असल मानिसलाई मात्र किन नराम्रो भैरहन्छ ?



प्रेममान डंगोल 

हुन पनि हो, यहाँ असल कर्म गर्ने मानिसलाई नै नराम्रो भइरहेको देखिन्छ । यो किन भएको ? यो प्रश्न धेरै मानिसको मनमा आइरहेको हुन सक्छ । मैले त कसैको पनि चित्त दुखाएको छैन । कसैलाई नराम्रो गरेको पनि छैन । तैपनि मलाई नै किन नराम्रो भइरहेको ? म त जहिले पनि धर्म र नीति नियमको मार्गमा हिँडिरहेकै छु, सकेसम्म अरुलाई राम्रो हुने काम गरिरहेकै छु । मैले आफ्नो क्षमताले भ्याएसम्म अरुलाई सहयोग गर्दै आइरहेको छु । तैपनि मलाई नै जहिले पनि नराम्रो किन भइरहेको होला ? भनी धेरैले भन्ने गर्छन् । यस्तो प्रश्न सबैको मनमा आइरहेको हुन्छ ।

आजकल देखिएअनुसार जसले नराम्रो काम गरिरहेको छ, जसले व्यभिचारी, अन्याय, अत्याचार, भ्रष्टाचार, पापाचार गरिरहेको छ, उनीहरुकै धेरै प्रगति भइरहेको, उनीहरुले मात्र जे गरे पनि हुने किसिमले जथाभावी काम गरेर करोडौं, अर्बौं पैसा कमाएर बसेको देख्दा असल र असल काम इमानदारीपूर्वक गरिरहेका मानिसहरुलाई नराम्रो हुँदा यस्ता प्रश्न सबैको मनमा आउनु स्वाभाविक नै हो । यस्ता सबै प्रश्नको जवाफ स्वयं भगवान् श्रीकृष्णले दिनुभएको एउटा प्रसंग यहाँ प्रस्तुत गरेको छु ।एकपटक अर्जुनले भगवान् श्रीकृष्णसँग प्रश्न गर्दै सोध्छन्, ‘हे वसुदेव ! असल सच्चा मानिसलाई मात्र किन नराम्रो भइरहने ?’ यसको जवाफमा भगवान् श्रीकृष्ण एउटा कथा सुनाउनुहुन्छ । त्यो कथामा हरेक मानिसको प्रश्नको जवाफ रहेको हुन्छ । भगवान् श्रीकृष्णले भन्नुभयो कि एउटा नगरमा दुईजना मानिस रहेछन् । एकजना व्यापारी, जुन अत्यन्तै राम्रो र असल रहेछन् । धर्म र नीतिको पालना गरेर बस्ने, भगवान्को भक्ति पनि गरिरहने अनि देवताका मन्दिरहरुमा गई देवताको दर्शन गरिरहने, त्यो व्यापारीले गलत, नराम्रो र नचाहिँदो काम नगर्ने, सकेसम्म अरु दुःखी, गरिब, असहाय मानिसलाई पनि सहयोग गरिरहने गर्दो रहेछ ।त्यहीँ अर्को एकजना मानिस पनि रहेछ दुष्ट प्रवृत्तिका् ।

