ ।

एउटा सानो उदाहरण छ । एकजना सानो केटा थिए । उनका आमाबुबा निकै धनी थिए तर उनी मानसिक रोगी थिए । उनलाई केही नराम्रो हुनेबित्तिकै उनले आफूले आफूलाई नै टोक्ने गर्थे । उनीसँग कुरा गर्न पनि सकिँदैन थियो । उनलाई कलम र बोतल जम्मा गर्ने एकदमै सोख थियो । उनी जहाँ गए पनि कलम र बोतल बटुल्ने, जम्मा गर्ने गर्थे । उनी आफ्नो गोजीमा एकदमै धेरै कलम राख्ने गर्थे । एकदिन उनी आफन्तकहाँ बस्नका लागि गए । तिनको अवस्था देखेपछि बिस्तारै–बिस्तारै घरका मानिसहरूमा उनीप्रति दया जाग्न थाल्यो अनि सबैजनाले उनलाई माया गर्न पनि थाले । तथापि, उनी निकै क्रोधित मुद्रामा रहन्थे । कसैले उनीसँग कलम माग्नेबित्तिकै उनी रिसाइहाल्थे अनि आफूले आफूलाई नै टोक्न थाल्थे । तथापि, उनले मानिसहरूबाट आदर र प्रेम प्राप्त गर्न थालेपछि उनले कलम र बोतल बटुल्ने बानीलाई छोड्दै गए । उनको व्यवहारमा कतिसम्म परिवर्तन भयो भने, यदि उनले कतै बोतल पाए पनि उनी त्यो चीज जसलाई पनि दिनका लागि तयार हुन्थे । एउटा समय त कस्तो थियो भने, उनी कसैलाई आफ्नो चीज दिनका लागि तयार हुँदैन थिए । यदि कसैले बोतललाई यताबाट उता राखिदियो भने पनि उनी चिच्याउने गर्थे । तथापि, उनलाई प्रेम, आदर अनि स्नेह प्राप्त हुँदै गएपछि उनलाई ती कलम र बोतल राखिरहनुपर्ने आवश्यकता नै परेन ।

हामी परिवारमा एक–अर्कालाई किन माया गर्दैनौँ ! एक–अर्कालाई किन कटु वचन बोल्छौँ ! आपसी झगडाका लागि किन तम्सिरहन्छौँ ? एक–अर्काको खराबीलाई किन हेर्छौँ, राम्रोपनलाई किन हेर्दैनौँ । एक–अर्कालाई मायाको आवश्यकता पर्दछ । धैर्यताको आवश्यकता पर्दछ अनि यदि धैर्यता छैन भने संसारमा केही न केही गडबड अवश्य हुन्छ नै । अहिले धैर्यताको समय आएको छ । हिम्मतको समय आएको छ । मानिसमा साँचो हिम्मत हुनुपर्ने समय आएको छ, किनकि यतिखेर अरू कुनै पनि चीज काम लाग्दैनन् ।हिम्मत राख्नुको अर्थ के हो भने, जति पनि मानिस छन् तिनले भ्रम तथा अफवाहलाई नसुनून् । सबैभन्दा महत्त्वपूर्ण कुरा त के हो भने, मानिसले त्यो कुरा सुन्नुपर्छ जसबाट उसको भलाइ होओस् तर मानिसहरू यस कुरालाई बिर्सन्छन् । भ्रमित तुल्याउनेहरूको कमी छैन तर हामीले भ्रमित हुनु आवश्यक छैन ।हिम्मत बढाउनुहोस् । परिस्थिति जस्तो छ त्यस्तै छ तर योभन्दा माथि रहेर अघि बढ्ने आधार त हिम्मत नै हो । अहिलेको मानिसलाई सहानुभूति चाहिन्छ अनि हिम्मत पनि चाहिन्छ, किनभने सधैँ अघि बढ्नुपर्छ, पछाडि होइन । राम्रो समयमा अघि बढ्नुपर्छ । खराब समयमा पनि अघि बढ्ने नै हो अनि अघि बढ्ने शक्ति हामीलाई कहाँबाट प्राप्त हुन्छ ? हामी हिम्मतको शक्ति कहाँबाट पाउँछौँ ? यो कुनै पहाडमाथि छैन ।

