कोभिडका कारण रोजगारी गुमाउनेमा अधिकांश महिला



नेपाल समाचारपत्र, काठमाडौं । 

नेपाल उद्योग परिसंघअन्तर्गत रहेको सीएनआई सीईओ फोरमले समाजका विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिकामा रहनु भएका महिला नेतृहरूसँग ‘कोभिड–१९ को दोस्रो लहरविरुद्ध लड्न नेतृत्वको भूमिका’ विषयमा भर्चुअल अन्तरक्रिया सम्पन्न गरेको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री चन्दा चौधरी, महिलाविरुद्ध सबै स्वरूपका विभेद हटाउनेसम्बन्धी राष्ट्रसंघीय समितिकी सदस्य बन्दना राणा र युनाइटेड इन्स्योरेन्स कम्पनीकी प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल वक्ताको रूपमा सहभागी हुनु भयो । सीएनआई सीईओ फोरमका कन्भेनर एवम् नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले गर्नुभयो ।कार्यक्रममा मन्त्री चौधरीले महिला, बालबालिका, ज्येष्ठ नागरिक एवं अपांगता भएका व्यक्तिहरू थप जोखिममा परेको बताउनुभयो । उहाँले कोभिडको महामारी बढ्दै जाँदा शारीरिक र मानसिक दुवै किसिमका दबाबमा महिला एवम् बालबालिका पर्न थालेको उल्लेख गर्नुभयो ।मन्त्री चौधरीले कोभिडबाट व्यापार व्यवसाय प्रभावित बनेको भन्दै महिलालाई व्यवसायमा फर्काउन सीपमूलक कार्यक्रम ल्याउनुका साथै व्यवसाय गर्न पँुजी र बजारको खोजीमा पनि सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो । ‘महिलालाई व्यवसायमा जोड्न सीपयुक्त तालिमका साथै व्यवसाय शुरु गर्न पुँजी र उत्पादित वस्तुको बजारसम्मको पहुँचका लागि सहयोग आवश्यक छ,’ भन्नुभयो ।

यस्तै महिलाविरुद्ध सबै स्वरूपका विभेद हटाउनेसम्बन्धी राष्ट्रसंघीय समितिकी सदस्य राणाले कोभिडका कारण रोजगारीका अवसर गुमाउनेमध्ये ७० प्रतिशत महिला नै रहेको भन्दै अनौपचारिक क्षेत्रमा काम गर्नेको अवस्था अझै भयावह रहेको बताउनुभयो । उहाँले कोभिडसँग जुध्न अग्रपंक्तिमा खट्ने जनशक्तिमा महिलाको संख्या ठूलो भए पनि नेतृत्वदायी भूमिकामा उनीहरूको प्रतिनिधित्व कमजोर रहेको उल्लेख गर्नुभयो । ‘अहिलेको संकटमा सबैको ध्यान नागरिकको जीवन बचाउनेतर्फ केन्द्रित हुनुपर्छ,’ राणाले भन्नुभयो– ‘नागरिकलाई परेको संकट, भविष्यमा आइपर्ने समस्या र त्यससँग जुधेर अघि बढ्न पर्याप्त तयारी नेतृत्व तहबाट हुनुपर्छ । अहिले भएका कामको अभिलेख राम्रोसँग व्यवस्थापन गरेर भविष्यमा थप काम गर्नुपर्छ ।’यसैगरी युनाइटेड इन्स्योरेन्सकी प्रमुख कार्यक्रारी अधिकृत पौडेलले कोभिडपछि काम गर्ने तौरतरिका र चेतनामा फरकपन देखिएको बताउनुभयो । उहाँले कोभिडका कारण मनोवैज्ञानिक दबाबमा परेका कर्मचारीको मनोबल बढाउन परामर्श दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । ‘हामीले संस्थागत उत्तरदायित्वमा ध्यान दिनुपर्छ, अहिलेको बेला सबैले एकजुट भएर आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ,’ उहाँले भन्नुभयो–‘यो महामारी हो, कहिले सकिन्छ भन्न सकिँदैन, जहिलेसम्म यो रहन्छ हामीले संस्थागत उत्तरदायित्व बहन गर्दै व्यवसाय सञ्चालन गर्नुपर्छ ।’

कार्यक्रममा परिसंघका उपाध्यक्ष एवम् सीएनआई सीईओ फोरमका को–अर्डिनेटिङ निर्वाण चौधरीले अहिले सबैले ठूलो संकटविरुद्ध संघर्ष गरिरहेको बताउनुभयो । कोभिडको दोस्रो लहरले सबैलाई प्रभावित बनाएको भन्दै उहाँले स्वास्थ्य सुरक्षा नै मुख्य चुनौती रहेको बताउनुभयो । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले कोभिडको संकटबाट जोगिएर दैनिक कार्य सञ्चालन गर्नुपर्ने र सबै क्षेत्रले सहकार्य गर्नुपर्ने बताउनुभयो । अहिलेको संकटमा सरकार, निजी क्षेत्र र गैरसरकारी क्षेत्रबीचको सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्