उसले जहिले पनि अधर्म र अनीतिका काम गरिरहने अनि अरुलाई दुःख दिइरहने गर्दो रहेछ । ऊ दिनदिनै मन्दिरमा गएर देवतालाई चढाइराखेका पैसा पनि चोरिरहने, मन्दिरमा आएका भक्तजनको जुत्ता, चप्पल पनि चोरेर लैजाने अनि झुटा कुरा गर्दै अरुलाई हैरान पार्दै दुःख दिइरहने गर्दो रहेछ । उसले मन्दिरबाट चोरेर ल्याएको पैसा र जुत्ता बेचेर त्यसबाट प्राप्त पैसाले रक्सी खाने गर्दो रहेछ ।एकदिन त्यस नगरमा धेरै ठूलो आँधीसहितको पानी परिरहेको बेलामा त्यहाँको मन्दिरमा कोही पनि रहेनछन् । यही मौका पारेर त्यो नीच मानिसले मन्दिरभित्र गई सबै पैसा चोरेर लियो अनि पुजारीको आँखा छलेर त्यहाँबाट भागेछ । एकछिन्पछि हावाहुरी थामिएपछि त्यो व्यापारी भगवान्को दर्शन गर्ने उद्देश्यले त्यस मन्दिरमा जाँदा उसैलाई चोर दोष लगायो । त्यहाँ आएका सबै मानिसले उसलाई जथाभावी भने । त्यस व्यापारीको धेरै नै अपमान भयो । आफूलाई भएको अपमान सहन गर्दै त्यो व्यापारी मन्दिरबाट बाहिर निस्क्यो । बाहिर आउनेबित्तिकै उसलाई एउटा गाडीले ठक्कर दिन्छ र घाइते हुन्छ । सोही समयमा त्यो दुष्ट चोरले नोटले भरिएको एउटा थैली बाटोमा भेट्छ । धेरै धन देखेर त्यो दुष्ट हर्षित हुँदै पागलझैँ हुन्छ । अनि उसले भन्छ, ‘आज त धेरै मज्जा आयो । पहिला मन्दिरबाट त्यति धेरै पैसा चोरेर ल्याइसकें, अब फेरि यो नोटले भरिएको थैली पाएँ ।’ त्यो दुष्टको कुरा सुनेर व्यापारी आश्चर्यचकित भई अक्क न बक्क भयो ।

त्यो व्यापारी घरमा पुग्नेबित्तिकै आफ्नो घरमा राखिराखेका सबै देवताका तस्वीरहरु निकालेर फालिदिन्छ । अनि भगवान्सँग रिसाएर धर्म, नीति नियम नमानी जीवन बिताउन थाल्छ । धेरै वर्षपछि ती दुवैको मृत्यु हुन्छ । मृत्युपछि व्यापारीले यमराजसँग प्रश्न गर्छ, ‘मैले त जहिले पनि असल कर्म गरिरहेकै हुँ । त्यसको बदलामा मलाई अपमान र दुःख मात्र किन ? अनि त्यो अधर्मी र दुष्टलाई भने नोटले भरिएको थैली ? यस्तो किन भएको ?’व्यापारीको प्रश्नको उत्तरमा यमराजले भने, ‘जुन दिन तिमी दुर्घटनामा परेका थियौ त्यो, दिन तिम्रो जिन्दगीको आखिरी दिन थियो तर तिम्रो असल कर्मको फलले तिम्रो मृत्यु एउटा सानो चोटबाट टरेर गयो । सोही दिनमा यो दुष्टलाई राजयोग परेको थियो तर उसको नराम्रो कर्मले गर्दा उसको राजयोग एउटा सानो थैलीमा सीमित भइदियो ।’

श्रीकृष्णले भन्नुभयो कि भगवान्ले हामीलाई जुनरुपमा दिइरहन्छन् त्यो बुझ्न अत्यन्तै गाह्रो भइरहेको हुन्छ, यदि तिमीले असल कर्म गरिरह्यौ भने अनि नराम्रो कर्म नगरी बसिरह्यौ भने भगवान्ले निश्चितरुपमा तिमीलाई कृपा गरिरहन्छन् ।जीवनमा आइरहने उतारचढाव, दुःख अनि हैरानी भयो भनी हामीले कहिल्यै पनि यो बुझ्न हुँदैन कि भगवान्ले हामीलाई साथ दिएनन् भनेर । हाम्रो जीवनमा पनि अझ बढी राम्रो हुने योग भइरहेको छ कि, अनि हाम्रो कर्मको फलस्वरुप हामीलाई धेरै नराम्रो हुनबाट बचाइराखेको पनि हुन सक्छ भनी यो कथाले हामीलाई ज्ञान दिइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्