जीडीपी र शेयर पुँजी बराबर जस्तै



काठमाडौं, नेस  । 

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा यो साता औसत दैनिक १६ अर्ब रुपियाँको कारोबार भएको छ । नेप्सेमा कारोबार रकम र परिसूचक वृद्धि हुँदै नयाँ रेकर्ड कायम गर्दै गर्दा नेप्सेले उच्च बिन्दु समाप्त पुगेको हो ।

साताका पाँचै कारोबार दिन खुल्ला भएको शेयर बजारमा नेप्सेले नयाँ–नयाँ रेकर्ड कायम गर्दै गर्दा यो साता नेप्सेमा सूचीकृत कम्पनीहरूको कुल बजार पुँजीकरणले देशको कुल गार्हस्थ्य उत्पादन जीडीपी लाई समेत उछिनेको छ । मंगलबार कुल बजार पुँजीकरण ४१ खर्ब ९ अर्ब ५७ करोड २५ लाख ८८ हजार रुपियाँभन्दा बढी पुगेको थियो । यतिबेला देशको कुल गार्हस्थ्य उत्पादन ४० खर्बको हाराहारीमा रहेको छ । शेयर बजारमा भएको पछिल्लो सामान्य गिरावटपछि साताको अन्तिम कारोबार हुँदासम्म कुल बजार पुँजीकरण र जीडीपीकै हाराहारीमा अवस्थामा रहेका छन् । समग्रमा यो साता शेयर बजारका लगानीकर्ताले करिब सवा खर्ब रुपियाँ कमाएका छन् । शेयर बजारमा कुल २२१ कम्पनीका १७ करोड ५ लाख ९० हजार कित्ता शेयर ८३ अर्ब १३ करोड ९२ लाख ५० हजार रुपियाँमा कारोबार भएको छ । यो कारोबार रकम विगतका तुलनामा सबैभन्दा बढीको कारोबार हो ।

साताको पहिलो दिन आइतबार नेप्से ५० दशमलव १३ अंकले बढेर २९०६ दशमलव ८९ बिन्दुमा पुगेको थियो । यस दिन कुल २१७ कम्पनीको ३ करोड ७४ लाख ५५ हजार कित्ता शेयर १७ अर्ब २७ करोड १७ लाख ८७ हजार रुपियाँमा कारोबार भएको थियो । साताको पहिलो दिन रेकर्ड बनाएको नेप्सेमा सोमबार भने झिनो अंकले ओरालो घटेको थियो । त्यसदिन नेप्से शून्य दशमलव २१ अंकले घटेर २९०६ दशमलव ७० बिन्दुमा सीमित हुन पुग्यो । यस दिन कुल १२१ कम्पनीका ३ करोड ५४ लाख ७४ हजार कित्ता शेयर१५ अर्ब ८१ करोड ८६ लाख ५९ हजार रुपियाँमा कारोबार भएको थियो ।त्यस्तै मंगलबार नेप्से परिसूचक ५३ दशमलव ४४ अंकले वृद्धि भई २९६० दशमलव १४ बिन्दुमा पुग्यो । यो हालसम्मकै नेप्सेको उच्च बिन्दु रहेको छ । कुल २१८ कम्पनीको ३ करोड ५७ लाख कित्ता शेयर १६ अर्ब ९५ करोड १२ लाख ९९ हजार रुपियाँमा कारोबार भयो साताको चौथो दिन नेप्से तीन हजार बिन्दुमा पुगेर अन्त्यमा १३ दशमलव ५६ अंकले घट्न गई २९४६ दशमलव ५८ बिन्दुमा झ-यो । कुल २२१ कम्पनीका ३ करोड १३ लाख ५४ हजार कित्ता शेयर १६ अर्ब ९९ करोड ७० लाख ९२ हजार रुपियाँमा कारोबार भयो ।

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक १ दशमलव ८० अंकले घटेर २९४४ दशमलव ७८ बिन्दुमा ओर्लेको थियो । कुल २२० कम्पनीका ३ करोड ६ लाख ६ हजार कित्ता शेयर १६ अर्ब १० करोड चार लाख १२ हजार रुपियाँमा झरेको थियो । नेप्सेमा सूचीकृत कम्पनीहरूको बजार पुँजीकरणका आधारमा नेपाल दूरसञ्चार कम्पनी नै पहिलो नम्बरमा रहेको छ । सो कम्पनीको कुल बजार पुँजीकरण १ खर्ब ९२ अर्ब १५ करोड रहेको छ । त्यस्तै नेपाल पुनर्बीमा कम्पनीको १ खर्ब ८८ अर्ब ८० करोड, नबिल बैंकको १ खर्ब ७५ अर्ब ७८ करोड १२ लाख र नेपाल पूर्वाधार बैंकको १ खर्ब ८ अर्ब २० करोड बराबर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्