स्याउ तस्करीमा संलग्न तीन प्रहरी निलम्बित



विराटनगर, नेस

सुनसरीको सीमा नाकादेखि खुल्लेआम रुपमा चाइनिज स्याउको भारततर्फ तस्करी हुने गरेको पाइएको छ । सुनसरी प्रहरीको संरक्षणमा सुनसरीको सीमा नाकाबाट तेस्रो मुलकदेखि नेपाल आएको स्याउ भारततिर तस्करी हुने गरेको पाइएको हो ।

प्रहरीको संरक्षणमा सुनसरीको सीमा नाकादेखि तस्करी भएको चाइनिज स्याउ भारतीय प्रहरीले गाडीसहित ठूलो परिमाणमा पक्राउ गरेपछि यस्तो रहस्य बाहिर आएको हो । सुनसरी जिल्लाको सीमा नाका हुँदै तस्करी गराएको तीन वटा नेपाली नम्बर प्लेटको गाडीसहित ठूलो परिमाणको चाइनिज स्याउ आइतबार बिहान भारतीय प्रहरीले बरामद गरेको हो । सुनसरीको सीमा नाका हुँदै तीन वटा गाडीमा लगिएको करिब १३ सय कार्टुन चाइनिज स्याउसहित भारतीय प्रहरीले ८ जनालाई पक्राउ गरेको बुझिएको छ । तस्करी भएर गएको स्याउ भन्टाबारी नाकादेखि प्रहरीको संरक्षणमा गएको सुरक्षा स्रोतले जानकारी दिएको छ । भारतीय प्रहरीले बरामद गरेको चाइनिज स्याउ श्याम जैसवालको रहेको बुझिएको छ । जैसवालले सुनसरीको सीमा क्षेत्रका प्रहरीको इन्चार्ज र जिल्लाका माथिल्लो तहका नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखसम्मलाई सेटिङ मिलाएर लाइन चलाएको स्रोतको भनाइ छ । सीमा नाकाहरू तस्करका नाइकेले किनेको कारण ट्रकबाटै तस्करीको स्याउ भारत पुगेको हो ।

नाका हेरेर मासिक १० देखि १५ लाखसम्म रुपियाँसम्म तस्कर समूहले जिल्लाका सुरक्षा निकायका प्रमुखलाई बुझाउने गरेको बताइएको छ । बरामद भएको चाइनिज स्याउ तस्करीको लाइन दिने भान्टाबारी सीमा प्रहरी चौकी र सशस्त्र प्रहरी बीओपी हरिपुर सुनसरीले संरक्षण दिएको थियो । स्याउ तस्करीमा लाइन दिएको आरोपमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले सुनसरीका एक जना सईसहित तीन जना प्रहरीलाई निलम्बन गरी कारबाहीको प्रक्रिया अगाडि बढाएको छ । प्रदेश प्रहरीले सीमा प्रहरी चौकी भान्टाबारीका प्रमुख गंगा थापालाई निलम्बनको लागि केन्द्रीय कार्यालयलाई सिफारिस गरेको छ । यस्तै भान्टाबारी मातहतमा रहेको अस्थायी प्रहरी चौकी कोशी कटानका इन्चार्ज असइ आशनारयण माझी र श्रीपुर प्रहरी चौकीका इन्चार्ज असई टेकबहादुर कार्कीलाई निलम्बन गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका डीआईजी ईश्वरबावु कार्कीले जानकारी दिनुभयो ।

भान्टाबारी प्रहरी चौकीमा थापाको ठाउँमा गणबाट सई दीपक कार्कीलाई पठाएको छ । यस्तै कोशी कटान प्रहरी चौकीमा असई नवीन श्रेष्ठ, श्रीपुर प्रहरी चौकीमा सई वर्षकुमार राईलाई पठाएको छ । तीन वटा प्रहरी चौकीमा पुराना सबै प्रहरी हटाएर गणदेखि नयाँ टोली पठाइएको छ । स्रोतका अनुसार भान्टाबारी बाहेक सुनसरीको श्रीपुर, लाही, साहेवगन्ज, घुस्की, अमडुवा, कप्तानगन्ज नाकादेखि पनि तस्करी हुने गरेको छ । सुनसरी प्रहरी प्रमुख एसपी कमल थापाले सीमा क्षेत्रमा हुने चोरी तस्करी नियन्त्रणमा प्रहरी टोली लागिपरेको बताउनुभयो । तस्करीजन्य गतिविधि रोक्न सीमा क्षेत्रमा कडा निगरानी गरिएको उहाँले बताउनुभयो । स्याउ तस्करी भएको विषयमा ड्युटीमा खटिएको प्रहरीको बदमासी भेटिएकाले केही प्रहरीलाई निलम्बन गरि अनुसन्धान शुरु गरेको थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्