बन्चरेडाँडा ल्यान्डफिल साइट निर्माण अन्तिम चरणमा



मधुसूदन रायमाझी, काठमाडौं । 

काठमाडौं उपत्यकाको दीर्घकालीन फोहोर व्यवस्थापन गर्ने मुख्य उदेश्यसहित धादिङ र नुवाकोटको सीमाना बन्चरेडाँडामा निर्माणाधीन स्यानिटरी ल्यान्डफिल साइट निर्माणको काम लकडाउनको अवधिमा पनि धमाधम भइरहेको छ । ल्यान्डफिल साइटको पहिलो प्याकेजअन्तर्गत सेल वानको ९९ सय प्रतिशत काम सम्पन्न भएको छ ।आधुनिक र नयाँ प्रविधि प्रयोग गरेर निर्माण भइरहेको ल्यान्डफिल साइटमा निकट भविष्यमै फोहोर व्यवस्थापन हुने भएको छ । नेपालकै महत्वपूर्ण नमुना आयोजनाको रूपमा लिइएको ल्यान्डफिल साइट निर्माणलाई छिटोभन्दा छिटो सञ्चालनमा ल्याउने गरी काम भइरहेको शहरी विकास तथा भवन निर्माण विभागले बताएको छ । उपत्यकाभरको फोहोर ५० वर्षसम्म विसर्जन गर्न मिल्ने गरी बन्चरेडाँँडामा ल्यान्डफिल साइट निर्माण भइरहेको छ ।

शहरी विकास तथा भवन निर्माण विभागका उप–महानिर्देशक कुमार घिमिरेले लकडाउनकोे अवधिमा पनि स्वास्थ्य मापदण्ड पालना गर्दै बन्चरेडाँडा ल्यान्डफिल साइट निर्माणको काम तीव्र गतिमा अगाडि बढिरहेको बताउनुभयो । उहाँले पहिलो सेलको काम अन्तिम चरणमा पुगेको बताउँदै लिचड (दूषित पदार्थ) जम्मा हुने ट्याङ्की निर्माणको काम पनि केही समयभित्र नै सम्पन्न हुने बताउनुभयो । घिमिरेले भन्नुभयो– ‘सेल वान करिब सम्पन्न भएको छ, सेल वानबाट निस्कने लिचड जम्मा हुने पोखरी पनि छिटो सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएका छौं ।’उपत्यकाभित्रको फोहोर व्यवस्थापन चुनौतीपूर्ण बनिरहेका बेला बन्चरेडाँडामा निर्माण भइरहेको आधुनिक ल्यान्डफिल साइट निर्माणले उपत्यवासीमा खुसी छाएको छ । काठमाडौंबाट करिब २ घण्टाको दुरीमा रहेको ल्यान्डफिल साइट हाल फोहोर विर्सजन गरिँदै आएको सिसडोल नजिकै निर्माण भइरहेको छ । हाल निर्माणाधीन ल्यान्डफिल साइटबाट स्थानीयवासीमा दुर्गन्ध फैलिन नदिन अत्याधुनिक प्रविधिको प्रयोग गरिएको छ । ल्यान्डफिल साइटबाट निस्कने फोहोरजन्य पदार्थलाई शुद्धीकरण गरिने विधि प्रयोग गर्दै प्राकृतिकरूपमा वहने खोलालाई प्रदूषण हुन नदिने गरी निर्माण भइरहेको छ ।

विभाग र निर्माण व्यवसायी लुम्बिनी÷कोसी एन्ड न्यौपाने जेभीबीच २०७६ वैशाखमा करिब ३९ करोडमा पहिलो प्याकेज निर्माण गर्ने सम्झौता भएको थियो । त्यसैगरी, ५१ करोडमा १५ मिटर अग्लो बाँध निर्माण गर्ने जिम्मेवारी पाएको कालिका कन्ट्रक्सनले पनि कामलाई तीव्रता दिएको छ । विभागले आयोजना सम्पन्न गर्नका लागि १ अर्बभन्दा बढी खर्च लाग्ने अनुमान गरेको छ ।निर्माणाधीन केन्द्रको क्षमता झन्डै ५० लाख घनमिटर रहेको छ । अहिले दैनिक विसर्जन हुन सक्ने फोहोर कुहिने, नकुहिने, पुनः प्रयोग हुनेसमेत एकै ठाउँमा विर्सजन गर्दा २० वर्ष र छुट्याएर पुनः प्रयोगमा नआउने फोहोर मात्रै विसर्जन गर्दा ५० वर्षसम्मका लागि फोहोर व्यवस्थापन हुन सक्ने क्षमता रहेको विभागले बताएको छ ।बन्चरेडाँडामा सरकारले अधिग्रहण गरेको करिब १७ सय रोपनीमध्ये १०४ रोपनी क्षेत्रफलमा रहेको बन्चरेडाँडाको आधार क्षेत्रमा पूर्वाधार निर्माणको काम भइरहेको छ । बन्चरेडाँडामा व्यवस्थित रुपमा फोहोर विर्सजनकै लागि कोल्पु खोलालाई डाइभर्ट गरिएको छ । फोहोर व्यवस्थापन गर्न बन्चरेडाँडामा २० हजार लिटर क्षमताका दूषित तरल पदार्थ जम्मा हुने दुईवटा ट्याङ्कीसमेत धमाधम निर्माण भइरहेको छ ।विभागका सिनियर डिभिजनल इन्जिनियर मनोज नकर्मीले आयोजना गुणस्तरीय बनाउनका लागि नियमितरूपमा सुपरभिजनको काम भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘पूर्वाधार निर्माणको काम धमाधम भइरहेको छ, सेल वानअन्तर्गतको ट्याङ्की निर्माण भएपछि सञ्चालन गर्न मिल्छ ।’

२०७५ मंसिर १७ गते मन्त्रिपरिषद्को बैठकले शहरी विकास मन्त्रालयलाई ल्यान्डफिल साइट निर्माण गर्ने जिम्मेवारी दिएको थियो । उक्त निर्णयसँगै शहरी विकास तथा भवन निर्माण विभागले बन्चरेडाँडाको अध्ययन, अनुसन्धान र डिजाइन सम्पन्न गरेर दुई वर्षअघि काम अगाडि बढाएको थियो ।विभागका इन्जिनियर पविन धितालले निर्माणको क्रममा आइपर्ने प्राविधिक समस्याको विभाग, निर्माण व्यवसायी र परामर्शताबीच समन्वय गरेर समाधान गरिँदै आएको बताउनुभयो ।बन्चरेडाँडामा निर्माणाधीन फोहोर विसर्जन केन्द्र नेपालकै नमुना आयोजना हो । यसबाट देशभरका स्थानीय तहले समेत नयाँ प्रविधि अपनाएर ल्यान्डफिल साइट निर्माण गर्न सक्ने विभागले बताएको छ ।तेह्र वर्षअघिबाट नुवाकोटको सिसडोलमा काठमाडौं उपत्यकाका १८ स्थानीय तहको फोहर विसर्जन हुँदै आएको छ । उपत्यकाबाट दैनिक करिब १ हजार मेट्रिक टन फोहोर निस्कने गरेको काठमाडौं महानगरपालिका वातावरण विभागका प्रमुख हरि श्रेष्ठ बताउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्