नदी उत्खनन तोकिए भन्दा बढी



हेटौंडा, (नेस) । 

आगामी आर्थिक वर्षदेखि नदी उत्खनन खुला गर्ने सरकारी निर्णय सार्वजनिक भएका बेला हेटौंडानजिक मकवानपुरगढी गाउँपालिकामा तोकिए भन्दा बढी नदी उत्खनन गरिएको दाबी गरिएको छ । नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिकाले गाउँपालिकाको वडा नम्बर २ बासपानी बगरमै आयोजित पत्रकार सम्मेलनमा मकवानपुरगढीमा नदी उत्खनन तोकिएभन्दा बढी रहेको र पालिकाका कर्मचारी र जनप्रतिनिधिको मिलेमतोमा राजस्व व्यक्तिको खल्तीमा पु-याइएको आरोप लगाएको छ ।

चैत १६ गतेदेखि ३१ गतेसम्म सामरी खोलाका विभिन्न स्थानबाट उत्खनन गरिएका नदीजन्य पदार्थ जिल्लाबाट प्राप्त अनुमतिअनुसार १ लाख २५ हजार २ सय घनमिटर उत्खनन गर्ने भनिए पनि पालिकाले कर्मचारी र जनप्रतिनिधिको सेटिङमा १ लाख ३५ हजार घनमिटर उत्खनन भएको पाइएको नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिका सभापति राजवीर मोक्तानले बताउनुभयो ।नेपाली कांग्रेस मकवानपुरगढी गाउँपालिकाले सत्यतथ्य जानकारी गराउन पालिका अध्यक्ष विदुर हुमागाईंलाई पत्र हस्तान्तरणपश्चात् खोलाका ११ स्थानबाट १ लाख ३५ हजार १३ घनमिटर उत्खनन गरिएको जानकारी दिएको थियो । तर, ११ वटै स्थानका परिमाण अनुमानित २ लाख घनमिटर देखिने बताइएको छ । आर्थिक अनियमितता गर्ने उद्देश्यले गुपचुप गर्ने प्रयास गरिएको मोक्तानले बताउनुभयो ।

उत्खनन गरेर राखिएका नदीजन्य पदार्थ पुनः नापजाँच हुनुपर्ने माग राख्दा जिल्ला समन्वय समितिका प्राविधिक टोलीले बासपानीनजिक पुलमुनि संकलन गरिएको परिणाम नाप गर्दा १० हजार ३ सय घनमिटर पाइएको तर पालिकाबाट खटिएका कर्मचारी र इन्जिनियरसहित टोलीले उक्त परिमाणको नाप ५ हजार ७ सय १२ भनी गलत विवरण राखेको मोक्तानले दाबी गर्नुभयो ।पालिकाको सर्वदलीय निर्णयबमोजिम जेठ १९ गतेदेखि २८ गतेसम्म भएको तिपघाट प्वाइन्टको ट्रिपरको ट्रिप गणनाअनुसार ८ हजार ३ सय ८ घनमिटर देखिएको तर पालिकाले आफ्नो राजस्व रेकर्डमा ५ हजार ७ सय १२ मात्र राखेको कांग्रेसको दाबी छ ।नेपाली कांग्रेस संघीय प्रतिनिधिसभा क्षेत्र–२ का सभापति यतिराज सापकोटाले पालिकामा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि उक्त कार्यविरुद्ध उभिएको बताउँदै सही विवरण नआए गाउँपालिकाको कार्यालयमा ताला लगाइने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्