कर्णालीमा नीति तथा कार्यक्रम प्रस्तुत



दीपेन्द्र शर्मा, सुर्खेत । 

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८-७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश सभाको शनिबार बसेको बैठकमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको हो ।

प्रदेश सरकारको नीति तथा कार्यक्रममा कोभिड–१९ को संक्रमण न्यूनीकरण गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ । कर्णाली प्रदेश ‘समृद्ध कर्णाली सुखारी कर्णालीबासी’ को दीर्घकालीन सोच हासिल गर्न प्रथम पञ्च वर्षीय योजनाले लिएका लक्ष्य, उद्देश्य, प्राथमिकता तथा रणनीतिहरू कार्यान्वयन गर्दै गरिबी निवारण र आर्थिक–सामाजिक रुपान्तरणसहितको समानुपातिक समावेशी विकास हासिल गर्ने दिशामा आगामी कार्यक्रम केन्द्रित रहेका छन् । त्यस्तै कर्णाली प्रदेशमा दिगो र समावेशी आर्थिक वृद्धि हासिल गर्दै सामाजिक, आर्थिक न्यायसहितको विकासका लागि स्वास्थ्य, शिक्षा, उत्पादन र रोजगार दिगो विकास र समृद्धिको लागि पूर्वाधार भन्ने उद्देश्य लिँदै आर्थिक वर्ष २०७८÷७९ को कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम तर्जुमा गरिएको छ ।

कोभिडको महामारी न्यूनीकरण, रोकथाम, नियन्त्रण र उपचारको उचित व्यवस्था गर्दै आवश्यक औषधि एवम् औषधिजन्य सामग्रीको सहज आपूर्ति तथा उपलब्धतामार्फत नागरिकको जीवन रक्षालाई उच्च प्राथमिकता दिइएको छ ।कर्णाली प्रदेशका सबै जनतालाई कोभिड–१९ विरूद्धको खोप लगाउने व्यवस्था गरिने भएको छ । कोभिड–१९ नियन्त्रण तथा उपचारका लागि आवश्यक पर्ने क्वारेन्टिन, आइसोलेसन, अक्सिजन प्लान्ट, अक्सिजन सिलिन्डर, कन्सेन्ट्रेटर र भेन्टिलेटरलगायत अत्यावश्यक स्वास्थ्य उपकरण, औषधि तथा औषधिजन्य सामग्रीको सहज आपूर्ति र उपलब्धता सुनिश्चित गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । त्यस्तै प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा पाँच सय शैयाको कोभिड विशेष अस्पताल निर्माण गरी संक्रामक रोग उपचार तथा व्यवस्थापन प्रभावकारी बनाइने तथा जिल्ला अस्पतालहरूमा कम्तीमा एक भेन्टिलेटर र पाँच आईसीयू उपचार कक्षसमेत पचास उपचार शैयाको व्यवस्था यथाशीघ्र गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्