यो कुनै रुखमाथि पनि हुने होइन । यो हामीभित्रै छ । तपाईँलाई सहायता गर्ने व्यक्ति, तपाईँका हितैषी पनि तपाईँभित्रै बसेका छन् । यो समयमा प्रकाशको आवश्यकता छ, अँध्यारोको होइन । प्रकाशले तपाईँलाई जुन चीजबाट बच्ने हो त्यस चीजलाई कहाँ छ भनेर देखाइदिन्छ । आफ्नो जीवनलाई सफल पार्नुहोस् । हिम्मत बढाउनुहोस्, अघि बढ्नुहोस्, किनकि यो तपाईँको प्रकृति हो । तपाईँ आउनुभएको छ अनि एकदिन तपाईँले जानुपर्छ । कहिले जानुपर्छ भन्ने कुरा तपाईँलाई थाहा छैन । वास्तवमा तपाईँ जबसम्म जीवित रहनुहुन्छ तबसम्म भित्रबाट जिउनुहोस्, बाहिरबाट होइन । किनभने, तपाईँलाई यी कुराको आवश्यकता पर्दछ । हिम्मतको आवश्यकता पर्दछ ।धेरै मानिसले आफन्तलाई गुमाएका छन् । यो त वास्तवमा नै शोकपूर्ण कुरा हो । तथापि, यति भएर पनि अघि बढ्नु नै छ । तब पनि चिन्ता गर्ने होइन, अघि बढ्नु आवश्यक छ । सबैजनाले हिम्मत बढाउनुहोस्, अघि बढ्नुहोस् अनि तपाईँभित्र भएको शान्तिलाई बाहिर आउन दिनुहोस् । जस्तो– होलीको समयमा शरीरमा पानी परेपछि मानिस पानीले भिज्छ त्यसरी नै त्यो शान्तिलाई आफूभित्र बर्सन दिनुहोस् । अनि, शान्तिको रङ्गमा आफूलाई रङ्गिन दिनुहोस् । जुन तपाईँभित्रको आनन्द छ चाहे जेसुकै भए पनि त्यसलाई नभुल्नुहोस् ।

यो कोरोना भाइरससँग तपाईँको त्यो आनन्दलाई हरण गर्ने कुनै त्यस्तो शक्ति छैन । त्यो आनन्द, त्यो शान्ति जसको म चर्चा गरिरहेको छु, यसले कोरोना भाइरससँग कुनै सम्बन्ध राख्दैन । यो शान्ति, यो आनन्दले केवल तपाईँसँग सम्बन्ध राख्छ । जबसम्म तपाईँको जीवनमा यो श्वास आइरहेको छ अनि गइरहेको हुन्छ तबसम्म यो शान्ति, यो आनन्द तपाईँभित्रै हुन्छ । खालि कुरा यतिमात्र हो– तपाईँ त्यो आनन्दलाई चाहनुहुन्छ कि चाहनुहुन्न !जब यो कोरोना भाइरस आयो, मानिसलाई डर लाग्न थाल्यो । मानिस निकै दुःखी भए । मानिस आफ्नै घरमा पनि राम्ररी बस्न सकिरहेका छैनन् । यो मनले तपाईँलाई घरमा हुँदासमेत दुःख दिइरहेको छ । यसले त कार्यालय (अफिस) मा पनि हैरान पार्ने नै छ । यो मन सबैतिर घुमिरहन्छ । तपाईँलाई दुःख दिइरहन्छ अनि तपाईँ दुःखी भइरहनुहुन्छ । तपाईँको प्रकृति दुःखी हुने होइन । तपाईँको प्रकृति त आनन्द लिने नै हो । यदि तपाईँ आफूले आफूलाई बुझ्नुहुन्छ, आफूले आफूलाई चिन्नुहुन्छ भने तपाईँलाई थाहा हुनुपर्छ । तपाईँको वास्तविक प्रकृति भनेको त्यो शान्तिमा डुब्ने हो । तपाईँ जे–जस्तो हुनुहुन्छ त्यसको अत्यन्तै ठूलो महत्त्व छ । यदि तपाईँ शान्ति, आनन्दमय अवस्थामा हुनुहुन्न भने त्यसको असर अरू सबैमा पर्न जान्छ ।कुरा धनको होइन । कुरा त के मात्र हो भने, के तपाईँ पनि त्यो समय दिनुहुन्छ ! त्यो भित्रको चीजलाई जान्नका लागि जब तपाईँ बाहिरबाट, यो संसारबाटआफूलाई भित्रतिर मोड्नुहुन्छ ! धेरै पटक हामी यस्तो हुने अवसर दिँदैनौँ । किनभने, यो धैर्यताको कुरा हो, जुन एकदमै ठूलो कुरा हो ।

यस्तो परिस्थितिमा त दुःख लाग्नु स्वाभाविक हो । तर, तपाईँभित्र एउटा चीज छ, जुन यी सारा परिस्थितिहरू भएर पनि त्यसले यी कुराहरूसँग सम्बन्ध गाँस्न चाहँदैन । त्यो दुःखी हुन चाहँदैन । त्यो हो– तपाईँको हृदय । त्यो हो वास्तविक ‘तपाईँ’ । त्यो हृदयमा भएको आनन्दलाई चिनेर यस्तो परिस्थितिमा यो समयलाई राम्रो तरिकाले आनन्दसँग बिताउनुहोस् । सबैभन्दा ठूलो कुरा त धैर्य गर्नुहोस् ।

(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलित एवं प्रस्तुतीकरण: डा. प्रेमराज ढुङ्गेल ।)

प्रतिक्रिया दिनुहोस्